काठमाण्डाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई यथाशीघ्र जोखिम भत्ता उपलब्ध गराउन सबै अस्पताललाई निर्देशन दिएको छ ।
मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको परीक्षण र उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्ने गुनासो विभिन्न सञ्चारमाध्यमा आएकाप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ ।
सरकारले कोभिड–१९ को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ अनुसार जोखिममा रही कामकाज गर्ने सबै किसिमका जनशक्तिलाई जोखिम भत्ता वितरण गर्ने भएको थियो । कोभिड–१९ को रोकथाम र उपचारका लागि खटिने स्वास्थ्यकर्मीलाई ५० देखि शतप्रतिशत जोखिम भत्ता उपलब्ध गराउने आदेशमा भनिएको छ ।