भीम माबुहाङ

तालिमको शिलशिलामा केही वर्ष अगाडि अष्ट्रेलिया जाने साइत निस्कियो ।

लगभग अपरान्ह १ बजे तिर हामी पश्चिम अष्ट्रेलियाको मुख्य शहर पर्थको अन्तर्राष्ट्रिय विमान स्थलमा अवतरण भयौं । गोर्खाली प्रशिक्षणको लागि अष्टे्रलिया आएका हुन् भन्ने कुरा अध्यागमनमा जानकारी भएपछि हामीलाई खासै सोधखोज नगरिकन फटा-फट पासपोर्टमा तोक लगाएर नजिकैको ढोकाबाट वाहिर जाने अनुमति दिए ।
तर, एउटा अनौठो कुरा के रह्यो भने त्यहाँका कर्मचारीहरुले हाम्रो जुताको पछाडीपट्टि सोल फर्काउन लगाई धुलो माटो केहि टाँसिएको होलाकी भनेर राम्ररी चेक जाँच गरे ।

यस्तो उनीहरुको सुरक्षा जाँच प्रति मलाई निकै आश्चर्य लाग्यो । मैले हाम्रो सम्पर्क अधिकृतलाई यसबारे जिज्ञासा राखे । उहाँले भनेअनुसार अष्टे्रलियनहरु आफनो देश, माटो र पर्यावरणलाई असाध्यै माया गर्दछन्, त्यसैले अर्काको देश र महादेशहरुको एउटा सानो माटोको कणसम्म पनि अष्ट्रेलियाको भुगोलमा परेर त्यहाँको प्रकृतिलाई असर पार्न दिदैनन् । आफनो भुगोल र प्रकृति प्रतिको यस्तो गहिरो माया र प्रगाढ़ प्रेम सायद संसारका कमै मानिसहरुसंग होला ।

अध्यागमन बाहिर निस्कने बित्तिकै जाडोले झ्याम्मै थप्पड़ हान्यो । सिंगापुरको गर्मी मौषममा बस्ने बानी परेको ज्यानलाई त्यहाँको चिसोले सेकाउँदा मुटुलाई शरीरमा रक्तसंचार गर्न निकै हम्मे परेको महसुस भयो ।

भु-मध्यरेखाबाट दक्षिण गोलार्धमा पर्ने माहादेश वा देश भएकाले हाम्रो जस्तो उत्तरी गोलार्धमा पर्ने देशहरुसंगको हावापानी भन्दा ठ्याक्कै उल्टो हुँदो रहेछ । जेठ-असार भनेको त्यहाँको विशाल जाडो हुने महिनाहरु रहेछन् । उतिखेर हाम्रो देशहरुमा उच्च गर्मी हुने गर्छ ।

हामी निर्धारित कार्यतालिका अनुसार मुख्य शहर पर्थ बाट उत्तर पुर्वमा पर्ने विन्दुन् भन्ने सैन प्रशिक्षण क्याम्प तिर हुईकियौं । त्यो ठाउँ मुलतः अन्तर्राष्ट्र्रिय विशिष्ट सुरक्षाकर्मीहरुले तालिम गर्ने ठुलो सैन्य तालिम अखडा जस्तो रहेछ ।

विकशित देशहरुले आफ्ना सैनिक वा सुरक्षाकर्मीहरुलाई जस्तो सुकै नयाँ धरातल, मौषम, हावापानी र पर्यावरणमा पनि चलयमान हुन सकुन् भन्ने हेतुले यो ठाउँमा तालिमको लागि पठाउँदा रहेछन् । यस्ता तालिम केन्द्रहरु चलाए वापत त्यस्को भाडा तिर्नु पर्ने हुने भएको ले यी सैन्य प्रशिक्षण केन्द्रहरु पनि देशको आम्दानीको स्रोतको रुपमा विकास भएका रहेछन् ।

यात्रालाई गन्तव्य तिर धकेल्दै गर्दा, बाटोमा ठुला ठुला फलफुलका बंगैचाहरु आँखामा ठोकिन्थे । क्षितिजसंग जोडिए झँै देखिन्ने विशाल, फराकिला र चिल्लो रोडहरुमा हाम्रो कोच बस एक सय विसको रफ्तारमा अगाडी बढ्न थाल्यो । सडकका दाँया-बाँया प्रायजसो फलफुल गौं, जौँ, गाई वस्तु, भेडा बाख्रा र मृगका पालनका विराट फार्महरु देखिन्थे ।

रोचक कुरा मृगको मासु वजारमा तीन किलो किन्दा साठी डलर जति पर्न जान्थ्यो भने मृग फार्ममा एउटा बढेमानको मृगलाई किन्दा जम्मा सत्तरी डलर जति पथ्र्यो । अझ तिनवटा मृग किन्यो भने त घरि घरी एउटा सिंगै ‘मृग फ्रि’ मा पनि पाईन्थ्यो । अष्ट्रेलियामा महँगो श्रमिकको ज्याला हुनको कारण यस्तो भएको रहेछ भन्ने कुरा थाहा भयो ।

समथर भूभाग, प्रशस्त र मलिलो जग्गा भएकोले कृषिजन्य कुराहरुको उत्पादन मनग्ये हुने रहेछ । कुनै कुनै ठाउँमा विशाल गौं र जौ को खेतमा सानो हेलिकप्टर बाट मल हाल्दै गरेको र आधुनिक यन्त्रको प्रयोग गरेर फलफुल सुन्तला र स्ट्रवेरिहरु टिपेरहेका देख्दा, कृषिमा क्रान्ति वा आधुनिकरण भनेर नेपालको नेताले घोक्रो सुकिन्जेल खोक्रो भाषण गरेको कुराहरु यी नै होलान् जस्तो लाग्थ्यो ।

कुनैपनि देश वा भूगोललाई प्रकृतिले राम्रो नराम्रो दुई वटै कुरा प्याकेजमा दिन्छ भने झैँ अष्ट्रेलियालाई खनिज स्रोत र साधनको साथै कृषियोग्य जमिनहरु प्रसस्त वर्दान दिए पनि यो पश्चिम अष्ट्रेलिया लाई पिउने पानिको सम्दर्भमा भने बहुत ठगेको रहेछ । प्रायजसो हामी गएको क्षेत्रमा मानिसहरु आकाशे पानीमा निर्भर हुनुको विकल्प थिएन ।

त्यही पानीको अभावले गर्दा पश्चिम अष्ट्रेलियामा आदिवासी एवोर्जिनीहरुको वसोवास त्यो ईलाकामा सितीमीती नपाइदो रहेछ । खानेपानीको लागि ठुला ठुला सयौं फुटबल प्राङ्गणहरु जस्ता वालुवा ओछ्याएको अनि त्यसको मुनि भूमिगत पानीको ट्यांकी निर्माण गरी आकाशे पानी जम्मा गरेर प्रशोधन गरी पिउने पानी तयार पार्दा रहेछन् ।

गाडी अथवा लुगा धुने ठाउँतिर मुनि मैला पानी संकलन हुने ट्याङ्की अनि फेरि त्यही पानी प्रशोधन गरेर निरन्तर त्यही पानी प्रसारित भइरहने प्रणाली जडान गरेका हुँदा रहेछन् ।

त्यस्तै गरि अष्ट्रेलियालाई जहिले सताई रहने अर्को प्राकृतिक प्रकोप भनेको ‘बुस फाएर’ अर्थात् वन डढेलो हो । विशेष गरि चट्टान पर्दा उत्पन्न हुने आगोको झिल्काद्वारा हुने आगलागीबाट वार्षिक रुपमा धेरै धन जन र जीव जन्तुहरुको नष्ट गर्दछ । कहिले काँही सुकेका झारहरु हावाले हल्लाउँदा एक अर्कामा रगड़िएर वा वन्यजन्तुहरु द्रुत गतिमा दौडँदा उनीहरुको खुट्टाका खुरमा मसिना चट्टानहरु ठोक्किएर आगोको झिल्का निस्की आगलागी हुन्छ भनेर त्यहाँका स्थानीयबासीले भनिरहेका थिए ।

सन् २०१९ अन्त्य तिर बाट सुरु भई २०२० सालको जनवरी सम्म लागेको आगोले अष्ट्रलियाको ईतिहासकै ठुलो क्षति गरेको थियो । यहाँको सरकारले जस्तो सुकै उपाय र रणनीतिहरु रचेता पनि यसको सामधान गर्ने सन्तोषजनक उपाय भने अझसम्म पाउन सकेको छैन ।

तालीमको तनाव र धपेडिहरु बाट मनलाई शितल पार्न हामीलाई हिन्द महासागरको तटमा डुलाउन लगिएको थीयो। त्यो महासागरको छेउमा उभिएर चीसो हावा लाई स्पर्श गर्दा लगभग तिस बर्ष अगाडी, श्रीमान स्मारक स्कुल पढदा चक्र सर ले कान तान्दै माहासागरहरुको नाम घोटाएको कुरा दिमागमा क्लिक भयो।

यो एउटा सन्जोग भन्नु पर्ला सानो छंदा भूगोल पुस्तकमा पढेको कुरा प्रत्यछ देख्न पाईयो। चाँदि झै टल्कने वालुवाका तटमा लडिबडि खेल्दा असिम आनन्द आयो । समुन्द्रको छाल माथि कुदिरहेका नाउ साथै बार्ह पन्ध्र तले पानी जहाजहरु सयर गरिरहेका यात्रीहरुलाई देख्दा अर्कै लोकमा पुगे झै महसुस हुन्थ्यो।

तपाईको प्रतिक्रिया