रसुवा । रसुवामा प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धन विजयी भएका छन् । प्रतिनिधिसभा तर्फ कांग्रेसबाट मोहन आचार्य, प्रदेश सभा ‘क’ बाट काग्रेसकै प्रभात लामा र प्रदेशसभा ‘ख’ बाट नयाँ शक्ति पार्टीका प्रेम तामाङ विजयी भए ।

आचार्यले प्रतिद्धन्द्धी जनार्दन ढकाललाई चार हजार एक सय ७५ मतले पराजित गरे । उनको १४ हजार चार सय ५३ मत र ढकालको १० हजार दुई सय ७८ मत आएको छ ।

प्रदेशसभा ‘क’ तर्फ पनि एमालेका कर्णेल लामालाई एक हजार ८ सय २४ मतले पराजित गर्दै कांग्रेसका प्रभात लामा विजयी भए । उनको ६ हजार ९ सय ७६ र एमालेका लामाको ५ हजार एक सय ५२ मत रहेको छ ।

त्यसैगरी, प्रदेशसभा ‘ख’ तर्फबाट नयाँ शक्ति पार्टीका प्रेम तामाङ एक हजार तीन सय ४८ मतको साथ विजयी भए । नयाँ शक्तिको तामाङको ७ हजार ४० र उनको प्रतिद्धन्दी माओवादीका उम्मेदवार इन्द्र गौतम जगतजंगको ५ हजार ६ सय ९२ मत छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बिजयी भएसँगै विजय उत्सव मनाएका छन् । निकटतम प्रतिद्धन्दी टिमले विजयी टिमलाई भेटेर बधाई दिएका छन् ।

दुई हजार मत बदर

रसुवामा प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई हजार मत बदर भएको छ । प्रतिनिधिसभा तर्फ एक हजार एक सय ४५ मत बदर भएको छ । यस्तै प्रदेशसभा क तर्फ ४ सय ५० र प्रदेश सभा ‘ख’ तर्फमा ४ सय ५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रसुवाका मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले बताए । एउटै मात्र चिन्ह लगाउनुपर्नेमा दुई वटा चिन्ह प्रयोग, हेरा भन्दा बाहिर छाप लगाएको लगायतलाई बदर मत मानिएको छ । यस्तै रसुवामा प्रतिनिधि सभा सदस्य तर्फ २६ हजार ८७ खसेको छ । भने प्रदेश सभा ‘क’ तर्फ १३ हजार दुई सय ५३ र प्रदेश सभा ‘ख’ मा १३ हजार तीन सय ५३ मत खसेको मुख्य निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

मोहन आचार्य को हुन् ?

प्रतिनिधि सभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मोहन आचार्यको जन्म २०३३ साल चैत्र २९ गते उत्तरगया गाँउपालिका ५ लहरेपौवामा भएको थियो । बुबा अनन्त प्रसाद आचार्य तथा मुमा इश्वरी देवी आचार्यको कान्छा छोरा हुन् । प्रारम्भिक शिक्षा काठमाण्डौको सिदार्थ बनस्थली स्कूलबाट सुरुवात गरेका आचार्यले भारतको देहरादुन बाट माध्यमिक शिक्षा हासिल गरेका छन् ।

फिलिपिन्सबाट ब्याचरल अफ सिभिल इन्जिनियरिङ शिक्षा हासिल गरेका मोहन आचार्य नेपालमा लामो समय देखि निमार्ण व्यवसायमा संलग्न भएका आचार्य को लगानी अहिले औषधि उधोग र जलविधुत क्षेत्र रहेको छ । उनले २०४६ सालबाट कांग्रेसको साधारण सदस्य बनि राजनितिक जिवन सुरुवात गरेका हुन् । उनी हाल कांग्रेसको महाधिबेसन समितिको निर्वाचित सदस्य रहेका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट रसुवामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारीको टिकट पाएका आचार्य समाजिक कार्यमा भने निकै अघिदेखि लागेको पाइन्छ । जिल्लामा सञ्चालित जलविद्युत आयोजनमा सुधार गर्दै नेपाल र चीनको एक मात्र व्यापारिक नाका रसुवागढीलाई व्यवस्थित बनाउदै अधुरा सडक, खानेपानी,बिद्यालय निर्माणलाइ मुख्य प्राथमिकतामा राखेको बताए ।

रसुवाली मतदाताको आवश्यक्ताको आधारमा पर्यटन क्षेत्रको विकास, जडीबुटी प्रसोधन साथै जिल्लामा स्वास्थ्य सेवाको विस्तार, कृषिमा आधुनिकरण र औद्योगिक क्षेत्रको विकास गरी रोजगारीको सृजना गर्ने आचार्यकोे प्रर्तिबद्धता छ ।

तपाईको प्रतिक्रिया