– पवित्रा घिमिरे, 

‘महिला भएर पनि यस्ता कुरा गर्ने ?’ केहीअघि एक पुरूष मित्रले मलाई भन्नुभयो।

सन्दर्भ थियो, लेखक तथा राजनीतिज्ञ मोदनाथ प्रश्रितलाई एक महिलाले लगाएका संगीन आरोपहरू।

मैले प्रश्रितका धेरै लेख र पुस्तकहरू पढेको थिएँ। उनका लेखहरूमा ‘नारीवादी चिन्तन’ पाउँथें। उनै लेखकमाथि त्यस्तो आरोप लाग्दा सजिलै पत्याउन सकिनँ।

‘महिलाको मात्रै कुरा सुनेर निश्कर्षमा पुग्नु हुँदैन भनेर मैले आफ्नो धारणा राख्दा ती पुरूष मित्र ममाथि खनिएका थिए।

यो विषय अहिले यत्तिकै सेलाएको छ। तर, यसमाथि गम्भीर अनुसन्धान गरेर प्रश्रित दोषी भए उनी कारबाहीको भागेदार बन्नुपर्छ। महिलाको आरोप झूटा ठहरिए उनी दण्डित बन्नुपर्छ भन्ने मेरो मान्यता अहिले पनि छ।

अलि अघि एक नायिकाले आफूमाथि एक पुराना नायकले यौन दुर्व्यवहार गरेको आरोप लगाइन्।

यो विषयले धेरै ठूलो रूप लिएको थियो र मुद्दा अहिले अदालतमा विचाराधीन छ।

यो प्रकरणले चलचित्र क्षेत्र मात्र तातेन, महिलावादीहरूका लागि ‘हट एण्ड ह्यापेनिङ’ टपिक बन्यो।

धेरैजसो नेपाली चलचित्रका नायिकाहरूले ‘आई एम विथ यू’ भन्दै आफ्नो सन्जालको भित्ता भर्ने तथा मिडियामा महिला हिंसाका बारेमा ठूला–ठूला गफ दिए। अरूले पनि ‘उसको हिम्मतलाई मान्नैपर्छ’, ‘आई स्यालुट हर’ भन्दै समर्थन जनाए।

यता पुरूष कलाकार भने आफूले कुनै हिंसा नगरेको भन्दै प्रमाण देखाउन चुनौती दिइरहेका थिए। पछि उनी न्याय पाऊँ भन्दै अदालतसम्म पुगे। अहिले यो प्रकरण सेलाएको छ। यसमा पनि मेरो धारणा यही छ कि, महिलाको मात्रै कुरालाई सतप्रतिशत सत्य मानेर धारणा बनाउँदा कहिलेकाहीँ पुरूष अन्यायमा पर्न सक्छन्। सबै पुरूष उस्तै हुँदैनन् पनि।

धेरै नायिकाहरू चलचित्र क्षेत्रमा महिलामाथि हिंसा हुने भए पनि आफ्नो करियर बिग्रिने डरले  चुप बस्ने गरेको तर्क गर्छन्।

मलाई यो तर्क निकै विरोधाभासपूर्ण लाग्छ। करिअर ठूलो हो कि जीवन ?

के करियर बिग्रिन्छ भनेर हिंसा सहेर बस्न सकिन्छ त ?

करिअरमाथि उठाउने नाममा हेपिएर, दबिएर, हिंसा सहेर बस्नु चाहिँ ठीक हो त ?

यही कमजोरी थाहा पाएर पुरूषले महिलालाई हेपेको हुन् कि ?

यदि आफूमाथि कुनै पनि हिसाबले अन्याय भएको छ भने ठाउँको ठाउँ आवाज उठाउन किन सकिँदैन ?

र कारबाहीको माग किन गर्न सकिँदैन ?

अन्याय सहनु पनि एक किसिमको अपराध होइन र ?

अनि अर्को कुरा। किन महिलाको मुद्दा भए विचरीलाई फसाए भन्ने, अनि पुरूषको भए त्यो फटाहालाई कारबाही होस् भन्ने आम मनोवृत्ति पाइन्छ।

यसरी अपराधलाई लैंगिक चश्माले हेरेपछि कसरी दूधको दूध, पानीको पानी हुन्छ ? व्यक्ति जोसुकै होस्, जेसुकै होस् त्यसको सत्य–तथ्य पत्ता लगाएर दोषीलाई कारबाही किन गरिँदैन ?

विषयको गहिराइमा नगई ‘आई एम विथ यू फलानो’ भन्दै स्टाटस लेख्नु ठीक हो? घटनालाई राम्ररी नकेलाई सामाजिक सञ्जालमा पुरूषलाई सत्तोसराप लगाउँदैमा ‘महिलावादी’ बनिन्छ ?

यो त एउटा उदाहरण मात्र हो।

महिला हिंसासँग जोडिएका अरू पनि थुप्रै घटनालाई हामीले तटस्थ आँखाबाट सहीरूपमा पर्गेल्न सकेका छैनौं।

सहरी क्षेत्रमा सुविधा सम्पन्न परिवारमा जन्मे हुर्केका महिलाको त यस्तो अवस्था छ भने के होला त गरिबी र अशिक्षाको  भूमरीमा रुमलिएका महिलाको अवस्था ?

किन महिलाहरूलाई सधैं विचराको रूपमा लिइन्छ ? किन महिला र पुरूष दुवै मान्छे हुन् भनेर हेरिँदैन ? किन परिवर्तन हुँदैन त महिला र पुरूषलाई फरकरूपमा हेर्ने सोच ?

समय परिवर्तनसँगै महिलाको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा धेरै परिवर्तन आएको छ।

धेरै हदसम्म महिलाहरू बाहिर निस्किन पाएका छन्। स्वतन्त्र भएका छन्। उच्च शिक्षा आर्जन गर्न सकेका छन्।

तथ्यांक हेर्दा पनि नेपालमा महिला सशक्तिकरणका प्रयासहरू भैरहेको र उच्च ओहोदामा महिलाको सहभागिता बढेको देखिन्छ। तर किन समस्याहरू ज्युँका त्यूँ छन् त ?

झन्–झन् महिलाहरू पीडित भएको, दबिएको, हेपिएको कुराहरू किन आइरहेका छन् ?

केही महिना अगाडि नेपाली चलचित्रका नायिका तथा कलाकारले अन्तर्वार्ता दिने क्रममा बोल्न नजान्दा, सामान्य ज्ञान सम्बन्धी प्रश्नको सही उत्तर दिन नसक्दा निकै ट्रोल भएका थिए।

सामाजिक सन्जालमा तथानाम गालीगलौजको वर्षा नै भयो। त्यसपछि, अधिकांश नायिकाहरूले सम्बन्धित कलाकारलाई सहानुभूति प्रकट गर्दै महिलावादी भावना व्यक्त गर्न थाले। सामाजिक सन्जालका भित्ताहरू भर्दै मास तताए र नारीवादका बहस गर्दै मिडिया पनि  तताए।

कुरै नबुझी कोही–कसैलाई नानाभाती गालीगलौज गर्नु अपरिपक्वता, अशिक्षा, र दरिद्र मानसिकताका उपज हुन्। यसमा नारीवादको लिपपोत गर्नु र आई एम विथ यू भनेर बजार तताउनु चाहिँ खोक्रो आडम्बर मात्र हो।

महिला समानताका कुराहरू धेरै उठ्ने गर्दछन् नेपालमा। धेरै एनजिओ, आइएनजिओ खुलेका छन्। महिलाको उद्दार तथा हक–हितको संरक्षणको लागि।

विदेशीहरू आउँछन् नेपालमा रिसर्च गर्न भनेर। नेपालको दुर्गम जिल्लामा पुग्छन्। डाटा संकलन गर्छन्। त्यही डाटा लिएर आफ्नो देश पुग्छन् र नेपालमा यस्तो छ, त्यस्तो छ भनेर सुनाउँछन् र यसैबाट पैसा कमाउँछन्।

मान्छेको समस्या मुद्रा कमाउने औजार बनेको छ। नेपालमा पनि धेरै संघ–संस्थाहरू खुलेका छन् विदेशीको लगानीमा। ठूला–ठूला पाँचतारे होटलमा सेमिनार हुन्छन् महिलाको समस्याको बारेमा। तर दुःखलाग्दो कुरा के छ भने यी सब बहस, भाषणमा मात्र सीमित हुन्छन्। महिलाका समस्या भने ज्यूको त्यूँ रहन्छन्।

नेपालमा राष्ट्रपति महिला, सभामुख महिला, केही पदमा मन्त्री पनि महिला, सांसदमा थुप्रै महिला छन्।

मात्र महिलाहरूलाई मौका दिएको छ भन्ने देखाउनको लागि त्यो गरिएको पाइन्छ। महिला राष्ट्रपति, मन्त्री,  सांसद जे भएता पनि विकट ठाउँका महिलाहरू जहाँको त्यही छन्। उनीहरूको आवाज सधैं दबिएको  छ।

अशिक्षा र गरिबीको भूमरीमा रूमलिएर बाँचिरहेका छन्। धर्मको नाममा अझै पनि दण्डित भएर कष्टकर जीवन बिताइरहेका छन्। आफ्नो हक अधिकारको बारेमा अनविज्ञ छन्।

नेपाली राजनीतिमा एउटा प्रवृत्ति छ। कुनै ठूलो ओहोदामा पुगेको राजनीतिज्ञको मृत्यु भयो भने जबर्जस्ती उसको श्रीमतीलाई श्रीमानको पदमा राखिन्छ। त्यो ओहोदालाई धान्ने क्षमता छ कि छैन भनेर हेरिँदैन।

क्षमता र अनुभवबिना कसैलाई कुर्सीमा राख्दैमा त्यसले महिला सशक्तिकरण हुन्छ त ? कुनै पनि उच्च ओहोदामा महिलाको प्रतिनिधित्व हुनु धेरै राम्रो कुरा हो। तर त्यसका लागि पहिले उनको क्षमता विकास पो गर्नुपर्यो। त्यसपछि उनी आफैं लडेर, प्रतिस्पर्धा गरेर त्यो स्थान हासिल गर्न सक्छिन्।

कुनै पिछडिएको तथा पीडित महिलालाई आरक्षण दिएर माथि लगिन्छ। यसबाट ती महिलाको जीवनशैलीमा परिवर्तन आउँछ। उनले आफ्नो जिम्मेवारीमा न्याय गर्न सक्दिनन्।

आरक्षणले महिलालाई कमजोर पार्ने त होइन, तर यथार्थताको धरातलमा उभिएर काम नगर्ने, नातावाद, कृपावाद जस्ता तत्वहरूले गर्दा जसलाई पायो त्यसलाई आरक्षण दिनाले उल्टै महिलाको क्षमतामाथि प्रश्न चिन्न उठ्छ।

नेपालमा २०७४ सालमा भएको स्थानीय तहको चुनावमा धेरैजसो ठाउँमा महिलालाई उपमेयर तथा उपप्रमुखमा उठाइएको थियो। मेयर र उपमेयरमध्ये एक जना महिला उम्मेदवार हुनुपर्ने संवैधानिक प्रावधान छ।

त्यसैले पार्टीहरूले महिलालाई उपमेयरमा उठाए। तर, अधिकांश उपमेयर महिलाहरू यो जिम्मेवारीको बोझ उठाउन सक्ने अवस्थामा थिएनन्। फलत उनीहरूले प्रभावकारीरूपमा आफ्नो कार्यसम्पादन गर्न सकिरहेका छैनन्।

त्यसैले महिलालाई पद दिनुभन्दा पहिले उनीहरूको क्षमता विकास गर्नु महत्वपूर्ण छ।

कतिपय अवस्थामा महिलाहरू पुरूषबाट पीडित नभएर महिलाबाटै बढी पीडित हुन्छन्। घर–पारिवारका महिलाले आफैं नियम बनाएर यो गर्न हुन्छ त्यो गर्न हुँदैन भनेर बन्धनमा बाँध्छन्।

अनि महिला स्वयम् त्यसलाई सहजरूपमा स्वीकार्छन्। बुझेपछी पुरूषप्रधान समाज भन्छन्। तर एउटा महिलाबाट महिला पीडित भइरहँदा पुरूषको कहाँ दोष छ ?

कुनै महिलामाथि पुग्दा अर्को महिलाले आरिस गर्नु, घरको काममा महिलाले महिलालाई दलाउनु, बन्धनमा बाँधेर राख्नु, महिलाले महिलाको कुरा काट्नु यी सब व्यवहार पनि हिंसा नै होइन र ?

कुनै महिलाको विवाह ढिलो भयो भने कुरा काट्ने महिला नै हुन्छन्। विवाहपछि यदि कुनै महिला आफ्नै जन्मघर बसिन् भने महिलाले नै बढी हेप्ने गर्छन्।

बुहारी भएपछि यस्तो गर्नुपर्छ, त्यस्तो गर्नुपर्छ भनेर नियम लगाएर ‘तल्लो’ स्तरको व्यवहार गर्ने महिला नै हुन्छन्। तर महिलाबाट महिला पीडित भएका समाचार भने कमै आउने गर्छन्।

अपराधीलाई कडा कारबाही गरिनुपर्छ, महिला होस् वा पुरूष।

पैसा, पहुँच र शक्तिको आधारमा किन मुद्दालाई हेरफेर गर्नु अपराध हो। नारीवादको बकम्फुसे भाषण, गालीगलौज र यो गर्नुपर्छ त्यो गर्नुपर्छ भनेर बहस गर्नुको साटो यथार्थको धरातलमा उभिएर, समस्याको जड पत्ता लगाएर समस्याको समाधान गर्ने कि ?

जबसम्म महिलाहरू घरदेखि सुरक्षित हुँदैनन्, आत्मनिर्भर हुँदैनन्, शिक्षित हुँदैनन्, आफ्नो निर्णय आफ्नै लिन सक्दैनन्, तबसम्म जे–जे नियम कानुन बनाए पनि महिलाको स्थिति यस्तै रहन्छ।

साभार – सेतोपाटीबाट ।

तपाईको प्रतिक्रिया