चिसो निकै बढिसकेको छ। चिसोसँगै शरीरमा हुने समस्या पनि बढेका छन्। रुघा, खोकी, ज्वरो, दम, निमोनियाजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै प्रेसर बढ्ने, मुटुरोग आदि पनि बढ्दो छ।

चिसोमा धेरै देखिने अर्को समस्या हो हाडजोर्नी सुन्निने, दुख्ने, झमझम गर्ने। यसलाई बोलीचालीमा युरिक एसिड बढेको वा बाथ रोग पनि भनिन्छ।

यो सामान्यतः चिसो मौसममा बढी देखिन्छ र धेरैजसो वृद्धावस्थामा देखिने समस्या हो। तर अचेल अनुचित खानापानका कारण सबै उमेर समूहमा मौसमी समस्या देखिन थालेको छ।

बाथ रोग शरीरका स–साना जोर्नीमा दुखाइबाट सुरू हुने समस्या हो। दुखाइ बढ्दै गए दैनिक जीवन नै कष्टकर बन्छ र सामान्य हिँडडुलमा पनि समस्या हुन थाल्छ।

के हो युरिक एसिड?

हाम्रो रगतमा हुने एसिडमध्ये युरिक एसिड पनि एक हो। यो शरीरमा थोरै मात्रामा हुन्छ र पानीमा घुलनशील हुन्छ। यसलाई मिर्गौलाले पिसाबबाट बाहिर निस्कासन गर्छ। तर जब शरीरमा बढी भएको वा उत्पादन भइरहेको युरिक एसिड मिर्गौलाले राम्ररी फाल्न सक्दैन तब रगतमा युरिक एसिड बढेर जान्छ। यसको मात्रा रगतमा एक सीमासम्म बढ्छ र त्यो सीमा कटेपछि थिग्रिएर ‘क्रिष्टल’ का रूपमा परिणत हुन्छ।

उदाहरणका लागि–  एक गिलास पानीमा नुन या चिनी राखौं। पहिलो १, २, ३, ४ या ५ चम्चासम्म राख्दासम्म त्यो घोलिन्छ। तर जब मात्रा धेरै राखिन्छ तब त्यो पानीको पिँधमा गएर थिग्रिन थाल्छ र क्रिष्टल बन्छ। जसरी नुन या चिनी जमेपछि क्रिष्टल बन्छ त्यसैगरी युरिक एसिडको मात्रा पनि रगतमा बढ्दै गएपछि थिग्रिएर क्रिष्टलमा परिणत हुन्छ।

युरिक एसिडका क्रिष्टल शरीरका विभिन्न भागमा विशेषगरी जहाँ चिसो बढी हुन्छ, त्यहाँका जोर्नीसम्म पुग्छ। जस्तै हातखुट्टाका टुप्पा, घुँडाका जोर्नी आदिमा जम्न पुग्छ। जुन भागमा जम्छ त्यही भाग सुन्निने, रातो हुने, पोल्ने र दुख्ने लक्षण देखा पर्छन्। यही जोर्नी सुन्निने, रातो हुने, दुख्ने, झमझम गर्ने प्रक्रियालाई युरिक एसिड बढेको अर्थात् बाथ रोग भनिन्छ।

युरिक एसिडको सामान्य मापदण्डः

युरिक एसिड मापन गर्न रगत जाँच गरिन्छ। यसको मापदण्ड महिला र पुरुषमा फरकफरक हुन्छ। महिलामा ३.५ देखि ६.० एम.जीसम्म सामान्य मानिन्छ भने पुरुषमा ३.५ देखि ७.० एम.जीसम्म।

रगत जाँचमा युरिक एसिड मात्रा ३ देखि ४ सम्म हुँदा राम्रो मानिन्छ। यस अवस्थामा दुखाइ हुँदैन। ६ पुगेपछि दुखाइ सुरू हुन्छ। तर रगत जाँच गर्दा युरिक एसिड सामान्य छ र पनि शरीरमा दुखाइ छ भने शरीरमा ल्याक्टिक एसिड र अक्जालिक एसिड बढेको छ र युरिक एसिड बढ्ने क्रममा छ भन्ने बुझ्नु पर्छ। यी एसिड रगत जाँच गर्दा देखिँदैन।

युरिक एसिड बढ्नुका कारणः

खाना–

यो पाचनको समस्या हो। खाना पाचन भएपछि रासायनिक प्रक्रियाबाट विकारतत्व बन्छ, त्यसलाई मेटाबोलिक विकार भनिन्छ जसमा युरिक एसिड पनि एक हो। यही युरिक एसिड बढ्ने खालको खानपान बढी गर्नाले यसको मात्रा बढ्छ र समस्या हुन्छ। यसमा पनि प्युरिन बढी हुने खानपानले यो समस्या हुन्छ।

के हो प्युरिन?

प्रोटिन आहारमा प्युरिन एमिनो एसिड हुन्छ। यसको उपापचयबाट उत्पन्न हुने अन्तिम विकारतत्व युरिक एसिड हो। यो सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ। तर युरिक एसिडको मात्रा बढी भएका आहार खाँदा रगतमा यसको मात्रा बढ्दै जान्छ, रगतमा अम्लियता बढ्छ र रगत वातरक्त बन्छ। दुखाइ हुन्छ।

कुन आहारमा प्युरिन बढी हुन्छ?

जन्तुस्रोतका खाद्यपदार्थमा– सबै मासु वर्गमा यो बढी हुन्छ। तर अहिले मासुलाई दुई भागमा विभाजन गरी बुझ्ने चलन छ, रातो र सेतो मासु।

रातो मासुमा बोसो बढी हुन्छ भने सेतोमा कम। राँगा, खसी आदिलाई रातो मासुमा गनिन्छ। त्यसैगरी माछा, कुखुरा र चराचुरुंगीलाई सेतोमा। सेतो मासुमा बोसो कम हुने भएकाले यो खान मिल्छ भन्ने बुझाइ छ। तर जुनसुकै मासु भए पनि त्यसमा प्रोटिन हुन्छ। यसमा पाचन हुन चाहिने रेसा-छोक्राबोक्रा पनि हुँदैन र पच्न धेरै समय पनि लाग्ने भएकाले मांसाहार नगर्नु नै समस्या हुन नदिने उत्तम उपाय हो।

दुई दलीय अन्नहरूमा–दुई फक्लेटा हुने सबै खालका गेडागुडी जस्तै दाल, भटमास, राजमा, चना, केराउ आदिले युरिक एसिड बढाउँछ।

दूग्ध पदार्थमा–दूध, दही र दूधबाट बनेका सम्पूर्ण परिकार, मिठाइहरू।

युरिक एसिड बढाउने तरकारीहरू– केही तरकारीमा अक्जालिक एसिड मात्रा बढी हुन्छ। यी तरकारी बढी खाँदा रगतमा युरिक एसिड बढ्छ। तोरी साग, पालुंगो, कुरिलो, भ्यान्टा, फर्सी, लौका, कर्कलो, गाँठे मुला, तितेकरेला, सलगम, हरियो केराउ, मुला, स्कुस, च्याउ, काँक्रा, सेतो काउली, बन्दा, स्कुसको मुन्टा, सलाद पत्ता, मस्यौरा आदि यस्ता तरकारी हुन्। अझ गुन्द्रुक र तामा सबभन्दा धेरै हुन्छ। त्यसैले युरिक एसिड बढेका बेला वा शरीरमा कतै पनि दुख्ने-सुन्निने समस्या भएमा यी सबै तरकारी बन्द गर्नुपर्छ।

युरिक एसिड बढाउने फलफूल– अमिलो गुणका सबै फलफूलले युरिक एसिड बढाउँछन्। मेवा, हरियो मकै, आँप, कटहर, कागती, अमिलो काफल, गोलभेडा, लप्सी, भुइँकटहर, खरबुजा, अमिलो भोगटे, अमिलो आरुबखडा, अँगुर आदि।

नट्स– ओखर, काजु, बदाम, मुंफली, काँचो नरिवल आदिले पनि शरीरमा एसिड बढाउँछ।

नशाजन्य, लागुऔषध र धूमपान– यी नशाजन्य पदार्थले एसिड उत्पादन गर्न धेरै मद्दत गर्छन्।

