इलाम, मंसिर २० – बिहीबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा इलामको रुक्मिणी विद्यालय मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । रुक्मिणी केन्द्रमा अधिकृतदेखि सहयोगीसम्म महिला कर्मचारीलाई मात्र खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतदान केन्द्र महिलामैत्री र नमुना बनाउन जिल्ला निर्वाचन कार्यलयले महिला कर्मचारीलाई मात्रै खटाएको जनाएको छ ।
रुक्मिणी मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुईजना सहयोगी महिला नै नियुक्ति गरिएको छ ।
गोलाप्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनौट गर्दा महिला मात्रै छानिएका सहायक निर्वाचन अधिकृत जगदिश्वर भट्टराईले जानकारी दिनुभयो ।
जिल्लामा एक सय ४४ वटा मतदान स्थल र दुई सय ६६ वटा मतदान केन्द्र निर्धारण गरीएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा २ लाख ४ हजार ४६ मतदाता छन् ।