गुराँस न्युज । तेह्रथुम, २४ मंसिर । तेह्रथुममा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको चुनावमा बाम–गठबन्धनले क्लीन स्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ बाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।
प्रतिनिधि सभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित हुनुभएको छ । एमालेबाट तेश्रो पटक उम्मेदवार बन्नुभएका खापुङ नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री सीता गुरुङलाई २ हजार २१ मतले पराजित गर्दै तेह्रथुमबाट दोश्रो पटक निर्वाचित हुनुभएको हो ।
प्रदेश सभातर्फ पनि नेकपा एमालेकै ‘क’ क्षेत्रमा लक्ष्मण तिवारी र ‘ख’ क्षेत्रमा तेजमान कन्दङवा विजयी हुनुभएको छ । प्रतिनिधि सभातर्फ विजयी खापुङले २१ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी सीता गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा पनि नेकपा एमालेका लक्ष्मण तिवारी विजयी हुनुभएको छ । एमाले जिल्ला अध्यक्ष समेत रहनुभएका तिवारीले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानालाई १ हजार ४ सय ६६ मतले पराजित गर्नुभएको हो । तिवारीले ११ हजार ७ सय २६ मत प्राप्त गर्नुभएको छ भने ढुंगानाले १० हजार २ सय ६० मत प्राप्त गर्नुभएको छ ।
जिल्लाका म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो प्रदेश निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो । प्रदेश सभा (ख) तर्फ पनि एमालेकै तेजमान कन्दङवा विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका विजय सम्बाहाम्फेलार्ई २ हजार २ सय ५५ मतले पराजित गर्नुभएको हो ।
कन्दङवाले १० हजार ३ सय २ मत प्राप्त गर्नुभएको छ भने सम्बाहाम्फेले ८ हजार ४७ मत प्राप्त गर्नुभएको छ । जिल्लाका मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका सम्मिलित सो प्रदेश निर्वाचन क्षेत्रमा ३० हजार ५ सय ८८ मतदाता रहेकामा १९ हजार ९ सय ६३ मत खसेको थियो । सो क्षेत्रका ७ सय १२ मत बदर भएको छ ।
दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले एक स्थानीय तह जितेका थिए । कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो ।