कोभिड-१९ महामारी अगाडि विदाका दिननजिकका गन्तव्यमा पुगेर रमाउने प्रचलन झांगिएको थियो। महामारीले मानिसलाई घरभित्रै कैद गरिदियो। कोभिड-१९ विरुद्ध खोप पनि धमाधम स्वीकृत हुने चरणमा छन्। ती खोप विश्‍वव्यापी रूपमा उपलब्ध भएपछि एकपटक फेरि पर्यटन उद्योगले गति समात्ने अपेक्षा गर्न सकिन्छ। यसपटक पर्यटनको शुरुवात टाढाको नभई आन्तरिक गन्तव्यबाटै हुने अपेक्षा गर्न सकिन्छ। त्यसको उदाहरण कोरोना भाइरसबाट बच्दै अहिले पनि आन्तरिक पर्यटकीय गन्तव्यमा पुगिरहेका नेपाली हुन्, जो आ-आफ्ना सवारी साधनमा डाँडापाखा, झरना, नदी किनारलगायत गन्तव्यमा पुगेर रमाइरहेका छन्।

हामी नेपाल भ्रमण वर्ष-२०२० लाई स्वागत गर्दै थियौँ, आँगनमा भने कोभिड महामारी झुल्कियो। नेपाल भ्रमण वर्षलाई लक्षित गरेर देशभर असाध्यै धेरै लगानी भएको थियो, सरकार र निजीक्षेत्रको। आम नेपाली उत्साहित थिए। नेपाल भ्रमण वर्षलाई कुनै पनि कसर नछाडी सफल बनाउनुपर्छ भन्‍नेमा सबैको अर्जुनदृष्‍टि देखिन्थ्यो। पर्यटन व्यवसायी त उत्साहित हुने नै भए, त्यसबाहेकका क्षेत्रमा पनि आशाका किरण झुल्किएका थिए। पर्यटन क्षेत्रसँग गाँसिएका व्यवसायीहरू आफ्नो क्षमताले भ्याएसम्म आ-आफ्ना ‘प्रोडक्ट’ सिंगार्न लागिपरेका थिए।

निजीक्षेत्र मात्र होइन, संघीय, प्रदेश र स्थानीय सरकार सबै जुर्मुराएका थिए। यद्यपि, कोभिड महामारीले मानिसलाई आँगनमै निस्किन दिएन, विश्‍वभर देशाटन ठप्प बन्यो। त्यसअघि नै देशाटनमा निस्किएका विदेशी पर्यटक कोही अनेक हण्डर खाँदै घर पुगे, कोही जहाँ पुगेका थिए, महिनौँ त्यहीं अड्किए।

कोभिड-१९ विरुद्ध खोप सर्वसुलभ भइसक्दा पनि तत्काल बाह्य पर्यटनले लय समात्ने अपेक्षा कमजोर छ। किनकि, महिनौँ घरभित्रै कैद बसेका मानिसको क्रयशक्ति घटेको छ। र, तत्काल विश्‍व भ्रमणमा निस्किने खर्च जुट्ने सम्भावना छैन। धेरैले रोजगारी गुमाएका छन्, कोभिडबाट परिवारजन गुमाएकाहरू कुनै गन्तव्यमा पुगेर रमाउने मनस्थितिमा छैनन्।

त्यसैले भनिएको हो, ‘पोस्ट कोभिड टुरिजम’को मुख्य आधार आन्तरिक पर्यटक हुन् भनेर। अब फेरि नेपाल भ्रमण वर्षको तयारीमा जुट्नु आवश्यक छ। तर, त्यतिन्जेल आन्तरिक पर्यटन नै हाम्रा आधार बन्‍ने छन्। यो बाध्यता हो र यथार्थ पनि।

