विराटनगर । प्रदेश १ सरकारले ११ वटा स्थानीय तहलाई दमकल र प्रहरी भ्यान वितरण गरेको छ ।

‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’को नाममा ठूलो संख्यामा सवारी साधन खरिद गरी प्रदेश सरकारले बाँडेको हो ।

प्रदेश सरकारले ती सवारी साधनहरु सुनसरीको कोसी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिका र पाँचथरको फिदिम नगरपालिकालाई वितरण गरेको छ ।

यस्तै, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागढी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र उदयपुरको रौतामाई गाउँपालिकालाई पनि सवारी साधन उपलब्ध गराइएको छ ।

प्रदेश सरकारले सवारी खरिदमा ११ करोड ९५ लाख ४७ हजार रुपैयाँ खर्च गरेको छ ।

विहीबार प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले ११ वटा दमकल र प्रहरी भ्यान वितरण गरेका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ करोड ६७ लाख २० हजार रुपैयाँका दमकल र ६ करोड २८ लाख २७ हजार ४ सय ६० रुपैयाँका दमकल खरिद गरी वितरण भएको हो । ती स्थानीय तहलाई एक एक थान एम्बुलेन्स समेत उपलब्ध गराउने प्रदेश सरकारको तयारी छ ।

के हो केन्द्र ?

‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ एकीकृत शान्ति सुरक्षा, विपद् र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्यका साथ प्रदेश सरकारले अघि सारेको कार्यक्रम हो ।

सबै सामग्री एकै स्थानमा रहने र एकीकृत ढंगबाट सञ्चालन हुने भनिएको छ । यस केन्द्रमा पालिका प्रमुखको अध्यक्षतामा सञ्चालक समिति रहन्छ । इन्धन र मर्मत पालिकाले ब्यहोर्ने र जनशक्ति व्यवस्थापनको काम आन्तरिक मामिला मन्त्रालयले गर्नेछ ।

मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको सञ्चालन प्रहरीमार्फत स्थानीय पालिकाले गर्नेछ ।

यो केन्द्र प्रदेशका १४ जिल्लामै रहने व्यवस्था गरिए पनि बिहीबार ११ वटा जिल्लाका ११ पालिकालाई दमकल र प्रहरी भ्यान उपलब्ध गराइएको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले बताए । सबै सामग्री पालिकाका प्रमुख तथा प्रतिनिधिले बुझेर लगेका छन् ।

तपाईको प्रतिक्रिया