धादिङ, मंसिर २२ –दोब्बर मत अन्तरले धादिङ जिल्लाको प्रदेशसभाका दुई उम्मेदवार विजयी भएका छन् ।
प्रतिनिधिसभा क्षेत्र न. १ अन्तरगत क मा नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३ सय ३२ मत सहित विजयी भएका छन् । उहाँले नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठको भन्दा १३ हजार ६ सय ८५ मत बढी ल्याएर विजयी हुनुभएको हो ।
६५ हजार ४ सय ५८ मतदाता रहेको यो प्रदेशमा ४३ हजार ५ सय ६४ मत खसेको थियो । एमालेका पोलिटव्यूरो सदस्य पाण्डेलाई प्रदेश सभामा मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ ।
यसैगरी यो क्षेत्रको २ न.ं प्रदेशसभामा वाम गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका शालिकराम जम्मरकट्टेल २३ हजार ३ सय ८२ मत सहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४ सय ७ मत ल्याउनुभएको छ । मतअन्तर १२ हजार ९ सय ७५ रहेको छ । ५२ हजार ६ सय ९२ मतदाता रहेको यो प्रदेशमा ३५ हजार ८ सय ५९ जनाले मतदान गरेका थिए ।
माओवादी केन्द्रको मजदुर फाँटबाट राजनितिमा उदाएका जम्मरकट्टेल यसअघिका चुनावमा पाण्डेसँग कटुतापूर्ण तरिकाले चुनावमा भाग लिंदै आउनुभएको थियो ।
यसपटक मत गणनास्थलमा समेत संगै बसेर मत गणनामा सहभागी भएका थिए भने चुनावी प्रचारको अभियानमा पाण्डेको क्षेत्रमा जम्मरकट्टेल र जम्मरकट्टेलको क्षेत्रमा पाण्डेले एक अर्कालाई भोट मागेर सौहार्दता जनाएका थिए ।