यसअघि नै हामीले गरिसकेको तयारीलाई आधार बनाएर अगाडि बढ्नु हाम्रा लागि ठूलो अवसर हो। जिन्दगी वास्तवमा केही रहेनछ, त्यसैले रमाएर बाँच्नुपर्छ भन्‍ने मनोविज्ञान विकास भएको छ। त्यो मनोविज्ञानलाई ‘क्यास’ गरेर अगाडि बढ्न सक्नुपर्छ। विगतका विपदपछि पनि जीवनले गति पक्रेको थियो, फेरि पनि जीवनले लय समात्नेछ, फक्रनेछ, फुल्नेछ र फल्नेछ। भनिन्छ, हरेक विरहपछि अवसरको ढोका खुल्छ। ‘पोस्ट कोभिड टुरिजम’लाई पनि आनन्दमय भविष्‍यको प्रस्थान विन्दुका रूपमा अगाडि बढाउनुपर्छ।

कोभिडबाट अर्थतन्त्रलाई चियाउँदा एउटा शृंखला देखापर्छ। ठूला शहरभन्दा साना शहर, साना शहरभन्दा साना बजार र साना बजारभन्दा ग्रामीण भेग महामारीबाट कम प्रभावित बने। नेपाली अर्थतन्त्रमा कोभिडको असर बर्बादीको तहमा देखिएको छैन। राष्‍ट्रिय अर्थतन्त्रमा एक तहको असर देखिएला। तर, स्थानीय अर्थतन्त्रमा त्यसको प्रभाव कमै आइपुग्ने अपेक्षा गर्न सकिन्छ। नेपालीको स्वभाव नै हो- क्षमता भए पनि नभए पनि रहर गर्ने ! त्यही रहरले कोरोना कालको प्रभाव कम परेका भेगबाट देशाटन बौरिने प्रचुर सम्भावना छ।

किनकि, शहरबाट गाउँ फर्किएका मानिसले आफ्नो कृषिकर्मलाई फेरि एकपटक ब्युँताउने अवसर पाए। संसार ठप्प रह्यो, वायु र ध्वनि प्रदूषण कम भयो र मौसमले पनि साथ दियो। नगदे बालीको उत्पादनमा अत्यन्तै वृद्धि भयो, यस वर्ष। अलैंची, अम्लिसो, अदुवाजस्ता पहाडका आयस्रोत बनेका नगदे बाली राम्ररी फस्टाए। शहरसम्म सहजै पुर्‍याउन सकिने उत्तीसजस्ता काष्‍ठजन्य बस्तुले पनि राम्रो आम्दानी दिएका छन्।

पाँचथर सदरमुकाम फिदिम

मेची पहाडका इलाम, पाँचथर र ताप्लेजुङ मात्र होइन, कोशी पहाडका तेह्रथुम, संखुवासभाजस्ता जिल्लामा नगदे बालीले यस वर्ष ग्रामीण अर्थतन्त्रलाई महामारीको प्रभाव पर्न दिएनन्। वैशाख, जेठमा राम्रो वर्षात् भयो र अलैंची डेढा फल्यो। शहरबाट फर्केका मानिस अलैंचीको स्याहारमा जुटे। किनकि, अलैंची झाडीमा पस्न मास्क र स्यानिटाइजर आवश्यक थिएनन्।

त्यतिन्जेल विदेशबाट फर्केका मानिस या त शहरमै या गाउँमा पनि आइसोलेसन सेन्टरहरूमा अड्किएका थिए। जो घर पुगिसकेका थिए, नगदे बालीमा मन लगाएर काम गरे। र, उनीहरूलाई प्रकृति अर्थात् मौसमले साथ दियो।

कतिपय तरकारी खेतीमा केन्द्रित भए। गाउँ-गाउँमा सडक पूर्वाधार पुगिसकेकाले तरकारी खेती पनि नगदे बाली बनेको छ। सडक नपुगुन्जेलसम्म गाउँको उत्पादन घरपालुवा चौपायालाई खुवाएर सक्नुपथ्र्यो। सडक पुगेपछि बजारसम्म सहज पहुँच विस्तार भएको छ। र, तरकारी, फलफूल पनि बजारमा आउन थालेका छन्।

कोभिड कालमा कायम रहेको त्यो क्रयशक्ति आगामी दिनमा आन्तरिक पर्यटनमा उपयोग हुन सक्ने प्रचुरता देखिन्छ। माथि नै भनियो- राष्‍ट्रिय अर्थतन्त्र तहसनहस बन्दा प्रदेशस्तरको अर्थतन्त्रमा त्यसको कम प्रभाव देखियो। र, ग्रामीण अर्थतन्त्रमा त पटक्कै असर परेन।

विगतमा पाँचदेखि १० किलो चामल खरिद गर्ने मानिसले यसपटक बोराका बोरा किनिरहेका छन्। यसलाई दुई पक्षबाट विश्लेषण गर्न सकिन्छ। पहिलो- भविष्‍यमा कोभिड प्रभाव अझ बढ्न सक्ने त्रासका कारण मानिसले सञ्‍चय बढाएका छन्। र, दोस्रो- ग्रामीण भेगमा क्रयशक्ति बढेको छ र गरिब परिवारले पनि बोराका बोरा चामल किन्‍न सक्ने हैसियत बनाएका छन्।

भारतीय र ब्रिटिस लाहुरे, खाडी मुलुकमा गएका तथा राम्रो आम्दानी हुन सक्ने अमेरिका, अस्ट्रेलिया, जापान र युरोपेली मुलुकमा रहेका युवाले पठाउने रेमिट्यान्स त्यसै पनि ग्रामीण भेगमा नियमित आम्दानीका स्रोत हुन्। त्यसबाहेक पनि नगदे बालीमा यस वर्ष देखिएको आकर्षणले क्रयशक्ति बढाउनु स्वाभाविकै हो। काठमाडौंबाट जति जति पूर्वतिर लाग्यो, त्यति नै भारततिर सस्तो रोजगारी गर्न जाने मानिस घट्दै जान्छन्। सुदूर पूर्वी भेगमा लगभग शून्यप्राय: नै छन्। यताबाट जति पनि वैदेशिक रोजगारीमा निस्केका छन्, अधिकांश भारतबाहेककै मुलुकमा पुगेका छन्। भारत गएकाहरू पनि गोर्खा सेनामा आबद्ध छन्, जहाँबाट राम्रै आम्दानी प्राप्त हुन्छ।

दुई-तीन वर्षयता घुमफिर संस्कृति हुर्किएको छ। पूर्वका बासिन्दा पोखरा, मनाङ, मुस्ताङ, रारा तालजस्ता गन्तव्यमा पुग्ने, पश्चिमका बासिन्दा पाथीभरा देवीको दर्शनमा आउने ट्रेन्ड चलेको छ। अहिले पनि हेटौंडा, चितवन र पोखराका बासिन्दा पाथीभरा दर्शनमा आउन थालिसकेका छन्। कोरोनाअघि दैनिक १५ हजारसम्म धार्मिक पर्यटक पाथीभरा पुग्थे। यसबीचमा त्यो लहर बन्द भए पनि अब विस्तारै फर्किने क्रममा छ। इलाम, पाँचथर र ताप्लेजुङका होटेल व्यवसायी त्यसैमा आश्रित थियौँ। दशैंतिहार र चैते दशैंका बेला त तीनै जिल्लाका होटेल व्यवसायीलाई भ्याइनभ्याइ हुन्थ्यो।

पर्यटन अब एडभेन्चरमा सीमित रहेन, यो त संस्कृति नै बन्‍ने दिशामा अग्रसर छ। लामो बिदा मिल्यो कि घुमफिरमा निस्किहाल्ने संस्कृति विकास भएको छ। अब पाथीभरा दर्शनमा झापा, मोरङ, सुनसरीका मानिस मात्र आउँछन् भन्‍ने कुरा इतिहास भइसक्यो। देशभरका मानिस पाथीभरासम्म पुग्न थालेका छन्। शनिबारको एकदिने बिदामा पनि घरबाट निस्केर नजिकका गन्तव्यमा मानिस पुग्न थालेका छन्।