पानी कम पिउनु– रगतमा युरिक एसिड बढ्नुको अर्को मुख्य कारण पानी कम पिउनु हो। युरिक एसिड पानीमा घोलिएर पिसाब मार्फत् बाहिर फाल्ने काम हुन्छ। पानी कम भए युरिक एसिड फालिन सक्दैन।

त्यसैले बिहान उठ्नेबित्तिकै करिब एक लिटर मनतातो पानी घटघट पिउनुपर्छ। कुनै पनि ठोस आहारसँग पानी पिउनु हुँदैन। खाना वा खाजा खानुअगाडि वा पछाडि एक-एक घण्टाको फरकमा मात्र पिउनुपर्छ। दिनमा प्रति घण्टा एक गिलासका दरले पिउने र राती सुत्दा मनतातो पानी एक गिलास पिएर सुत्ने। जाडोमा साढे दुई लिटरदेखि ३ लिटर र गर्मीमा तीनदेखि ४ लिटर हाराहारीमा पानी पिउनुपर्छ। युरिक एसिड बढेको अवस्थामा पानी पिउने नियम कडाइ साथ लागू गर्नुपर्छ।

युरिक एसिड बढ्नुका अरु कारणः मोटोपन, धेरै खानु, अल्छी गर्नु, दिसा-पिसाब रोक्नु, धेरैबेर नखाइ बस्नु, राती धेरै ढिला सुत्नु, धेरै तनाव वा चिन्ता गर्नु, धेरै चिसोमा खेल्नु, औषधि धेरै सेवन गर्नु आदि। मोटोपन घट्ने क्रममा पनि युरिक एसिड बढ्छ।

कटिचक्रासन

युरिक एसिड बढ्नुअघि शरीरमा देखिने लक्षणः

–पहिलो लक्षणका रूपमा शरीरमा कडापन आउँछ। बिहान उठ्दा जिउ जाम हुनु, अररो हुनु, जोर्नी कडा भई चलाउन नमिल्नु र विस्तारै चलमल गर्दा वा हिँड्दै जाँदा वा काम गर्दै जाँदा कडापन हराउँदै जानु पहिलो लक्षण हो। यो अवस्थामा रगतमा ल्याक्टिक एसिड र अक्जालिक एसिड बढेको हुन्छ। यसलाई हेलचेक्र्‍याइँ गरे यो बढ्दै जान्छ र समस्या हुन्छ।

– पिसाबमा फिँज आउनु, पिसाबको रङ कडा र गन्धयुक्त हुन्छ।

– मुखको स्वाद बिग्रिनु, खल्लो र नमिठो हुनु। भोक धेरै लाग्ने वा धेरै कम लाग्ने हुनु।

– अम्लियता र पेटमा ग्यास बढ्नु। अम्लियता बढ्नाले मन विषाक्त हुनु, चिडचिडापन हुनु, झर्को लाग्नु।

– मुख सुक्नु, मन चञ्चल हुनु, छाती, घाँटीमा जलन/पोल्ने हुनु।

– पाचन ठीक ढंगले नहुनाले धेरै अगाडिदेखि कब्जियत भएको हुन्छ।

– निद्रा कम लाग्छ।

– हातखुट्टाका जोर्नी दुख्नु, सुन्निनु, रातो हुनु, झमझम हुनु।

 युरिक एसिड बढेपछि देखिने लक्षणः

– पहिलो लक्षणका रूपमा जोर्नीहरू सुन्निने, फुल्ने, रातो हुने र दुखाइ हुन्छ। दुखाइ अक्सर बिहानीपखबाट सुरू हुन्छ र चर्को हुन्छ।

– यसको आक्रमण अक्सर एक विन्दुमा, खुट्टाको बुढी औंलाका जोर्नीमा हुन्छ र टेक्नै नसकिने हुन्छ। यो बुढी औंलाबाहेक हातका अन्य कुनै औंलाका जोर्नीमा पनि हुन सक्छ।

– यसमा जाडो लाग्ने र ज्वरो १०० देखि १०२ सम्म हुन सक्छ।

– यसको दुखाइ कम्तिमा चार दिनदेखि एक हप्तासम्म रहन्छ। तर अनुचित खानपान भइरहे दुखाइ लामो समयसम्म रहन्छ।

– यो समस्या तीव्र अवस्था अर्थात् पहिलो चरणमा रहेसम्म निको हुन सरल हुन्छ। तर समस्या भएपछि पनि खानपानमा ध्यान नदिए समस्या चर्को हुँदै जान्छ।

– सुरूसुरूमा यसको लक्षण जाडोमा र वर्षातमा हुन्छ तर खानपान नमिलेमा जुनसुकै महिनामा पनि हुन्छ।

अश्वासन

दुखाइ हुँदा तत्काल गर्न सकिने उपचारः

दुखाइ हुनेबित्तिकै कम गर्न दुखेको ठाउँमा तातोले सेक्न सकिन्छ।

हत्केला सेकी– दुई हात रगडेर हातको तातोले दुखेको भागमा सेक्ने। यो धेरै प्रभावकारी हुन्छ। यो एक पटकमा कम्तिमा २५ देखि ३० मिनेट दिनुपर्छ र समय भए जति पनि र जुनसुकै बेला गर्न सकिन्छ।

तातो ब्यागले सेक्ने– हत्केलाले सेक्न नसक्दा रबर ब्याग तताएर सेक्न सकिन्छ। ध्यान दिनुपर्ने कुरा, सेकाइ धेरै तातो र चर्को हुनु हुँदैन। मन्द तातोले सेक्नुपर्छ।

दीर्घकालीन निवारणः

जुनसुकै समस्यामा पनि लामो समयदेखि कब्जियत भएको हुन्छ। तसर्थ कब्जियत खुलाउने उचित खानपान गर्नुपर्छ।

के खाने?

रक्तअम्लकारी आहार बढी खानाले यो समस्या हुन्छ। तसर्थ युरिक एसिड बढेका बेला ती आहार बन्द गरी क्षारीय छोक्राबोक्रा र रेसासहितका प्राकृतिक ‘न्युट्रल’ आहार हुनुपर्छ। न्युट्रल भन्नाले सबै अवस्थामा खान सकिने आहार हुन्।

न्युट्रल आहार के के हुन्? 

प्रशोधन नगरिएका वा कम प्रशोधित आहार, जस्तै खैरो चामलको भात, गहुँ, मकै, कोदो, फापर, च्याँख्ला जस्ता पूर्ण अन्नहरू। रायो, चम्सुर, मेथी, सोंपको साग, फर्सीको मुन्टा, परवल, हरियो सिमी, हरियो बोडी, हरियो लसुन, हरियो प्याज, ब्रोकाउली, घिरौंला, पाटे घिरौंला, करेला, गाजर, गाजरपत्ता लगायत ताजा हरिया तरकारीहरू। प्राकृतिक रूपमै पाकेका गुलियो स्याउ, मौसम, नासपाती, केरा, हलुवावेद, आरुबखडा, जामुन, जुनार, आरु आदि।

ध्यान दिनु पर्ने कुराः केरामा कार्बोहाइड्रेट बढी हुनाले  सलादका रूपमा नलिनु बेस हुन्छ।

खाने सही तरिकाः

स्वस्थ रहन यी तीन आहार (अन्न एक भाग, हरियो तरकारी एक भाग र उत्तिकै मात्रामा काँचो सलाद फलफूल) को बराबर मिश्रण हो। यी तीन चिज बराबर मात्रामा लिँदा शरीरलाई चाहिने ठोस आहार र रेसा-छोक्राबोक्रा मिल्छ। कब्जियत पनि हुँदैन। कब्जियत नभएपछि समस्याबाट मुक्त हुन सकिन्छ। तौल बढी छ भने पहिला तौल घटाउने हिसाबले खानपान हुनुपर्छ।

स्वस्थ रहन उचाइअनुसार तौल हुनुपर्छ। मोटोपनले समस्या आउँछ। तसर्थ तौल बढी भएकाले माथिको आहारलाई चार बराबर गरेर खाने। चार बराबर भन्नाले आफूले खाइरहेको अन्नको १ भाग कम गर्ने र हरिया सब्जी र सलाद बढाउने। यसरी अन्न एक भाग कम गरी अरू मिलाएर खानाले पेट पनि भरिने र शरीरको अनावश्यक तौल पनि हप्ताको एक-दुई किलो सजिलै घट्छ।

तिर्यक ताडासन

के नखाने?

माथि खान नहुने भनिएका खाना नखाने। धूमपान, मद्यपान वर्जित गर्ने। मैदाका परिकार, टुसा उमारिएका गेडागुडी, जंकफुड, फास्टफुड, चिल्लोपिरो, मसलावर्ग, चिसो र तयारी पेय पदार्थ, अमिलो गुणका कुनै पनि खाद्य पदार्थ नखाने।

के गर्ने?

– शरीरको आवश्यकताभन्दा बढी र दिनमा २-३ पटकभन्दा बढी नखाने। तर आफ्नो शरीर र परिश्रमअनुसार यसलाई थपघट गर्न सकिन्छ। एक खाना र अर्को खानाको अन्तर कम्तिमा ४ देखि ५ घण्टाको गर्ने। दैनिक खानामा प्रशस्त हरिया सागसब्जी र फल सलादको मात्रा बढाउने। ताजा तरकारीको सुप खाने। पानी नियम अनुसार पिउने।

– खानेबित्तिकै भारी परिश्रम नगर्ने। खाएपछि ५-१० मिनेट बज्रासनमा बस्ने। घँडा दुखेमा सुखासनमा बस्न सकिन्छ।

– खानेबित्तिकै ननुहाउने र नुहाउनेबित्तिकै नखाने। यी काममा करिब एक घण्टा फरक पार्ने।

– दिउँसो नसुत्ने। बेलुकी ठीक समयमा सुत्ने र बिहान सूर्य उदाउनुअगाडि उठ्ने। दुखेको भागबाट नसुत्ने।

– दैनिक करिब ४५ देखि १ घण्टा शरीरका सबै जोर्नी सञ्चालन हुने व्यायाम गर्ने। दैनिक १-२ घण्टा घाममा बस्ने।

– काम र आरामको सन्तुलन राख्ने। चर्को तनाव, रिस, लोभ, मोह आदि जस्ता अनुचित विचारबाट बच्ने।

योग व्यायाम के गर्ने? 

तीव्र दुखाइ भएसम्म व्यायाम नगर्ने। दुखाइ कम भएपछि मात्र गर्ने। सामान्यतया सबै व्यायाम गर्न सकिन्छ तर समस्या भएका बेला हल्का अंगव्यायाम, हात खुट्टा चलाउने र अवस्था हेरेर सकुन्जेल सूर्यनमस्कार र अरू आसन ताडासन, तिर्यक ताडासन, कटिचक्रासन, शसांकासन, अश्वासन आदि गर्न सकिन्छ। व्यायाम गरेपछि दुखाइ हुन्छ भने नगर्ने, आराममा रहेर सेक्ने।

शरीरमा युरिक एसिड बढ्नु पहिलो चरण हो। पहिलो चरणमै खाना बारेर, दैनिक व्यायाम र उचित उपचार भएमा तीन-चार दिनदेखि हप्ता दिनमै दुखाइ कम हुन्छ। दुखाइ कम भएपछि पनि खाना भने ३-४ महिना बार्नुपर्छ। पछि पनि विस्तारै मिलाएर लिनुपर्छ।

लक्षण देखिनेबित्तिकै शरीरको प्रकृति र नियममा ध्यान दिएर आहार, विहार, विचार मिलाए यो समस्या जीर्ण हुन पाउँदैन। तर बेवास्ता गरे समस्या बिग्रेर बाथ जीर्ण हुन सक्छ। जोर्नीमा गाँठो पर्ने र हड्डी बांगिने भई निको पार्न गाह्रो पनि हुन सक्छ।

ताडासन

(लेखक रामदेवी महर्जन योग तथा उचित आहार, विहार, विचार प्रशिक्षक हुन्।)

 

साभार – सेतोपाटीबाट ।

तपाईको प्रतिक्रिया