कोरोना पिसिआर गर्दा साइकलहरू हुन्छन्। कति साइकलमा फोरोसेन्स डेभलप हुन्छ वा पोजिटिभ आउँछ जुन भ्यालुलाई नै ‘सिटी भ्यालु’ अथवा ‘साइकल थ्रेसहोल्ड’ भनिन्छ।

जो व्यक्तिमा भाइरसको लोड र घनत्व बढी हुन्छ, उसको सिटी भ्यालु चाँडै देखिने गर्दछ।

यसबाट बिरामीमा भाइरसको भार, संक्रमणको गम्भीरता र संक्रमण फैलाउन सक्ने क्षमता अनुमान गर्न सकिन्छ।

जस्तै, चिनी धेरै हालेको चियामा जसरी स्वाद गुलियो छ भनेर चाँडै थाहा पाइन्छ, तर कम चिनी छ भने त्यो चियाको स्वाद थाहा पाउन गाह्रो हुन्छ। त्यसरी नै कोरोना भाइरसको लेभल, डेन्सिटी बढी छ भने चाँडै थाहा हुन्छ।

लक्षण दखिएको पाँच–सात दिनसम्म साइकल थ्रेसहोल्ड लोड धेरै हुने भएकाले पिसिआर गर्दा कम साइकलमा देखिन सक्छ। जब फिक्का हुँदै जान्छ। सिटी भ्यालु विस्तारै बढ्दै जान्छ। हालसम्म सिटी भ्यालु ३५ भन्दा बढी भए नेगेटिभ मानिन्छ।

३५ भन्दा तल भएका जति पनि छन्, त्यसलाई पोजिटिभ स्याम्पलका रूपमा मानिन्छ। सिटी भ्यालु प्रत्येक व्यक्तिमा फरक हुन सक्छ।

अहिलेसम्म कोरोना परीक्षण हुँदा नाक र मुखबाट स्वाब लिने गरिएको छ। नाकबाट सिटी भ्यालु कम देखिन सक्छ।

त्यसैगरी, स्याम्पल राम्रोसँग लिइएको छैन भने सिटी भ्यालु बढी देखिन सक्छ।

विश्व स्वास्थ्य संगठनले कोही व्यक्ति लक्षणविहीन छ भने लामो समयसम्म पोजिटिभ बस्न सक्छ भनेको छ।

सिटी भ्यालु विभिन्न अंकमा आउन सक्छ। तर, आठौं दिनपछि जिउँदो भाइरस देखिएको छैन भन्ने अध्ययन अनुसन्धानबाट देखिएको छ।

त्यसकारण नै लक्षणविहीन मानिसलाई विश्व स्वास्थ्य संगठनले १० दिनपछि आइसोलेसनबाट बाहिर निस्कन सकिन्छ भन्दै आएको छ। नेपालमा पनि १४ दिनपछि आइसोलेसनबाट निस्कन मिल्छ भनिएको छ।

सिटी भ्यालुले क्लिनकल्ली चेक गर्न मद्दत गर्दछ।

एकान्तवास पूरा गरेको व्यक्तिबाट संक्रमणको जोखिम हुँदैन। तर, लामो समय पोजिटिभ देखिन सक्छ। ६० देखि ७० दिनसम्म पनि रहन सक्छ।

सिकिस्त व्यक्तिमा कम सिटी भ्यालु देखियो भने अथवा कम सिटी भ्यालु भएका व्यक्तिमा ल्याबोरेटोरी प्यारामिटर फरक देखियो भन्ने धेरै अध्ययनले देखाएका छन्। त्यो भन्दैमा १२ वा १५ हुने बित्तिकै मानिस सिकिस्त हुने भन्ने होइन।

हामीले हेर्दा पनि सिटी भ्यालु कम भएका व्यक्ति लक्षणविहीन भएका, निमोनिया नै भएर भर्ना हुन आएका व्यक्तिमा सिटी भ्यालु बढी भएको पाइएको छ।

यो भाइरस बिल्कुलै नयाँ किसिमको भाइरस भएकाले अझै पनि कसले कतिमा सार्छ भन्ने कुरा पुष्टि हुन सकेको छैन।

कस्ता व्यक्तिले संक्रमण सार्छन्?

लक्षण देखिएका व्यक्तिले दुई दिन पहिला र सातौं दिनसम्म सार्न सक्छन्।

सिटी भ्यालु कम भएको खण्डमा संक्रमण चाँडै हुनसक्ने भएकाले आइसोलेसनमा बस्दा चिकित्सक वा स्वास्थ्यकर्मीलाई लागि सहयोग पुग्छ।

सुरुवाती दिनमा सिटी भ्यालु कम देखिन्छ। निको हुने बेलामा सिटी भ्यालु विस्तारै बढ्दै जाने हुन्छ। समुदायस्तरमा परीक्षण गर्ने बेला सिटी भ्यालु बढी भएका व्यक्ति धेरै भेटिन थाले भने विस्तारै सञ्चो भएको संख्या बढ्न थालेको देखिन्छ।

त्यसले के जनाउँछ भने भाइरस समुदायबाट विस्तारै–विस्तारै हट्न थालेका बुझिन्छ। सिटी भ्यालुलाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ।

सिटी भ्यालु कम भएका व्यक्ति बढ्न थाले भने इपिडिमियोलोजीका हिसाबले संक्रमण फैलँदै छ भनेर बुझ्न सकिन्छ।

जनस्वास्थ्यअन्र्तगतको मापदण्डमा १४ दिनभित्र आइसोलेसनबाट घर जान मिल्छ भन्ने छ। १४ दिनपछि नै सिटी भ्यालु कम छ भने आइसोलेसनको समय बढाउँदा परिवारका सदस्य वा समुदायमा सार्न सक्ने सम्भावना कम हुन्छ।

उदाहरणका लागि नेपालमा पुष्टि भएको दोस्रो बिरामीको १४ दिनपछि पिसिआर गरेका थियौं। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार दुईवटा परीक्षण गर्नुपथ्र्याे।

एक दिन नेगेटिभ आउँथ्यो, फेरि भोलिपल्ट पोजिटिभ आउँथ्यो। फेरि, अर्को हप्ता गर्दा पोजिटिभ आउने भएको थियो। २६ र २७औं दिनमा नेगेटिभ आएकाले होम आइसोलेसन बस्नू भन्दै डिस्चार्ज गरिएको थियो। तर, पुनः सात दिनपछि आउँदा पनि पोजिटिभ आएको थियो।

त्यस्तो किसिमको अनुभव हामीले त्यति बेलादेखि बटुलेका थियौं। पिसिआर पोजिटिभ आइराख्यो भन्दैमा मानिस सिकिस्त हुने र संक्रमण सार्छ भन्ने हुँदैन।

पिसिआरले गर्दा भाइरस जिउँदो हो कि मरेको छुट्ट्याउँदैन। मरेको भाइरसले रोग सार्दैन, जिउँदोले सार्ने हो।

अनुसन्धान अनुसार लक्षण भएका व्यक्तिमा १६ दिनपछि भाइरस भेटिएको छैन। विश्व स्वास्थ्य संगठनले पनि सिकिस्त भएका रोगीहरूलाई २० दिनपछि आइसोलेसन मुक्त गर्न सकिन्छ भनेको छ।

पछिल्लो दिनमा पिसिआर पोजिटिभ देखियो। पाँच–सात दिनपछि ज्वरो र खोकी आउने अनि पुनः निमोनियाका लक्षण देखिएको छ।

विभिन्न स्थानमा जागिर खान जाने व्यक्तिमा पिसिआर रिपोर्ट नेगेटिभ भएपछि मात्र जान मिल्ने भनेपछि धेरै व्यक्ति पटक–पटक पिसिआर गर्न बाध्य भएका छन्।

काठमाडौं उपत्यकाभित्रका संक्रमितमा सिटी भ्यालु के छ?

दसैं सुरुवातमा चाहिँ धेरै बिरामी आएका थिए। त्यसपछि केही दिनसम्म आइसियु तथा अन्य बेड खाली भएका थिए।

तर, पिसिआर शुल्क लाग्ने निर्णय भएका कारण दसैंपछि केही समय आइसियु बेड पनि खाली र आइसोलेसन पनि खाली भएको सोचियो। हाम्रो अस्पतालजस्तै अन्य अस्पतालमा यस्तै अवस्था थियो।

अस्पताल आउने बिरामीको सिटी भ्यालु हेर्दा ५१ प्रतिशतमा ३० भन्दा माथि देखिएको थियो। त्यतिबेला समुदायमा विस्तारै घटेको भन्न सकिन्छ।

तर, दसैंपछि पुनः मानिसहरू काममा जाँदा विस्तारै–विस्तारै बढ्दै जाने गरेको देखिएको छ।

दसैंका बेला धेरैजना होम आइसोलेसन बसेका थिए। उनीहरू गाह्रो नभई अस्पताल नआउने वा अथवा दिर्घरोगी हुन् भने घरमै अक्सिजन दिएर राख्ने प्रवृत्तिले गर्दा त्यति बेला घटेका रहेछन्।

अहिले पछिल्लो समय त्यसरी बस्दा निमोनिया बढ्दै गर्दा बिरामी आउने क्रम बढेको छ।

तर, अहिले भने हाम्रो अस्पतालमा आइसियु बेड भरिएको छ। अन्य अस्पतालमा बुझ्दा बिरामी आउने क्रम बढेको पाइएको छ।

निमोनिया भएर सिकिस्त भएपछि अस्पताल अउने संख्या बढेको छ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चीफ कन्सल्ट्यान्ट (ट्रपिकल मेडिसिन) डा. अनुप बास्तोलासँग कुराकानीमा आधारित)

तपाईको प्रतिक्रिया