पाँचथरमा लकडाउनकै बीच मृदुंगा झरना पहिचान भयो। सदरमुकाम फिदिमनजिकको सुभाङ र पञ्‍चमीबीचमा अवस्थित झरनामा पुगेर रमाउन थालेका छन्, आसपासका बासिन्दा। शनिबार त्यो झरनामा मानिसको यति भीड बढ्यो कि प्रशासनले कोरोना फैलिने जोखिमका कारण सूचना निकालेरै बन्द गर्नुपर्‍यो, त्यहाँसम्म जानलाई। लकडाउनको उकुसमुकुसबीच मानिसले घुम्ने ठाउँ खोजे। फिदिम नगरपालिका-८ साधुटारस्थित पोखरीमा मानिसको भीड बढ्यो। मानिसले त्यसलाई ‘मिनी पोखरा’ नाम दिए। पोखरीमा कञ्‍चनजंघा हिमालले डुबुल्की लगाइरहेझैँ दृष्‍य देखिन्छ, फेवातालमा माछापुछ्रेले पौडी खेलेजस्तै।

तमोर किनारको माझीटार पुगेर माछाका परिकारमा रमाउने, पौवाभञ्‍ज्याङ पुगेर तोङ्बा र सुकुटीको स्वाद लिनेजस्ता ट्रेन्ड यसबीचमा देखिएका छन्। ताप्लेजुङ र इलाममा पनि त्यसरी नै आन्तरिक पर्यटनको विकास हुँदैछ।

सातामा एकपटक ‘आउटिङ’ जाने, वर्षमा एकपटक जिल्लाबाहिरका गन्तव्यमा पुग्ने संस्कृति यसअघि नै विकास भइसकेको थियो। कोरोनाकालमा मानिसले महिनौँ कैदी जीवन बिताएको छ। उकुसमुकुस भएका मानिस स्वास्थ्य सुरक्षाको ग्यारेन्टी भएका दिन यसबीचमा बचाएर राखेको थोरै रकम पनि घुमफिरमा खर्चिन लालायित छन्। सरकारले कार्यक्रम नै ल्याएर घुमफिर पर्यटनलाई मलजल गर्नु आवश्यक छ, जसबाट अर्थतन्त्र पनि चलायमान हुनेछ।

कुनै होटेलमा पुगेको पर्यटकले कोठा ‘बुक’ गर्छ। होटेल म्यानेजरले एडभान्स रकम माग्छ। पाहुनाबाट लिएको एडभान्सबाट होटेल कर्मचारीले मासु, तरकारी या खाद्यान्‍न पसलमा उधारो तिर्छन् र नयाँ सामान लिएर फर्किन्छन्। त्यो आम्दानी मासुवालाले दाना उत्पादकलाई पठाइदिन्छ या पशुपालक कृषकलाई भुक्तानी दिन्छ। किरानावालाले होलसेलरको उधारो तिर्छ। अनि नयाँ सामान लिएर आउँछ। पाहुनाले दिएको एडभान्स रकमले नै अर्थतन्त्र चलायमान हुन्छ।

जस्तो- फिदिममा बास बस्ने योजना बनाएको पाहुनाले त्यही साँझ इलाम पुग्नुपर्‍यो भने पनि स्थानीय अर्थतन्त्र चलायमान बनाएर मात्र त्यहाँबाट हिँड्छ। व्यापारचक्र एकपटक चलायमान बनाएर उसले होटेल छाड्छ।

लकडाउनका बेला पसलेको स्टक रित्तियो। थप अर्डर गर्न व्यापारमा मन्दी थियो। आम्दानी नहुँदा चालु पुँजी र स्टक दुवै सकियो। र, पसले व्यापार छाड्ने अवस्थामा पुगेको थियो। तथापि, बजारमा गतिविधि शुरु भएको छ, जसले पसलेमा पनि आशा जगाएको छ। विद्यालय बन्द रहँदा फास्ट मुभिङ कन्जुमिङ गुड्स (एफएमसीजी)को बिक्री पनि बन्द थियो।

विस्तारै विद्यालय खुल्न थालेका छन्, एफएमसीजीको व्यापार पनि बढेको छ। यसबीचमा बजारमा एफएमसीजीको ड्यामेज ठूलो देखियो, अर्थात् उपभोग गरिसक्नुपर्ने अवधि सकिएको थियो। अब यस्ता चिजको बिक्री विस्तारै बढ्दो क्रममा छ।

