सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएको छ । यस अगाडि खुम्बु क्षेत्रमा पुग्न महंगो हवाई यात्रा र कष्टकर पैदल यात्रा बाहेक अर्को विकल्प थिएन् । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाको सीमानामा पर्ने दुधकोशीको अर्लाङघाटमा पुल निर्माण भएपछि सोलुखुम्बु जिल्लाको माथिल्लो क्षेत्र खुम्बु सडकसञ्जासँग जोडिएको हो ।

सडक सञ्जालले खुम्बुलाई सोलुसँग जोडेपछि खुसी देखिएका माप्य दुधकोशी गाउँपालिका–२,का राम बहादुर राईले बिगत सम्झिदै भने, ‘उहिले यो खेला (दुधकोशी) बाबियोको डोरीमा झुण्डेर पो तर्नु पथ्र्यो त ।’ खुम्बु क्षेत्र सञ्जालसँग जोडिएसंगै विश्वकै चर्चित पर्यटकीय गन्तव्य सगरमाथा प्रवेश सहज भएको बताउँछिन् खुम्बु पासागंल्हामु गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासी ल्हामु शेर्पा ।

उनी भन्छिन, ‘खुम्बु क्षेत्र आउनका लागि लुक्ला, फाप्लु सम्म महंगो भाडा तिरेर जहाज चढ्नुपथ्र्यो । हवाई यात्रा सम्भव नभएमा सल्लेरीसम्म गाडी र त्यसपछि पैदल यात्रा पथ्र्यो । तर, अब भने गाढी चढेरै खुम्बु क्षेत्र पुग्न सकिने भएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्या पनि बढ्नेछन् ।’ खुम्बु क्षेत्रमा वर्षेनि ४० देखि ५० हजार पर्यटक भ्रमण गर्छन् ।

दुधकोशी नदीमा पुल संचालन भएसँगै खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं. १, थामडाँडासम्म सवारी साधन पुग्न थालेका छन् । यही वर्षभित्र खुम्बुको चौरीखर्कसम्म गाडीमार्फत् आवतजावत गर्न सकिने अध्यक्ष शेर्पा बताउँछिन् ।

खुम्बु क्षेत्र सडक सञ्जालसँग जोडिएपछि खुम्बु क्षेत्रमा दैनिक उपभोग्य सामाग्रि र पर्यटकलाई लाग्ने भ्रमण खर्च पनि सस्तो हुने बताउँछन् स्थानीय आङफुर्वा शेर्पा । शेर्पा भन्छन, ‘रोड नहुँदा खाद्यान्न, नुन, तेल जस्ता सप्पै चिज हेलिकप्टर र प्लेनबाट ओसार्दा महंगो हुन्थ्यो । गाडीले ढुवानी गरेपछि त अब सस्तो हुन्छ ।’

हवाई र पैदल यात्राबाट मात्र पुग्न सकिने खुम्बु क्षेत्र सडकसंग जोडिएपछि विदेशी मात्र नभई आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुने विश्वास व्यक्त गर्छन स्थानीय गोम्बु शेर्पा (कज्र्याङ) । यसअघि सडक सञ्जाल नहुँदा लुक्ला र स्याङ्बोचे विमानस्थलको मौसम खराब हुँदा र हिउँ पर्दा हप्तौंसम्म पर्यटकहरू फर्किन सक्दैन थिए ।

खुम्बु क्षेत्र सडक सञ्जालसंग जोडिएपछि मौसम सफा हुने प्रतिक्षा गरेर पर्यटकले लामो समय कुर्नुपर्ने समयको अन्त्य भएको छ । ‘मौसम सफा हुने समय कुर्दा कुर्दा कतिको भिसाको म्याद सकिन्थ्यो । कतिको खर्च सकिन्थ्यो । अब त मौसम सफा भएन भने पनि गाडीबाट सरर आउ जाउ गर्न सकिन्छ,’ स्थानीय गोम्बु शेर्पाले भने ।

सडक मार्ग हुँदै काठमाडौंबाट बीपी राजमार्गबाट ओखलढुंगा, सल्लेरी हुँदै दुधकोशी किनार पुग्न सकिन्छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट ३८ किलोमिटर सडक यात्रा पार गरेपछि ओर्लाङघाट पुगिन्छ । आर्लाङघाटबाट २५ किलोमिटर सडक पार गरेपछि थामडाँडा पुग्न सकिन्छ  । थामडाँडाबाट ५ घण्टाको पैदल यात्रा तय गरेपछि लुक्ला पुग्न सकिन्छ ।

सडक सञ्जालले खुम्बु क्षेत्र मात्र नभई सोलुका सेलिगुढी, खास्ताप, काँकु, राप्छा, ठूलीढुंगा, ओर्लाङघाट अँधेरी, जुभिङ, खरीखोला, बुप्सा लगायतका एक दर्जन बस्तीलाई पनि सडक सञ्जालसंग जोडेको बताउँछन माप्य दूधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई ।

७ करोड २९ लाख ९७ हजार २ सय रुपैयाँ लागतमा निर्माण भएको पुलका लागि सांसद निर्वाचन क्षेत्र विकास कोषबाट १ कोड, प्रदेश सरकारबाट २ करोड र बाँकी बजेट माप्य दूधकोसी र खुम्बु पासाङल्हामु गाउँपालिकाले संयुक्त रूपमा विनियोजन गरेका थिए ।

तपाईको प्रतिक्रिया