काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतले पारदर्शी निर्णय दिनुपर्ने बताएकी छिन् ।

‘सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटन गरेको छ, अब न्यायलयले जे निर्णय गर्छ, त्यो पारदर्शी हुनुपर्छ, संविधानको दायराभित्र हुनुपर्छ,’ संविधानसभा सदस्यसमेत रहेकी नेतृ गुरुङले भनिन् ।

उनले नयाँ संविधान जारी भएपछि देशमा दिगो विकास र संमृद्धिको यात्रा तय हुने अपेक्षा गरेको कांग्रेस बाध्य भएर सडकमा उत्रिन परेको बताइन् । ‘हामीे रहरले होइन, बाध्यताले सडकमा छौँ, आज सबैतिर लोकतन्त्र नै पो खराब हो कि ? भनेर शशंकित हुनुपर्ने अवस्था आएको छ, तर, तपाईहरु ढुक्क हुनुस्, लोकतन्त्र खराब होइन, नेकपा खराब हो, आजको २१ औँ शताब्दीमा लोकतन्त्रको अर्को विकल्प हुन सक्दैन,’ उनले भनिन् ।

सोमबार प्रधानमन्त्री ओलीको जन्मथलो तेह्रथुममा नेपाली कांग्रेसले गरेको विरोध सभामा बोल्दै नेतृ गुरुङले ओली र नेकपा नेतृत्वको सरकारले जनताको प्रतिनिधित्व रहेको प्रतिनिधिसभामाथि असंवैधानिक हस्तक्षेप गरेको बताइन् । ‘जनताले पाँच वर्षकालागि जनप्रतिनिधि निर्वाचित गरेका हुन्, उनीहरुलाई थाहै नदिई जनताको प्रतिनिधित्व भएको संसदमाथि बलात्कार गर्ने काम भएको छ, संविधान मिचिएको छ, लोकतन्त्रमाथि प्रहार भएको छ,’ नेतृ गुरुङले भनिन्, ‘व्यवस्थापिकामाथि असंवैधानिक रुपमा कार्यपालिकाले हस्तक्षेप गरेको छ, त्यो तुरुन्तै सच्याइनुपर्छ ।’

उनले संसद विघटनको मुद्धा अदालतमा पुगेको, तर त्यहाँ पनि सरकारको हस्तक्षेप हुने सम्भावना रहेको भन्दै कांग्रेसले त्यसका विरुद्धमा संघर्ष गर्ने बताइन् । ‘मुलुकको संविधानको रक्षाका लागि हामी निरन्तर सडक संघर्ष गर्छौँ, यदि यो कदम सच्याइएन भने कांग्रेसले अर्को केन्द्रीय समितिबाट फेरि आन्दोलनको घोषणा गर्छ, सडक संघर्ष गर्छ,’ उनले भनिन् ।

पुर्वराज्यमन्त्री समेत रहेकी नेतृ गुरुङले ओलीको कदमलाई ०१७ सालमा राजाले गरेको ‘कु’ सँग तुलना गरिन् । ‘राजाले ‘कु’ नगरेको भए हामीले ६० वर्ष पहिले नै विकास र संमृद्धिको यात्रा तय गरिसकेका हुन्थ्यौँ, त्यहीकारण आजपनि हामी समस्याको दलदलमा फसेका छौँ, तर अहिले पनि राजा महेन्द्रको जस्तो मानसिकता भएको शासकका कारण दुःख पाइरहेका छौँ,’ उनले भनिन् ।

‘यदि कसैले संविधान र लोकतन्त्रमाथि प्रहार गर्छ भने कांग्रेस चुप लागेर बस्दैन । हिजो राणाहरुसँग नहारेको कांग्रेस, आजको सर्वसत्तावाद र संविधानविरोधी कदमका अघि कदापि झुक्न सक्दैन, हामी झुक्दैनौँ,’ नेतृ गुरुङले थपिन् ।

उनले लोकतन्त्रको चीरहरण गर्ने दिवा सपना कसैले पनि नदेख्न चुनौती दिइन् । ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, यसको अर्को विकल्प छैन । यदि कसैले लोकतन्त्रको चीर हरण गर्ने कल्पना गरेको छ भने म चेतावनी दिन चाहान्छु, त्यो दिवा सपना मात्र हो,’ उनले भनिन् ।

‘सरकारले संविधान मिच्यो, विधि पद्धति मानेन, जनताले प्रतिपक्षीका रुपमा चुनेको कांग्रेसले निरन्तर खबरदारी ग¥यौँ, संविधान मिच्ने काम भयो भने मुकदर्शक बनेर बस्दैनौँ भनिरह्यौँ, तर त्यति भन्दा भन्दै पनि प्रधानमन्त्री ओलीले संविधानको मर्म र भावनाविपरीत संसद विघटन गर्नुभएको छ, संवैधानिक परिषद्मा अध्यादेश ल्याएर निरंकुश र अलोकतान्त्रिक शैलीबाट संवैधानिक निकायमा राजनीतिकरण गर्ने प्रयास भएको छ,’ गुरुङले भनिन्, ‘कांग्रेस यसको रमिते भएर बस्दैन, संविधान, लोकतन्त्र र जनताको अधिकार रक्षाका निमित्त फेरि सडकमा उत्रिन्छ, म सबै लोकतन्त्रवादीहरुलाई सडक संघर्षका निम्ति आग्रह गर्दछु ।’

नेतृ गुरुङले कोरोना महामारीका बेला समेत स्थानीय तहदेखि केन्द्रसम्म नेकपा नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त बनेको बताइन् ।

‘बलात्कारपछि हत्या भएका निर्मला पन्तहरुले न्याय पाएका छैनन् । किसानले समयमा मल पाउँदैनन् । बिरामीले उप

चार पाएका छैनन् । दण्डहीनता मौलाएको छ । जताजतै अनियमितता छ । के जनताले नेकपालाई दुई तिहाई मत दिएको यसकै लागि हो ?,’ उनले प्रश्न गरेकी छिन् ।

म्याङलुङमा भएको कार्यक्रममा पुर्वसांसद तुलसी सुब्बा, जिल्ला सभापति गोविन्द ढुंगाना लगायत नेताहरु सम्बोधन गरेका थिए ।

 

तपाईको प्रतिक्रिया