– नृपबहादुर सुनार 

देशकै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी फागुनमा हुँदैछ । सोहीअनुसार पुष महिनाभित्र वडा, क्षेत्र, जिल्ला र प्रदेश कार्यसमितिको अधिवेशन गर्ने कार्यतालिका पनि सार्वजनिक भइसकेको छ । यतिबेला क्रियाशिल सदस्यता वितरणका लागि फाराम जिल्ला जिल्लामा पुग्ने क्रम जारी छ । विश्वव्यापी कोरोना महामारीका कारण हरेक कुरा अनिश्चिततामै रहेकाले महाधिवेशन तोकिएकै समयमा होला या नहोला तर अबको कांग्रेस र त्यसको नेतृत्व कस्तो हुनुपर्दछ भन्ने सवाल भने आमरुपमा उठिसकेको छ । कांग्रेसभित्रै, त्योभन्दा बाहिर आम शुभचिन्तक एवं संचारमाध्यममा व्यक्त विचार र बहसहरु हेर्दा महाधिवेशनको माहोल जबर्जस्त रुपमा लागिसकेको छ ।

एउटा लामो इतिहास बोकेको पार्टीको महाधिवेशन, त्यसले लिने नीति र अनुमोदन गर्ने नेतृत्वका विषयमा व्यापक बहस, छलफल, चासो र चिन्ता हुनु स्वाभाविक नै हो । त्यसका अलावा अहिलेको सन्दर्भमा केही स्थानीय तहबाहेक प्रदेश र संघीय सरकार कांग्रेसविहिन भएको अवस्था, सत्तासीन दलका कारण हुर्कदै गरेको संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नागरिकको मोह भंग हुने डर, लोकतान्त्रिक मूल्य र मान्यताको स्खलन, राजनीतिप्रति युवाहरुको बढ्दो वितृष्णाकाबीच कांग्रेसले महाधिवेशनबाट बोक्ने नीति र नेतृत्व कांग्रेस नेता, कार्यकर्ता, आम नेपाली जनता मात्रै होइन विश्वकै लागि प्रतिक्षा र चासोको विषय बनेको छ ।

नेपालमा लोकतन्त्रको पर्यायजस्तै मानिने नेपाली कांग्रेसमा संस्थापक नेता बी.पी. कोईरालाको अवसानपछि बहस र विचारको खडेरी भएको एकथरी स्वतन्त्र बुद्धिजिवीहरुको मत छ भने अर्काेथरीले कांग्रेसमा विचार छ तर गतिशीलता छैन भन्ने गरेका छन् । हुन पनि कांग्रेसको दृष्टिकोण र बैचारिक आधार तयार गर्ने महाधिवेशन र महासमिति बैठक केवल अमुक नेताको पक्षपोषण एवं औपचारिकतामा सीमित हुन पुगेका छन् । त्यसैले आगामी महाधिवेशनलाई पार्टीको तल्लो ईकाईदेखि केन्द्रसम्मको नेतृत्व चयन गर्ने प्राविधिक पक्षमा मात्रै सीमित नराखी कांग्रेसको आमुल रुपान्तरणका लागि गतिशिल विचार, नेतृत्व, कार्यकर्तामुखी संगठन र जनतासँग बढ्दै गएको दुरीलाई कम गर्दै सामिप्यतालाई घनिभुत बनाउने अवसरका रुपमा लिनुपर्दछ ।

महाधिवेशनको पूर्वसन्ध्यामा अहिले केन्द्रीय नेतृत्वको विषयमा बढी बहस भइरहेको छ । स्वाभाविक रुपमा मूल नेतृत्वप्रति मुलुक, कार्यकर्ता र आम जनताको आशा एव भरोसा हुने भएकोले समयको गति र आवश्यकताको बेगमा कांग्रेसलाई डोहोर्‍याउन सक्ने केन्द्रीय नेतृत्वका विषयमा बहस हुनैपर्छ । त्यसमा आम सरोकारवालाले लेखेर, बोलेर अभिमत प्रकट गरिरहेकै छन् । तर त्यो संगसंगै नेपाली कांग्रेसको विधानले व्यवस्था गरेका बुथ, वडा, क्षेत्र, जिल्ला र प्रदेशस्तरीय नेतृत्वका बारेमासमेत गहन बहस जरुरी छ । कांग्रेसको रुपान्तरण चाहने हरेक नेता कार्यकर्ताले यो पक्षलाई नजरअन्दाज गर्नु भनेको व्यवहारमा संगठनको रुपान्तरण र बैचारिक गतिशीलतालाई ओझेलमा पार्नु हो । एउटा भनाई छ नि ‘मानिस स्वस्थ हुन उसको पुरै शरिर स्वस्थ हुनुपर्दछ ।’ यसैप्रकार तल्लो तहको सगठनको सुदृढीकरणविना केन्द्रीय संगठन र नेतृत्वको सुदृढीकरणले मात्रै नेपाली कांग्रेसको सिंगो सांगठनिक शरिरको स्वस्थता कायम गर्न सकिदैन । केन्द्रमा बसेर राजनीतिक भविष्य देख्ने र त्यही अनुसार बुथ, वडा, क्षेत्र, जिल्लामा गुटको विस्तार गर्ने प्रवृतिले नेपाली कांग्रेसले ठूलो मूल्य चुकाउदै आएको छ । अब सुधारिएको गतिशील, जनताको मन र मत दुबै जित्ने सबल संगठनसहितको कांग्रेसका लागि सबै तहको नेतृत्वका बारेमा पनि बहस गर्नै पर्दछ ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने सवाल, समस्या र तिनको समाधानका लागि बारम्बार जोडिनुपर्ने तल्लो तहको नेतृत्वले नै हो । तल्लो तहको नेतृत्वले नै संगठनलाई जनतासंग जोड्ने, संवाद संस्कृतिको माध्यमबाट पार्टीलाई आम नागरिकको पार्टी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । त्यसैले एक तहको नेतृत्वका विषयमा मात्र नभई सबै तहको नेतृत्वका बारेमा पनि आम क्रियाशील, शुभेच्छुक र कांग्रेसमाथि भरोसा गर्ने समूहबीच सघनरुपमा खुल्ला छलफल तथा बहस हुन आवश्यक छ । जस्तो सुकै प्रतिकुलतामा पनि नेपाली कांग्रेसका प्रत्येक सदस्य र शुभेच्छुकसँग कांग्रेस बनाउने सपना छ ।

कांग्रेसप्रति आशा, भरोसा र यसको भविष्यप्रति चिन्ता छ । संगसंगै निराशा र  अन्यौलता पनि छ । गुनासा र चित्त दुखाइ पनि छन् । यी सबै कुरामा गहन रुपमा समिक्षा गरी तमाम् अन्यौलताहरुलाई चिरेर आम कार्यकर्तामा आशा र भरोसाको दियो जगाउँने उपयुक्त समय महाधिवेशन नै हो । १४ औं महाधिवेशन नेपाली काग्रेसको ७०-७१ वर्षे जीवनको महत्वपूर्ण समयमा हुँदैछ । उमेरले बुढो होइन तमाम् अनुभवबाट खारिएको कांग्रेस देश बनाउने ऊर्जा, अठोट र संकल्पसहित थप तन्नेरी बन्दैछ भनेर राष्ट्रिय र अन्तराष्ट्रियरुपमासमेत आस्वस्त पार्न महाधिवेशनबाट गतिशील विचार, एजेण्डा र नेतृत्वको हस्तान्तरण, पुस्तान्तरणसहित पार्टीको रुपान्तरण अपरिहार्य छ । यो समयको माग र महाधिवेशनको मूल कार्यभार पनि हो ।

