विनय सापकोटा,

इलाम । आजभोलि चल्तीमा छ इलामको पानीटार। कारण हो, त्यहाँको सुन्दर चियाबगान।

त्यसै पनि चियाका लागि प्रसिद्ध इलाममा पानीटार पछिल्लो समय थपिएको नयाँ गन्तव्य हो। नयाँ गन्तव्य यस अर्थमा कि यहाँ मानिसको भीडभाड सुरु हुन थालेको धेरै भएको छैन।

नेपालटार–मंगलबारे सडक खण्ड कालोपत्रे भएपछि मात्र पानीटारमा मानिसको भीडभाड सुरु भएको देउमाई नगरपालिका वाडा नम्बर ४ का अध्यक्ष दावा तामाङ बनाउँछन्।

हुनत जितपुरको यो डाँडामा चिया उत्पादन सुरु भएको ३५ वर्ष पुगिसक्यो। ०३९ सालबाट उत्पादन सुरु भएपछि यहाँका साना डाँडाहरु चियाका बुट्टाले ढाकिन थाले। अहिले यहाँका साना–साना थुम्का कन्यामभन्दा राम्रो देखिने पर्यटक बताउँछन्।

तग्द ७८ र घुम्ती जातका चिया अत्यधिक मात्रामा लगाइएका छन्। यी चियाको बासना मिठो अनि पात चिल्लो हुन्छ। वडाध्यक्ष तामाङ नेपाल समयसँगको कुराकानीमा भन्छन, ‘यी दुईबाहेक अलेली मात्रामा फुफ्छिरिङ, बेनगोन जातका चिया पनि देख्न पाइन्छ। चिया नचिन्ने मानिसहरुलाई त यसको जातबारे यादै हुँदैन। चियाकै काम गर्नेहरुलाई भने जातको भिन्नताले खुब महत्व राख्छ।’

तर यहाँ गएर फोटो खिच्न थालेपछि चियाको त्यो भिन्नता कहाँ दिमागमा आउँछ र ? नेपालटार यात्राका क्रममा एकजना आन्तरिक पर्यटकले पानीटारको बयान गर्दै भने, ‘त्यहाँ जाने हो भने मोवाइलको मेमोरी फुल नभइ मानिस फर्कंदैन।’

पानीटारको कथा

तत्कालिन राजा श्री ५ वीरेन्द्र विरविक्रम शाहले हवाईजहाजबाट पूर्वाञ्चल भ्रमण गरेका रहेछन्। पञ्चायतकालको त्यो समयमा पानीटारका डाँडाहरु खाली चौरमात्र थिए। हवाईजहाजबाट हेर्दा यो ठाउँमा चिया रोप्दा राम्रो हुन्छ भनेर राजा वीरेन्द्रको मनमा लागेछ।

त्यसपछि चिया विकास बोर्डका अधिकारी आएर पानीटारका डाँडाहरु अवलोकन गरे। बोर्डले योजनाबद्ध रुपमा २०३९ सालबाट चिया रोप्ने कार्य थाल्यो।

नेपाल चिया विकास बोर्डले त्यो समयमा सुरु गरेको बगानको विकसित रुप नै आजको चिया बगान हो। अहिले चिया तथा कफी विकास बोर्ड अन्तर्गत १९६ रोपनी जग्गामा सरकारी चिया छ।

सरकारी जग्गाको चियाले मात्र पानीटारको बगान भरिएको भने होइन। ०५० को दशकको सुरुमा स्थानीयले व्यावसायिक रुपमै चिया कम्पनी दर्ता गराए– पुवामाई चिया प्राइभेट लिमिटेड। त्यपछि चियाबगानको गति बढ्यो।

‘त्यतिबेला कम्पनी दर्ता गरेर जमिन खरिद गर्ने काम गर्यौँ। त्यही सालमा नर्सरी पनि सुरु गर्यौँ। ०५२ सालदेखि हामीले चियाको रोपण सुरु गरेका हौं,’ वडाध्यक्ष तामाङ भन्छन्।

गाउँलेले कम्पनी दर्ता गर्दा नेपालमा माओवादी द्वन्द्व सुरु हुँदै थियो। उद्यमीहरु चन्दाको मारमा पर्दै थिए। तर पुवामाई चियाा कम्पनी भर्खरै मात्र उदाउँदो भएकाले द्वन्द्वकालको ठूलो मार खप्नु परेन।

आम्दानी थिएन त्यो हुनाले वाधा व्यवधान पनि भएन। ०५८–०५९ सालबाट सामान्य आम्दानी हुन थाले पनि ठूलो आम्दानी थिएन। ०३९ सालमा लगाइएको चियाले पहिल्यैबाट सरकारी आम्दानी सुरु गरेको भए पनि यो ठूलो क्षेत्रमा थिएन। कम्पनीको ०६१ सालदेखि आम्दानी बढ्यो। आज यही कम्पनीको चिया ४५० रोपनी जग्गामा फैलिएको छ।

‘साढे चार सय रोपनी जग्गामा कम्पनीको चियाबगान छ। त्यसबाहेक जितपुर यताको व्यतिmगत समेत गरी करिब १५ सय रोपनीमा यो देखिएको चियाबगान छ,’ वडाध्यक्षले आफूअघिको बगान देखाउँदै भने, ‘गाग्रे भञ्ज्याङबाट जितपुरसम्म चाहिँ २२ सय रोपनीमा चिया छ।’

