तेह्रथुम । तेह्रथुममा जुवा खेलिरहेका तीन जना वडाध्यक्षसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले म्याङलुङ नगरपालिका-६ का अध्यक्ष इन्द्र लिम्बु, वडा नं. ७ का अध्यक्ष नारायणप्रसाद आचार्य, वडा नं. ८ का अध्यक्ष सुनिल सम्बाहाम्फे र स्थानीय भीमबहादुर लिम्बूलाई नगदसहित जुवाखालबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट २४ हजार २५० रुपैयाँ बरामद गरेको छ ।

उनीहरुविरुद्ध बुधबार जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । मंगलबार जिरिखिम्तीको एक होटलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाउनासाथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलीले दिउँसो तीन बजे छापा मारेको थियो ।

श्रोतका अनुसार सो ठाउँमा नियमित जुवा खेल्ने गरेको सूचना प्रहरीले पाएको थियो । जुवा खालबाट मोटो रकम बोकेका व्यक्ति भने फरार भएका छन् । उनीहरुविरुद्ध प्रहरीले मुलुकी फौजदारी आचारसंहिताअनुसार मुद्धा दर्ता गरी प्रक्रिया अघि बढाएको छ ।

तीनै जना वडाध्यक्षहरु नेकपाबाट निर्वाचित हुन् । वडाध्यक्षहरु नै जुवाखालबाट पक्राउ परेपछि उनीहरुलाई छुटाउन जिल्लाको राजनीतिक नेतृत्व लागिपरेको छ । राजनीतिक दबाबकै कारण प्रहरीले मुद्धाको विवरण समेत सार्वजनिक गरेको छैन ।

डिएसपी गौतम थापाले सञ्चारकर्मीलाई समेत घटनाको बारेमा समाचार नलेख्न आग्रह गरिरहेका छन् ।

यसअघि दशैँमा पनि मोटो रकमसहित म्याङलुङबाटै जुवाडेहरु पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया