इलाम, मंसिर २४– इलाम क्षेत्र नजम्बर २ मा सुवपासचन्द्र नेम्वाङको विजय यात्राले निरन्तरता पाएको छ । उहाँले कांग्रेसका केशव थापालाई ९ हजार ६ सय ५४ मतले पराजित गर्नुभयो ।

नेम्वाङले ३६ हजार ५ सय १४ मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धि कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत पाउनु भयो । २०६४ सालको चुनावमा पनि थापालाई नै पराजित गर्दै नेम्वाङ सभाषद बन्नु भएको थियो ।

नेम्वाङको राजनीतिक यात्रा

नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङले प्रमुख भूमिका निर्वाह गर्नुभएको छ । २०६४ को पहिलो संविधानसभा र २०७० को दोश्रो संविधानसभामा उहाँ सभामुख निर्वाचित हुनुभयो । उहाँकै कार्यकालमा नेपालमा संविधान घोषणा भयो ।

नेम्वाङको जन्म २००९ सालमा इलामको सुन्तलाबारीमा भएको हो । उहाँका बाबुको नाम रामबहादुर र आमाको नाम अपिन्द्रकुमारी हो । कानुन व्यवसायीसमेत रहेका नेम्बाङ्गको राजनीतिक पृष्ठभूमि पनि लामो छ । कानून र मानविकी संकायमा स्नातक गरेका सुवासचन्द्र नेम्बाङ पञ्चायतकालमा वकालतमा छुट्टै र चर्चित नाम थियो ।

नेम्वाङ्ग २०२८ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामको प्रथम निर्वाचित स्ववियु सभापति हुनुहुन्थ्यो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल पर्नुभएको थियो ।

उहाँ २०४३ सालमा नेपाल बार एशोसिएशनको महासचिव हुनुभयो । २०५१ सालमा पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीको नौ महिने सरकारमा नेम्वाङ कानून तथा न्याय मन्त्री हुनुहुन्थ्यो । त्यसपछिका सरकारमा उहाँले सामान्य प्रशासन, स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रजातन्त्रको स्थापनापछि भएका सबै चुनावमा उहाँ ईलाम क्षेत्र नम्वर २ बाट विजयी हुनुभएको छ । २०४८ सालमा प्रतिनिधिसभा चुनाव जितेका नेम्बाङ २०५६ सालको संसदीय चुनावपछि सार्वजनिक लेखा समितिको संयोजक हुनुभएको थियो ।

पहिलो संविधानसभा चुनावमा उहाँले नेपाली कांग्रेसका केशव थापालाई पराजित गर्नुभयो । दोश्रो संविधानसभा चुनावमा पनि उहाँ यही क्षेत्रबाट विजयी हुनुभयो ।

तपाईको प्रतिक्रिया