इलाम । इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ बाट विजयी बनेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भूपेन्द्र कट्टेललाई भारी मतान्तरले हराउँदै विजयी बनेका हुन् । खनाल ३६ हजार ८०७ मत ल्याएर विजयी भएका हुन् भने उनका नजिकका प्रतिष्पर्धी नेपाली काँग्रेसका कट्टेलले १९ हजार ६२७ मत ल्याएका छन् । त्यस्तै प्रतिनिधिसभा–२ मा एमाले स्थायी समिति सदस्य तथा पूर्वसभामुख सुवास नेम्वाङ विजयी बनेका छन्। उनले ३६ हजार ५१४ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव थापाले २६ हजार ८ सय ६० प्राप्त गरे ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ का दुवै प्रदेशमा एमालेका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नं १ (क) बाट खिनु लङ्वा लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। आज बिहान भएको अन्तिम मतपरिणामअनुसार लिम्बूले १८ हजार ६८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी काँग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याएका छन्।
इलाम क्षेत्र नं १ (ख) बाट एमालेका काजीमान कागाते प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । अहिले बिहान ४ बजे भएको मतपरिणामअनुसार कागातेले १७ हजार ९८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दुर्गा बरालले १० हजार २१ मत प्राप्त गरेका छन् ।
त्यस्तै निर्वाचन क्षेत्र नं २ (क)मा एमालेका राम राना विजयी बनेका छन् । उनले १८ हजार ३१३ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी काँग्रेसका डम्बर खड्काले १५ हजार १०४ मत प्राप्त गरेका छन् । २ (ख) मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका धीरेन्द्र शर्मा विजयी बनेका छन् । उनले नौ हजार र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका खगेन्द्र देवानले छ हजार ८१५ मत प्राप्त गरेका छन ।