काठमाडौं । कंक्रिटले भरिएको कोलाहल शहरभन्दा नजिकै, एउटा त्यस्तो ठाउँ छ, जहाँ पुग्नेले शहरको व्यस्त दैनिकीलाई सजिलै भुल्छन् । चिसो सिरेटो, पारिलो घाम, डाँडाकाँडा र हिमश्रृंखलाको दृश्वलोकन गर्दै प्रकृतिसँग आफुलाई समाहित गर्न सक्छन् ।

काठमाडौंमै यस्तो रमणीय ठाउँको कल्पना कमैले मात्र गर्दा होलान्, तर यो ठाउँ काठमाडौंकै हो ।

चावहिल चोकदेखि बौद्ध, जोरपाटी, साँखु हुदै २२ किमि उकालो चढेपछि पुगिन्छ, शंकरापुर नगरपालिका-३, ढोक्सान । सानो तामाङ गाउँ । रमणीय दृश्य । नजिकै जरसिंहपौवा पर्छ ।

पारीपट्टि सिन्धुपाल्चोक र छितिजमा गणेश, मनास्लु, सगरमाथा सहितका हिमश्रृंखलाको दृश्य । अनि यी दृश्य हेर्दै रमाउन सकिने गुराँस घर रेष्टुरेण्ट ।

भिन्न भिन्न पेशा व्यवसायमा व्यस्त शहरी जीवनशैली बाँचेर हुर्किएका चार युवाले लगानी गरेर थालेको यो रेष्टुरेण्ट काठमाडौंको कोलाहल भुल्ने नजिकको नयाँ र सहज गन्तव्य बनेको छ, उनीहरु यहाँ लगानी गरेर धेरै कमाउने भन्दा पनि ग्रामीण जीवनशैली र प्रकृतिसँग बाँच्ने रहरले पुगेका छन् ।

गुराँस घरमा युवा नेता प्रनिषजङ्ग शाह, चाटर्ड एकाउण्टेण्ट उपेन्द्र लामा, सविन मानन्धर र शिव गिरीको लगानीमात्रै छैन, श्रमपनि मिसिएको छ । भ्याएसम्म उनीहरुमध्ये आफैँ खटिन्छन् ।

चाटर्ड एकाउण्टेण्ट पढेका लामा रेष्टरेण्टमा वेटरको भूमिका निभाउँछन् । भन्छन्, ‘नौलो अनूभव मिलेको छ, खासमा यस्ता अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुको यथार्थ बुझ्ने मौका मिलेको छ ।’

युके बसेर फर्किएपछि राजनीतिसँगै व्यवसायमा लागेका युवा नेता शाह भन्छन्, ‘एकदमै रमाइलो अनुभव भइरहेको छ, नयाँ ठाउँमा नयाँ व्यवसाय, फरक अनुभव मिलेको छ, यो व्यवसायमा अलग्गै आनन्द मिल्दो रहेछ ।’

गुराँस घर आफुहरुले सम्हालेको एक महिनामात्रै भएको उनले बताए । रेष्टुरेण्टले नौ रोपनी क्षेत्र ओगटेको छ । छुट्टा छुट्ट क्याविन, रेष्टुरेण्ट हल, सामुहिक एट्याच रुम र खुला आकाशमुनि टेण्टमा सुतेर नयाँ अनुभव लिन पाउने सुविधा पनि ।

‘सुरुमा हामी आफैँ घुम्न आएका हौँ, पछि यसै ठाउँ मन पर्‍यो, अनि लगानी गर्ने सोच आयो,’ शाह भन्छन्, ‘यो ठाउँ नै भ्यु-टावर जस्तो लाग्छ ।’ दार्जिलिङ बसेर पढेका उनी आफुलाई युकेमा पाँच वर्ष बसे । तर, त्यहाँ बिताएको समयप्रति उनलाई पछुतो छ ।

खर्च १५ सयमात्रै

गुराँस घरमा तालिम र गोष्ठी सञ्चालनकालागि करिब ५० जना अटाउने हल पनि छ ।

प्राकृतिक वातावरणमा रम्दै स्थानीय परिकार खाएर रमाउन सकिने ठाउँ छ । हाललाई ४० जनालाई राख्ने क्षमता रहेको शाहले बताए । लोकल भाले, अग्र्यानिक तरकारी, पिठोको ढिडो, मकै र कोदो रोटी र ढिडो सहित तामाङ परिकार पाक्छन् यहाँ ।

‘दिउँसो जति मान्छे आएपनि समस्या छैन, राति चाँहि ४० जनामात्रै अटाउन सक्छौँ,’ अर्का सञ्चालक शिव गिरी भन्छन्, ‘रुमचाँहि सेयर गर्नुपर्छ ।’ धेरै खर्चिलो पनि छैन ।

काठमाडौंबाट त्यहाँसम्म पुग्न बढीमा एक घण्टा लाग्छ ।

गुराँस घरले पाँच जनाको समूहमा आउनेलाई एक रातकालागि प्रति व्यक्ति १५ सय रुपैयाँको प्याकेज सुविधा दिएको छ । ‘मानिसहरुको चाहनालाई बुझेर आवश्यकताअनुसार सेवा सुविधा र शुल्कलाई व्यवस्थापन गर्न सकिने गिरी बताउँछन् ।

 

 

 

तपाईको प्रतिक्रिया