काठमाडौं । नेपालको वैदेशिक व्यापारको आकार बर्सेनि बढिरहेको छ। कोरोना महामारी र सकारले लिएको नियन्त्रणकारी नीतिको प्रभावले गत वर्ष व्यापार घट्नुलाई अपवाद मान्ने हो भने प्रत्येक वर्ष औसत १५ प्रतिशतले बढोत्तरी भइरहेको तथ्यांकले देखाउँछ।

अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध र पद्धतिहरूमा तीव्र परिवर्तन आइरहेको छ। आयात-निर्यात प्रक्रियाका लागि कागजी ठेली बोकेर सरोकारका निकाय चाहार्नुपर्ने बाध्यता अब क्रमिक रूपमा अन्त्य हुँदैछ।

भन्सार सुधारका आयाम
भन्सार प्रशासन आधुनिक रूपमा अस्तित्वमा आएको समयलाई आधार मान्दा बितेको साढे आठ दशकमा आयात-निर्यात व्यापारका सरोकारहरू निकै व्यवस्थित भएका छन्। विदेशबाट भित्रिएको मालसामानमा राजस्व असुल्ने संयन्त्र ‘बजार अड्डा’ हुँदै भन्सार प्रशासनले आधुनिक प्रविधि अपनाउँदासम्मको समयान्तरमा व्यापारका पाटाहरू निकै सहज बनिसकेका छन्।

विश्व व्यापारको बदलिँदो परिवेशलाई अंगीकार गर्ने र नवीन प्रविधि अपनाउने सन्दर्भमा थुप्रै काम भएको देखिन्छ। तथापि, प्रवृत्तिका विराधाभासहरूले अझै प्रविधिको पूर्ण उपयोग हुन सकेको छैन। यस्ता असामञ्जस्यको समाधान गर्दै पूर्ण प्रविधिमा आधारित व्यापार अबको प्रमुख कार्यभार हो।

भन्सार विभागका अनुसार बिसं १९९१ मा भन्सारका एकीकृत सनदहरू जारी भएपछि मात्रै आधुनिक भन्सार प्रणालीको सुरुआत भएको हो । भन्सार जाँचपास प्रक्रियाका लागि ०१० सालमा पहिलोपटक प्रज्ञापनपत्रको शुरुवात भएको हो।

केही वर्ष अघिसम्म प्रज्ञापनपत्र भर्न भन्सार कार्यालयमा भीड लाग्ने गरेकोमा अहिले व्यवसायीहरू आफ्नै घर-घरमा बसेर अनलाइनबाटै प्रक्रिया बढाउने भएका छन्। यो सुधार एकैपटक सम्भव भएको होइन। प्रज्ञापनपत्रको प्रक्रियामा क्रमिक सुधार हुँदै यो अवस्थामा पुग्न ६ दशकभन्दा लामो समय लागेको छ।

भन्सार सुधारका लागि ०७२ सालमा आसिकुडा वर्ल्ड लागू भएपछि अनलाइनबाटै काम हुन थालेको हो। ‘अहिले भन्सार जाँचपासमा अन्य निकायबाट आउने कागजातबाहेक भन्सारका सबै प्रक्रिया अनलाइनबाटै पूरा हुन्छन्,’ आयात-निर्यात कारोबारका हिसाबले मुख्य भन्सार मानिएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनी भन्छन्।

तजबिजी अधिकार कटौति गर्दै स्वचालन र वैदेशिक व्यापारमा अन्तर्राष्ट्रिय अभ्यास अवलम्बनका लागि भन्सारले ०५५ सालमा पहिलोपटक स्वचालित आसिकुडा प्रणाली अपनाएको हो। ०५६ सालमा स्वघोषणा प्रणाली लागू भयो।

अनलाइन प्रणालीअन्तर्गत ०६४ सालमा आसिकुडा प्लस प्लस प्रयोगमा ल्याइएको थियो। यो प्रणालीमा भन्सारपिच्छेका बेग्लाबेग्लै सर्भरको झन्झट हटाउन ०७२ सालमा आसिकुडा वर्ल्ड लागू भयो।

आसिकुडामा राखिएको प्रज्ञापनपत्र केन्द्रीय सर्भरमा दाखिला हुन्छ। अहिले भारतीय सीमामा २४, दुईवटा विमानस्थल र चीनतर्फ नौ गरी ३५ मुख्य र एक सय ३५ वटा छोटी भन्सार छन्। भन्सार विभागले यीमध्ये २४ भन्सार कार्यालयको कामकारबाहीमा आसिकुडा प्रणालीमार्फत सूक्ष्म निगरानी राख्न सक्छ।

स्वचालित प्रणालीअघि मालबस्तुको जाँचपासका सम्पूर्ण प्रक्रियामा कागजी काम हुन्थ्यो। ‘अहिले एकाधबाहेक सबै प्रक्रिया अनलाइनबाटै हुन्छ। यसले भन्सार प्रक्रियालाई प्रभावकारी र पारदर्शी बनाउन मद्दत पुगेको छ,’ वीरगञ्ज भन्सार एजेन्ट संघका सहसचिव भानु अधिकारी भन्छन्। बस्तुको घोषणादेखि राजस्व भुक्तानीसमेत अनलाइनबाटै हुन थालेपछि समय र लागत बचत भएको सहसचिव अधिकारी बताउँछन्। प्रविधिले अहिले भन्सारलाई ‘क्यासलेस’ कार्यालय बनाइदिएको छ।

आयात-निर्यातमा देखिएका बेथिति समाधानका लागि केही वर्षअघि लागू गरिएको आयात-निर्यात संकेत (एक्जिम कोड) लाई यसै वर्षदेखि अनलाइन गरिएको छ। अनलाइनबाटै चरणबद्ध रूपमा जानकारी र कागजात अपलोड गरेपछि स्वचालित प्रविधिबाटै जाँच अधिकृत, जाँचकी र मूल्यांकन अधिकारीदेखि बस्तुको लेनसमेत निर्धारण हुन्छ।

ग्रिन लेनमा परेका मालसामानको प्रज्ञापनपत्रमा हस्ताक्षर मात्र भए पुग्छ। पहेलो लेनमा कागजात जाँच गर्नुपर्छ। रातो लेनमा परेका बस्तुको भने कागज मात्र हेरेर पुग्दैन, जाँच अधिकारीले मालसामानको भौतिक जाँच गरेर छोड्नुपर्छ।

अब एकद्वार प्रणाली
भन्सार प्रशासन अब पूर्ण स्वचालित प्रणालीमार्फत व्यापार सहजीकरण, राजस्व संकलनमा दक्षता अभिवृद्धि र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित भएको छ। वैदेशिक व्यापारलाई पूर्ण स्वचालित प्रणालीमा लगिने भएको छ।

आयात-निर्यात कारोबारलाई पारदर्शी र प्रभावकारी बनाउन भन्सार विभागले पूर्ण स्वचालित एकद्वार प्रणाली लागू गर्न लागेको हो। ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’मार्फत वैदेशिक व्यापारसँग सरोकार राख्ने ४० निकाय र पक्षलाई आपसमा जोड्ने तयारी भन्सार विभागको छ।

यो प्रणालीबाट आयात-निर्यातसँग सरोकार राख्ने सेवा प्रदायक र सेवाग्राही अनलाइनको माध्यमबाट आपसमा आबद्ध हुने छन्। प्रणालीमा सहभागी प्रत्येक निकायको कार्य सञ्चालन विधि र कानून मिलाउने काम भइरहेको विभागले बताएको छ।

असार ०७६ देखि पूर्वाधार विकासको काम शुरू भएको यो प्रणाली कार्यान्वयनको अन्तिम चरणमा पुगेको आयोजना कार्यान्वयन एकाइका संयोजक श्यामप्रसाद भण्डारी बताउँछन्। शुरूमा परीक्षणका रूपमा कार्यान्वयनको तयारी भइरहेको भन्सार विभागका उपमहानिर्देशकसमेत रहेका संयोजक भण्डारीको भनाइ छ।

शुरुवाति चरणमा खाद्य तथा गुण नियन्त्रण विभाग, खाद्य, पशु तथा प्लान्ट क्वारेन्टाइन र नेपाल हस्ताकला महासंघलाई समावेश गरेर परीक्षणका रूपमा आयोजा कार्यान्वयन गरिने भण्डारी बताउँछन्। ‘कार्यान्वयनमा गइसकेपछि सरोकारका अन्य निकाय र पक्षलाई समेट्दै लैजाने योजना छ,’ उनी भन्छन्, ‘यो प्रणालीबाट भन्सार जाँचपास प्रक्रिया सरलीकरण मात्र हुँदैन, वैदेशिक व्यापार थप विश्वसनीय, भरपर्दो र पारदर्शी पनि हुनेछ।’

अनलाइनबाटै अधिकांश प्रक्रिया पूरा हुने तथा सेवा प्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क नभएपछि वैदेशिक व्यापार पारदर्शी हुने अपेक्षा भन्सार विभागको छ। यसबाट वैदेशिक व्यापारमा समय र खर्चको पनि बचत हुने दाबी भन्सार अधिकारीहरूको छ।

एकद्वार प्रणालीमा प्रविधि विकासको काम करीब पूरा भइसकेको भन्सार विभागले बताएको छ। दुई वर्षभित्र प्रणाली विकास र दक्षता अभिवृद्धिको काम पूरा गरी आगामी आर्थिक वर्ष ०७८-७९ देखि पूर्ण रूपमा कार्यान्वयनमा लैजाने लक्ष्य छ। दुई महिनाअघि नै परीक्षणको योजना थियो तर कोरोना महामारीका कारण सरोकारका पक्षसित समन्वयमा समस्याले ढिलाइ भएको आयोजनाका अधिकारीहरू बताउँछन् ।

यो प्रणाली व्यापार सहजीकरण, राजस्व संकलनमा दक्षता अभिवृद्धि र सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित भएको विभागको भनाइ छ। भन्सार प्रशासन सन् २०२१ सम्ममा भौतिक परीक्षण गर्नुपर्ने बस्तु (रेड लेन)को परिमाणलाई २० प्रतिशतमा झार्ने दबाबमा छ। विश्व व्यापार संगठनको यो मापदण्ड पूरा गर्न एकद्वार भन्सार प्रणाली लागू गर्न लागिएको हो।

अहिले भन्सारले प्रयोग गरिरहेको आसिकुडा प्रणालीलाई पनि यही योजनामा समेट्ने भन्सारको तयारी छ। आसिकुडाबाट १३ मुख्य भन्सारमा मालसामानको लेन तोकिन्छ। तर, अहिलेसम्म ५० प्रतिशतभन्दा बढी बस्तु रेड लेनबाटै भित्रिन्छन्।

राजस्व चुहावटको जोखिम बढी भएका बस्तुलाई रेड च्यानलमा राखिन्छ। स्वचालित प्रणाली लागू भएपछि यो जोखिम न्यूनीकरण हुने भण्डारी बताउँछन्। स्वचालित प्रणालीले व्यापारमा आबद्ध निकायको संस्थागत क्षमता सुदृढ गर्ने र व्यवसायको कारोबार लागत घटाउने उद्देश्य पनि राखेको छ । नेपाली बजारमा आपूर्ति हुने वस्तुको मूल्य घटाएर निकासी व्यापारको प्रतिस्पर्धात्मक क्षमता वृद्धिमा सहयोग पुग्ने दाबी भन्सार विभागको छ। ‘जोखिम व्यवस्थापनलाई सहज बनाउन र विद्युतीय भुक्तानी प्रणाली सहजीकरणमा पनि एकद्वार प्रणाली प्रभावकारी हुन्छ,’ उपमहानिर्देक भण्डारी भन्छन्।

के हो एकद्वार प्रणाली ?
एकद्वार प्रणाली भन्सार जाँचपासमा सम्बद्ध सरोकारवाला सबै पक्षले प्रयोग गर्न सक्नेगरी तयार पारिएको स्वचालित विद्युतीय प्लेटफर्म हो। अन्तर्राष्ट्रिय व्यापारलाई कागजी प्रक्रियामुक्त बनाउन यो प्रणालीमा सरोकारका निकाय र पक्ष समावेश गरिन्छन्।

भन्सार विभागले सरकारी र निजीक्षेत्रका ४० निकाय र पक्षलाई यो प्रणालीमा आवद्ध गरेको छ। यो प्रणालीबाट अन्तर्राष्ट्रिय व्यापार र पारवहनसँग सम्बन्धित सबै पक्षले सम्पूर्ण कागजात तथा सूचना एउटै प्रवेश बिन्दुबाट प्रस्तुत गर्न सक्छन्।

अनलाइनबाटै आवेदन र कागजात अपलोड गरिने व्यवस्था मिलाइएको छ। प्रणाली पूर्ण कार्यान्वयनमा आएपछि आयात-निर्यातका लागि कागजात लिन सरोकारका निकाय धाउनुपर्ने बाध्यता अन्त्य हुने भन्सार अधिकारीहरू बताउँछन्।

वीरगञ्जमा भन्सार एप
विश्व भन्सार दिवसको अवसर पारेर भन्सार विभागले गत फागुनबाट मोबाइल एप सञ्चालन गरेको छ। वीरगञ्ज भन्सार कार्यालयमा पाइलट प्रोजेक्टको रूपमा एप ल्याइएको हो। अनलाइनबाट समावेश गरिएको कागजात हेरेर जाँचमा खटिएका अधिकृतले एपबाटै जाँचपास गर्न मिल्ने वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत गोपाल खत्री बताउँछन्।

यो एपमा थप सुधार आवश्यक देखिएको भन्सार अधिकारीहरू बताउँछन्। ‘भन्सार प्रशासन बृहत विषय हो। एपका आफ्नै सीमितता हुन्छन्। त्यसैले यसमा सुधारको खाँचो खट्किएको छ,’ भन्सार अधिकृत सुकमनी भन्छन्। वीरगञ्जमा यो प्रविधि सफल भएमा अन्य भन्सारमा विस्तार गर्ने योजना विभागको छ।

तपाईको प्रतिक्रिया