तेह्रथुम । नेकपा विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै जन्मथलो तेह्रथुममा कमजोर देखिएका छन् । तेह्रथुम ओलीको मात्रै हैन, पर्यटनमन्त्री भानुभक्त ढकाल र भूमिसुधार मन्त्री शिवमाया तुम्बाहाम्फेको समेत जन्मथलो हो । तर, जिल्लामा प्रचण्ड–नेपाल समूहमा पल्लाभारी देखिएको छ ।

केन्द्रमा भएको विभाजनको प्रभाव जिल्ला हुदै वडास्तर र घर–घरसम्म पुगेको छ । प्रचण्ड–नेपाल समूहका नेता कार्यकर्ता विचलित हुन नदिन गाउँ–गाउँ पुगेर प्रशिक्षण र भेटघाट थालेका छन् । स्थानीय तहस्तरमा कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रम थालेको नेता भूपतिलाल श्रेष्ठले जानकारी दिए ।

तेह्रथुममै जन्मिएका नेता विजय सुब्बा ओली समूहमा छन् । प्रदेश सभा सदस्य तेजमान कन्दङवा, नेता किशोरचन्द्र दुलाल, आठराई गाउँपालिकाकी उपाध्यक्ष रुपादेवी कन्दङवा, संविधानसभा सदस्य विष्णुमाया विक र छथर गाउँपालिकाकी उपाध्यक्ष तारादेवी ढकाल ओली समूहमा देखिएका छन् ।

छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेला र म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे अहिलेसम्म खुलेका छैनन् ।

जिल्लाबाट निर्वाचित सांसद भवानीप्रसाद खापुङ, प्रदेश सांसद लक्ष्मण तिवारी र जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना प्रचण्ड–नेपाल समूहमा छन् । केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज दुर्गाप्रसाद चापागाई, प्रदेश कमिटी सदस्य अनुभूतिबम नेपाली पनि प्रचण्ड–नेपाल समूहमा छन् ।

मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादव खापुङ, आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बु, फेदाप गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङ, उपाध्यक्ष गीतादेवी थापा, म्याङलुङ्गकी उपमेयर पार्वतीसानु डाँगी पनि खुलेका छन् ।

जिल्लामा नेकपा विभाजित हुँदा पनि प्रचण्ड–नेपाल समूहको वर्चस्व हुने देखिएको छ । करिब ८० प्रतिशत प्रचण्ड–नेपाल समूहमा र बाँकी ओली समूहमा विभाजित हुने एक नेताले दाबी गरे ।

 

स्थानीय तहैपिच्छे प्रचण्ड–नेपाल समूहको प्रशिक्षण

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सडकमा उत्रिएका नेताहरुले स्थानीय तहस्तरमा कार्यकर्ता भेला तथा प्रशिक्षण थालेका छन् । विहीबार मेन्छ्यायेम गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जयन्ती राई, सहइन्चार्ज चापागाई, सांसद खापुङ लगायत नेताहरुले सम्बोधन गरे ।

बुधबार म्याङलुङ्गमा कार्यकर्ता भेला तथा प्रशिक्षण भएको थियो । कार्यक्रममा जनताको इच्छा र भावना विपरीत प्रतिनिधि सभालाई भंङ्ग गरिएको भन्दै कार्यकर्ताहरुमा समेत यसको सन्देश दिने उदेश्यले सबै स्थानीय तहमा कार्यत्रम राखिएको नेता भूपतिलाल श्रेष्ठले जानकारी दिए । कार्यकर्ता भेला मेन्छ्यायेम गाउँपालिका संगठन कमिटी अध्यक्ष नेत्र पन्धाकको अध्यक्षतामा भएको थियो ।

जिल्ला कमिटीको १५ पुसको निर्णयअनुसार छ वटै स्थानीय तहहरुमा कार्यक्रम गर्ने योजना रहेको नेता श्रेष्ठले बताए । यस्तै, शुक्रबार आठराई गाउँपालिकामा, शनिबार फेदाप गाउँपालिकामा र आइतबार लालीगुराँस नगरपालिकाको बसन्तपुरमा र सोमबार छथर गाउँपालिकामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने योजना रहेको नेकपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया