तेह्रथुम, २३ मंसिर । तेह्रथुममा जारी मतगणना अनुसार नेकपा एमालेका भवानीप्रसाद खापुङले निरन्तर अग्रता लिनुभएको छ । वाम गठबन्धनका लागि नेकपा एमाले तेह्रथुमबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ तेश्रो पटक उम्मेदवार बन्नुभएका खापुङले १५ हजार ७ सय २ मत गणना हुँदा १ हजार ५ सय ९८ को मतान्तर बनाउनुभएको छ ।

उहाँले ७ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले ६ हजार ३ सय ४४ मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभातर्फ लोकतान्त्रिक राष्ट्रिय मन्चका शंकरमान लिम्बुले ३ सय ३१, नेकपा मालेका डिल्लीबहादुर बुढाथोकीले ७६, नयाँ शक्ति पार्टीका टंकबहादुर भट्टराईले ६९, संघीय समाजवादी फोरमका तुलसी अधिकारी ६८, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङले २१, राप्रपा राष्ट्रवादीका गौरीप्रसाद कन्दङवा २१, राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मी २०, मंगोल नेशनल अर्गनाइजेसनका गंगाबहादुर चोङवाङ १४ र राष्ट्रिय जनमोर्चाका हरिलाल अधिकारीले १४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा एक तर्फ नेकपा एमालेका लक्ष्मण तिवारीले १ हजार १ सय ३३ मतको अग्रता लिनुभएको छ । उहाँले ५ हजार २ सय ५९ मतसहित अग्रता निरन्तर बढाउँदै लानुभएको हो । नेपाली कांग्रेसका जिल्ला सभापति गोविन्द ढुंगानाले ४ हजार १ सय २६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेश सभा दुई तर्फ नेकपा एमालेका तेजमान कन्दङवाले ३ हजार ७ सय ४७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका विजय सम्बाहाम्फेले २ हजार २ सय ६९ मत मात्रै प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया