– प्रकाश पाक्साँवा, 

निक्कै नाम चलेका हिमाली भेगहरुमा पर्ने बस्तीहरुमध्ये तोक्पेगोला पनि एक हो । प्राकृतिक सुन्दरतासँगै हिमालको काखमा रहेको यो क्षेत्र धेरैको रुचिको गन्तव्य हो । रुचि मेरो पनि थियो, जीवनमा एक पटक कुनै न कुनै बेला यो ठाउँको भ्रमण गरौँ भन्ने ।

अहिले घुमफिर गरौँ लाग्ने परिस्थिति अवश्य छैन । तैपनि दशैंको विदाईसँगै तोक्पेगोलासम्मको यात्रा गर्ने सन्दर्भ जुर्‍यो । आकर्षक हिमाल, डाँडाकाँडा र हिमाली-लेकाली बस्तीहरुको दृश्यावलोकन गर्दै उकालो चढ्यो, सात सदस्यीय टोली ।

हाम्रो टोलीमा लालीगुराँस नगरपालिकाका मेयर तथा मुन्धुमविद् अर्जुन मावुहाङ, इन्जिनियर शशी सिंह, पत्रकार मित्र महेन्द्र मादेन र म गरी चार जना तेह्रथुमे थियौँ । पाँचथरे पुर्व स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगु, जनता समाजवादी पार्टीका अध्यक्ष लक्ष्मण लावती र किराँत याक्थुङ चुम्लुङका सचिव सुरेन शिशिर केरुङ जोडिनुभएको थियो ।

ताप्लेजुङको मिक्वाखेला गाउँपालिकामा रहेको यो क्षेत्र समुद्री सतहबाट करिब ४२ सय मिटरको उचाईमा पर्दछ । त्यहाँसम्म पुग्दा घुम्ने, रम्ने र मनोरञ्जन गर्नेमात्र उदेश्य थिएन, मुन्धुममा उल्लेख भएका दर्जनौँ तथ्यहरु खोज्नु थियो । पवित्र स्थलहरुको सोध-अवलोकन गर्नु थियो । यात्रामा हामीले तोक्पेगोला, सोधुङ पोखरी, भूत पोखरी, युमिक्मा वरक पोखरी, फुङफुङ्गे झरना लगायत करिब एक दर्जन प्राकृतिक तथा सांस्कृतिक महत्वका ठाउँहरुको अवलोकन गर्‍र्यौ ।

हामीले सोचेभन्दा बिल्कुलै फरक पाएका थियौँ, तोक्पेगोला । करिब ३० घरहरु रहेछन् । तर, खाली । तोक्पेगोलामा वर्खामा मान्छेहरु गोठ लिएर पुगेपनि हिउँदमा नबस्ने रहेछन् ।

यात्रामा केही खोज्नु थियो । केही नयाँ गन्तव्यमा रमाउनु थियो । यी गन्तव्य पैदल यात्राकालागि चर्चित हुन् । तर, अहिले अधिक ठाउँमा सडक सुविधा पुगेकाले हामीले पैदल यात्रा रोजेनौँ । मोटर साइकलमा हुइकियौँ । हाम्रो यात्राको थालनी चोलुङ पार्कबाट भयो । वसन्तपुरमा मानव निर्मित यो पार्क लिम्बू जातिको जन्मदेखि मृत्युसम्म जोडिएको छ । अहिले लिम्बु जातिको एउटा सांस्कृतिक गन्तव्य बन्नेक्रममा छ चोलुङ पार्क । यहीबाट सुरु भयो हाम्रो अध्ययन अवलोकनको यात्रा ।

पान्थरे साथीहरुकालागि चोलुङ पार्क नयाँ थियो । बसन्तपुरबाट उक्लिएपछि गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रका डाँडाकाँडाले पहरा दिए । सामुन्ने खडा भएका मकालु, कञ्चनजंघा र कुम्भकणर्ले पनि हाँसेर स्वागत गरे । गुराँसको बगैँचा, पाथीभरा, चौकीबजार हुँदै हामीले गुफापोखरी र मेन्छ्यायेम डाँडाको दर्शन पायौँ । गुफा बजारमा पाकेको स्थानीय परिकारले भोक मेटियो । बाटोभरि सुन्दर पोखरी, गुराँसे बन, चिसो बतास र हिमाली बस्तीको अवलोकन । मनमा शान्ति मिलेको थियो । तीनजुरे मिल्के क्षेत्र छिचोलेर हामी दोश्रो दिन दोभान पुग्यौँ ।

कच्ची सडकमा मोटर साइकलको यात्रा । शरीर शिथिल बन्न थालेको थियो, तर यात्रामा पाएका झन् झन् रोचक र नयाँ कुराहरुले उत्साह पनि थियो । मिक्वाखोलाको फुङफुङ्गे पुगेपछि शरीरको थकान शरीरमा पानी नपरेपनि पखालियो । सदरमुकामदेखि एक दिनको दुरीमा पर्ने यो झरना झण्डै तीन सय मिटर अग्लो छ । आकर्षक झरना, प्रशस्तै पर्यटकीय सम्भावना । तर, पर्यटककालागि न पुर्वाधार छन्, न प्रचार प्रसार ।

पुर्वराज्यमन्त्री र मेयरसहितको हाम्रो टोली, घरि-घरि राजनीतिक गफले तातिन्थ्यो, घरि धार्मिक र सांस्कृतिक चिन्तनभित्र भावुक बन्थ्यो । फरक भुगोल र विचारको राजनीति गरेपनि यात्रामा सबैको एउटै विचार भएझैँ लाग्थ्यो । फुङफुङ्गेमा दुई घण्टा अल्मलियौँ । झरनाबाट उकालो चढेपछि पापुङ पुग्यौँ । कतिपय बसाइमा मन्त्री जवेगुले रमाइला गफ निकाल्थे, कुनै मेयर मावुहाङले मुन्धुमका किस्सा सुनाउथे ।

अब सडकको विकास टुगिएको थियो, हामी जंगलको बाटो लागेका थियौँ । जंगलै-जंगल लामो यात्रा गर्नुपर्ने भएकाले खाने-बस्ने टुंगो थिएन । स्थानीय भगी लिम्बूले हामीलाई दुई तीन दिनसम्म पुग्ने खानेकुरा र बासकालागि चाहिने कपडाहरु बन्दोबस्त गरिदिए । हामीलाई पापुङले न्यानो स्वागत दियो ।

हामी वडाध्यक्षको घरमा बस्यौँ । यात्रा तह्रौँ दिनसम्म तन्किएको थियो । ओराली झर्ने बेला भएको थिएन । टोली उकाली लाग्दै थियो । हामीसँग दुई जना भरिया साथीहरु पनि थपिए । मिक्वाखोलाको सुसाईसँगै उकाली चढ्दै गर्दा माओवादी द्धन्द्धकालका त्रासदीपूणर् जीवनको नालीबेली सुनाउदै थिए, मन्त्री जवेगुले ।

बाटो जंगलको थियो, न घर न पसल । होटल त हुने कुरै भएन । ठाउँ-ठाउँमा केही गोठहरु भेटिन्थे । उकालो चढ्दै गर्दा मेयर मावुहाङले घरबाटै लगेको सातु झिके । उचाइमा पुग्दै गर्दा सातुले भोकसँगै लेक लाग्ने समस्यालाई टार्दै थियो ।

केही पाइन्न होला भनेर घरबाटै टोलमा रहेका लालीगुराँस नगरपालिकाका माबोहाङले झोलामा साथु बोकेका रैछन । खोलामा बगी रहेको पानी सागै साथु खाएपछी बल्ल बिहानीको खाना बनाउने स्थानमा पुग्न सफल हुन्छ । मिक्वाखोलाको घरि वारी, घरि पारी । खोलाको संङ्लो पानी, घना जंगल । हामीले जंगलमै रात कटायौँ । अर्को दिन तोक्पेगोला पुगियो, त्यस्ते १० बजेको थियो होला । ठूला पहाडको काखमा काठले छाएका घरहरु । हिउँले खाएका चिल्ला आकर्षक डाँडाकाँडा । तोक्पेगोलाको प्राकृतिक दृश्यले यात्राको दुःख बिर्साइदियो । हामीले सोचेभन्दा बिल्कुलै फरक पाएका थियौँ, तोक्पेगोला ।