पुवामाई कम्पनीको चिया बगान भए पनि आफ्नै फ्याक्ट्रिी भने छैन। यहाँको चिया जितपुर र पानीटारको ब्रदर टी अर्थोडक्सले प्रशोधन गर्छ। साथै केही हरियो पत्ति अन्य फ्याक्ट्रीमा पनि जाने गरेको वडाध्यक्ष तामाङ बताउँछन्।

यहाँ उत्पादन भएको चिया जर्मनी, जापानका साथै छिमेकी मुलुक भारतमा जान्छ। आर्थिक रुपले मात्र होइन, पानीटार बगान दृष्यावलोकनका दृष्टिले पनि समृद्ध बन्दै गएको छ। ७–८ वर्ष अघिबाट गाउँमा आएका मानिसहरु चियाबारीमा घुम्न आउन थाले। त्यसबाट स्थानीय तहमा केही प्रचार भयो।

‘चार वर्षअघि हामीले पानीटार पर्यटन प्रवर्धन विकास समिति भनेर गठन गर्यौँ। स्थानीय तहमा र सामाजिक सञ्जालमा प्रचार गर्न यो समितिले पनि सहयोग पुग्यो,’ उनले भने, ‘हिँड्नको लागि सिँढीको व्यवस्था गरियो। होमस्टेको व्यवस्था भयो। अहिले त पानीटार एउटा ब्राण्ड नै बनिसकेको छ।’

यसका लागि सबैभन्दा ठूलो सहयोग मंगलबारे–नेपालटार सडकले गरेको छ। तीन वर्षअघि बाटो कालोपत्रे भएपछि मात्र यहाँ पर्यटकको संख्या बढेको हो।

‘पहिले त बाटो ग्रावेल पनि थिएन। बाटो बनेपछि चाहिँ पर्यटक आगमन राम्रो छ। शनिबार त ठूलो भीडभाड हुन्छ। अरुबार पनि मानिसको राम्रै उपस्थिति देख्न पाइन्छ,’ तामाङले भने।

पानीटार एरिया १५ सय रोपनीमा भए पनि त्यसवरिपरिको जंगल साढे चार सय रोपनीमा फैलिएको छ। यो सामुदायिक वन हो। वनको धुपीसल्लाले बगानको शोभा अझै बढाएको छ।

यहाँ पर्यटन प्रवद्र्धनका लागि वनमा चिल्ड्रेन पार्क र पोखरी बनाउने देउमाई नगरपालिकाको योजना छ। साथै भ्यू प्वाइन्टका लागि डाँडामा आराम गर्ने ठाउँ पनि बनाउँदै गरेको अध्यक्ष तामाङ बताउँछन्।

भन्छन्, ‘होमस्टेका लागि हामी व्यवस्था गर्दैछौं। चिया रिसर्चका लागि आएका ४० भन्दा धेरै मानिसलाई लामो समयसम्म होमस्टेको सुविधा प्रदान गरिसकेका पनि छौं।’

पर्यटकीय क्षेत्र वरिपरि अहिले नयाँ संरचना पनि बन्दै छन्। यसकारण अझै धेरै पाहुना सत्कार गर्न सक्ने उनको विश्वास छ। चियाबगानको क्षेत्र पनि विस्तार हुँदैछ। पूर्वी क्षेत्रमा पिकनिक स्पट पनि छ। ‘पिकनिकका लागि १२–१५ वटा ग्रुप आउँदा अप्ठ्यारो नपर्नेगरी चर्पीको व्यवस्था गरेका छौं,’ वडाध्यक्षले भने।
अब गाग्रे भञ्ज्याङ–चिसापानीको बाटो बनिसकेपछि मानिसको भीड ठूलो हुनेमा दुईमत छैन।

कसरी पुग्ने ?

इलामबाट सार्वजनिक सवारीमा तीन सय भाडा तिरेपछि पानीटार पुग्न सकिन्छ। बजारबाट जितपुर, सिद्धिथुम्का वा मंगलबारे जाने गाडीमा चढेर गए पनि भयो। नभए मेची राजमार्गको नेपालटार बजारबाट टेम्पो लिएर गए धेरै समय लाग्दैन।

बाटोमा देखिएका चियाको चासचुस बगान फोटो र भिडियोमा कैद गरौँगरौँ लागिरहन्छ। यसले बाटो कटेको पत्तै पाइँदैन। साथै बाटो खराब होला भन्ने चिन्ता पनि तीन वर्षयता हराएको छ। मंगरबारेसम्मको कालोपत्रे बाटोले यो ठाउँमा पर्यटकलाई सुविधा बढाएको छ। गाग्रे भञ्ज्याङबाट पैदलै गए पनि १० मिनेटमा पानीटार पुगिन्छ।

चिसापानीबाट गाग्रे भज्याङसम्म पुग्ने बाटोको लागि प्रदेश सरकारले ठेक्का दिइसकेको छ र काम सुरु हुने प्रकृयामा छ। सो काम सम्पन्न भएपछि विर्तामोडबाट ६० किलोमिटर मात्र टाढा रहेको क्षेत्र पुग्न सहज हुनेछ।

यो ठाउँ विर्तामोडबाट अर्को प्रसिद्ध क्षेत्र कन्याम जति नै टाढा हो।

तपाईको प्रतिक्रिया