पर्यटनले बजार मात्र होइन, यातायात र स-साना पसलसम्म प्रभाव छाड्छ। आन्तरिक पर्यटनले गति लिँदै जाँदा ती सबै फेरि बौरिने छन्। यही दौरानमा सरकारले भारत र चीनसँगका सिमानामा सशस्त्र प्रहरीका बोर्डर आउटपोस्ट (बीओपी) थप्यो। बीओपी स्थापना भएकै कारण पाँचथर र सिक्किम सीमाको फालुटसम्म पुग्न मानिसलाई सुरक्षा प्रत्याभूति भयो। बस्ती नभएका ठाउँसम्म पनि पुग्न सक्ने भए, मानिस। विभिन्‍न हाइकिङ रुट र पदमार्ग पनि यसबीचमा पहिचान भएका छन्। इलामको पशुपतिनगरबाट पसेर मध्यपहाडी राजमार्गको जिरो पोइन्ट च्याङथापु हुँदै ताप्लेजुङसम्म पुग्न सकिने भयो।

फालुटजस्ता नयाँ गन्तव्यले मानिसलाई अहिले नै लोभ्याइसकेका छन्। त्यहाँसम्म पुग्ने योजना बनाउन लागिपरेका छन्, युवा। अब पूर्वका मानिस मुस्ताङ पुग्नुनपर्ने भयो, फालुट घुमेर फर्किंदा बेग्लै आनन्दानुभूति हुने भयो। फिदिमबाट फालुट जोड्ने सडक कालोपत्रे हुन सक्यो भने पाँचथरका मात्र होइन, झापा, मोरङ, सुनसरीका मानिसको पनि घुइँचो बढ्ने छ।

पाँचथर सदरमुकाम फिदिमको रात्रिकालीन दृष्‍ष

अब प्याराग्लाइडिङ गर्न पोखरा नै पुग्नुपर्छ भन्‍ने छैन, फिदिममै पनि डेढ वर्षअघि टेस्ट फ्लाइट भइसकेको छ। विस्तारै त्यसले नियमित फ्लाइटको रूप लिन सक्छ। तमोरमा र्‍याफ्टिङका लागि स्वदेशी मात्र होइन, विदेशी साहसिक पर्यटक पनि लालायित देखिँदै आएका छन्। साहसिक पर्यटनको ढोका खुल्दैछ।

फिदिमबाट नजिक पर्ने आठराई हुँदै ढुंगेसाँघुसम्मै कालोपत्रे सडक पुग्दैछ। कुमाई ब्राह्मणहरूको उद्गम थलो आठराई क्षेत्र घुम्न विस्तारै मानिस पुग्न थाल्नेछन्। नेपालकै ठूलो झरना ह्यात्रुङसम्म पनि अब देशभरका मानिसको पहुँच बढ्नेछ।

तमोर करिडोरले केही वर्षभित्रै ओलाङचुङगोलासम्म मानिसको पहुँच बढाउँदैछ। सात सय ६२ मेगावाट क्षमताको तमोर आयोजना निर्माणको चर्चामा छ। विस्तारै मेची पहाडको कायापलट हुने क्रममा छ।

मेची पहाडमा पर्यटकीय प्रोडक्ट बिक्री गर्न प्याकेजहरू आवश्यक छन्। अहिलेसम्म साहसिक पर्यटनमा मात्र प्याकेजको ट्रेन्ड थियो। विस्तारै अन्य गन्तव्यमा पनि प्याकेज बिक्री शुरु हुँदैछ। त्यसैले ‘पोस्ट कोभिड टुरिजम’ले उज्यालो भविष्‍यको संकेत गर्छ। अब पर्यटन शहरबाट होइन, गाउँ-गाउँबाट उठ्नेछ। र, तीनै तहका अर्थतन्त्र चलायमान बनाउने छ। अब अवरोध पन्छाउँदै आन्तरिक पर्यटन प्रबर्द्धनमा लाग्नुको विकल्प पनि छैन।

(लेखक पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष हुन्।)

साभार –  नेपाली हेडलाइन ।

तपाईको प्रतिक्रिया