करिब ३० घरहरु रहेछन् । तर, खाली । तोक्पेगोलामा वर्खामा मान्छेहरु गोठ लिएर पुगेपनि हिउँदमा नबस्ने रहेछन् । जाडोयाममा उच्च हिमाली यो क्षेत्रमा जनजीवन सोच्न सकिने पनि भएन । संयोगवश एउटा घरमा मान्छे भेटिए, गुहँ र कोदोको तोङ्बा खाएपछि चिसो पचाउन सकिएला झैँ हिम्मत मिल्यो । हामीले भूतपोखरीको अवलोकन गर्‍यौँ, त्यही दिन । पोखरी ठूलो आकारको भएपनि सानो देखिने रहेछ । ‘पुर्वाधार नपुगेको तोक्पेगोला पर्यटकको गन्तव्य त हो, तर यात्रा सहज छैन,’ स्थानीय तेन्जिङ शेर्पाले हामीलाई भनिरहेका थिए ।

स्थानीयहरु भने पापुङदेखि गोलासम्म एकै दिन पुग्नेरहेछन् । हामीलाई डेढ दिन लागेको थियो । हामीले मिक्वापोखरीको शिरसँगै लिम्बू जातिको मुन्धुममा वणर्ित सोधुङ पोखरीको पनि अवलोकन गर्‍यौँ । बर्खामा मानिसहरुको राम्रै चहल पहल हुने यो ठाउँमा टेलिफोन सुविधासमेत पुगेका रहेनछ । हामी सम्पर्कविहीन भएका थियौँ । त्यहाँ कोरोना र त्यसले निम्त्याएको त्रास पनि थिएन । हप्तौँको यात्राले थकित शरीर भएपनि गोला पुग्दाको मिठो अनुभवले जिउ फुरुङ्गै थियो । हामी गोलाको पर्यटकीय सम्भावना खोजिरहेका थियौँ । त्यहाँका ऐतिहासिक ठाउँहरुमा मुन्धुम खोजिरहेका थियौँ ।

यात्रामा भेटिएका ठाउँहरुका विषयमा मुन्धुममा कसरी उल्लेख छ ? भनेर मुन्धुमविद् मेयर मावुहाङले भनिरहन्थे । नयाँ-नयाँ कुरा सिक्ने र अनुभव गर्ने मौकाले मन पुलकित थियो । तोक्पेगोलाको मिठो अनुभूति बोकेर हामी ओरालो लाग्यौँ । हाम्रो निष्कर्ष थियो, गोला पर्यटकको राम्रो गन्तव्य हो, तर सरकारले यसलाई गन्तव्यको रुपमा विकास गर्न लगानी गर्नुपर्छ । फर्किदा पनि हामीले सिधै घर जाने गरी हैन, बाटोमा दर्जनौँ त्यस्ता ठाउँहरु घुम्दै मुन्धुम र ती ठाउँको ऐतिहासिक धार्मिक महत्वबारे अध्ययन र अवलोकन गर्दै यात्रा गरिरहेका थियौँ ।

दशैँदेखि सुरु भएको हाम्रो यात्रा झण्डै तिहारसम्म लम्बिएको थियो । एउटा अविष्मरणीय यात्रा, एउटा मिठो अनुभव । अग्रज र अनुभवीहरुको यो यात्रा मैले सम्झिरहने यात्रा बनेको छ । अब मुन्धुम्विद् मेयर मावुहाङले लेख्ने मुन्धुम सम्बन्धित खोज सामाग्रीको अध्ययन गर्न आतुर छु ।

 

 

तपाईको प्रतिक्रिया