गुराँस न्युज । तेह्रथुम, २२ मंसिर । तेह्रथुममा शुक्रबार राति ९ः३० बजेबाट मात्रै मतगणना सुरु हुने भएको छ । जिल्लाका ८९ मतदान केन्द्रमा विहीबार मतदान भएपनि सदरमुकाम म्याङलुङ्गसम्म मतपेटिकाहरु ढुवानी गरेर ल्याउन ढिलाई भएपछि मतगणना ढिलो गरी हुन लागेको हो ।

विहीबार मतदानपछि म्याङलुङ्ग, लालीगुराँस, छथर र मेन्छ्यायेम गाउँपालिकाका मतपेटिकाहरु सदरमुकाम ल्याएको थियो । तर आठराई र फेदाप गाउँपालिकाका मतपेटिकाहरु भने शुक्रबार मात्रै सदरमुकाम ल्याइएको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको ट्रयाक भएर बसमार्फत् मतपेटिकाहरु साँझ ५ः०० बजेमात्र सदरमुकाम ल्याइएको थियो ।

छ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएपनि दलहरु ढिला गरी पुगेपछि झनै ढिला भयो । मंगोल नेशनल अर्गनाइजेसन, संघीय समाजवादी फोरम लगायत साना दलहरुले शनिबार विहानदेखि मात्रै मतगणना गर्नुपर्ने भन्दै विवाद झिकेका थिए ।
तर मुख्य प्रतिष्पर्धी लोकतान्त्रिक र बामगठबन्धनले अहिलेबाटै मतगणना सुरु गर्ने भनेपछि राति ९ः३० बजेबाट मतगणना गर्ने सहमति जुटेको छ ।

सदरमुकाम म्याङलुङ्ग स्थित सिंहवाहिनी माविमा मतगणनाका लागि आवश्यक प्रबन्ध गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकले एकैपटक चार ठाउँमा मतगणना गर्ने सहमति गरेका छन् । प्रतिनिधि सभाको फरक–फरक दुई मतदान केन्द्रको मतपत्र मिसाएर दुई ठाउँमा र प्रदेश सभा (क) र (ख) को एक एक ठाउँमा गरेर मतगणना गर्ने तयारी भएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले गुराँस न्युजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार भौगोलिक विकटताका कारण मतपेटिकाहरु ढुवानीमा ढिलाई हुँदा मतगणनामा ढिलो भएको हो । कुल ६६ हजार ६ सय ६७ मतदाता रहेको तेह्रथुममा ८९ वटा मतदान केन्द्रबाट ४४ हजार २ सय १५ जना मतदाताले मतदान गरेका छन् । जसमध्ये २१ हजार ३ सय २० पुरुष र २२ हजार ८ सय ९५ जना महिलाले मतदान गरेका छन् ।

तपाईको प्रतिक्रिया