महाधिवेशनको आधार तयार गर्न अहिले नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रारम्भिक कार्य अगाडी बढिरहेको छ । नेपाली कांग्रेसमा आस्थावान सबै तहका नेता वा सदस्यले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता प्राप्त गर्नु सबैभन्दा महत्वपूर्ण कार्य हो । विधानतः प्रत्येक वर्ष क्रियाशील सदस्यले आफनो सदस्यता नवीकरण गर्ने र एक वर्ष अगाडी साधारण सदस्यता लिएको व्यक्तिले नयाँ क्रियाशील सदस्यता लिने कुरामा चनाखो हुनुपर्नेछ । नेपाली कांग्रेस स्वभावैतः क्याडर नभई मासमा आधारित पार्टी हो । परम्परागत कर्मकाण्डी क्रियाशील सदस्यता वितरणको निरन्तरताले काँग्रेसमा रुपान्तरण हुन सक्दैन् । यसका लागि आम मानिस जो लोकतन्त्र र कांग्रेसमाथि आस्था राख्दछन् तिनलाई स्वस्फूर्त क्रियाशील सदस्यता लिनका लागि उत्प्रेरित गर्न जरुरी छ । आफूलाई मत हाल्छ कि हाल्दैन भनेर निर्क्यौल गरेपछि मात्रै क्रियाशील सदस्यता वितरण गर्ने कार्यले व्यक्तिलाई फाइदा पुर्‍याए पनि सिंगो नेपाली कांग्रेसलाई फाइदा पुग्दैन भन्ने विगतका अनुभवबाट सिक्दै रेडियो, स्थानीय एफ एम, पत्रपत्रिका र बुथ कमिटिमा रहेका सार्वजनिक स्थलमा सूचना जारी गरी स्वस्थरुपमा सदस्यता दिने कुरा सुनिश्चित गर्नु पर्दछ । यी तमाम प्राविधिक कुरा र समयको मागहरुका बारेमा पनि छलफल जरुरी छ । आम क्रियाशील सदस्यहरुबाट स्वतन्त्रपूर्वक नेतृत्व छान्ने प्रक्रिया सुनिश्चित गर्न सकेमा मात्र कांग्रेसमा थप उर्जा थपिनेछ ।

यति मात्रै होइन उमेर समूहका आधारमा अहिले नेपाल युवा बाहुल्य देशको रुपमा चिनिन्छ । कांग्रेसले आगामी महाधिवेशनमा युवाहरुलाई कसरी आकर्षित गर्छ भन्ने कुरा सबैले हेरिरहेका छन् । यसैले पनि बढी भन्दा बढी क्रियाशील सदस्यता लिन उत्प्रेरित गरी स्थानीय तहको नेतृत्वमा ३५ वर्ष मुनिको उमेर समूहका युवालाई समेट्ने वातावरण निर्माण गर्नु पर्दछ । हिजो नेपाली कांग्रेसका प्रमुख एजेण्डा निरंकुशताविरुद्ध लड्ने, राणा शाासन, पञ्चायती व्यवस्था, राजतन्त्र अन्त्य गर्ने र नागरिक तथा राजनीतिक अधिकार स्थापना गर्ने थिए । तर, आज एजेण्डा फेरिएका छन् ।

आमनागरिकको चेतना, आवश्यकता र आकांक्षाहरु फेरिएका छन् । सन्देश प्रवाह गर्ने तौर तरिका, सोच र शैलीमा आमुल परिवर्तन भएको छ । अब परम्परागत शैली र व्यवहारले बदलिदो परिवेशमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सम्भव छैन । अब व्यक्ति चयनले मात्रै पुग्दैन उसको चरित्र, राजनीतिप्रतिको निष्ठा, इमान्दारितासंगै पार्टी, संगठन र कांग्रेससंग फाटेका मन जोड्ने, जनसवालमा खरो र सक्रिय रुपमा उपस्थित भई निर्वाचनमा मत पनि जाड्ने दृढ संकल्पसहितको नेतृत्व चयन गरिनु पर्दछ ।

नेतृत्व को हुने र कस्तो हुने विषय त महत्वपूर्ण छ नै, त्योसंगै अपारदर्शी क्रियाशील सदस्यता वितरण र आफ्नै पार्टीका क्रियाशील सदस्य को हुन् भनेर आम कार्यकर्ताले थाहा पाउने व्यवस्था सुनिश्चित गर्ने, पार्टीका सबै नेता कार्यकर्ताले विनाभेदभाव अवसर पाउने अवस्था सुनिश्चित गर्न १४ औ महाधिवेशनमा बुथ, वडा, प्रदेश, संघीय, क्षेत्रीय, जिल्ला र प्रदेश तहका कार्यसमितिमा बस्ने पदाधिकारी र सभापतिले आगामी ५ वर्षसम्म कुनै पनि लाभको पदमा नबस्ने र कुनै पनि निर्वाचनमा उम्मेदवार नहुने संकल्पसहित सार्वजनिक घोषणा गर्ने र क्षमतानुसारको जिम्मेवारी प्रदान गर्ने, पार्टीमा थिति र विधि बसाल्न वार्षिक क्यालेण्डरअनुसार कार्यगर्ने, गुट बनाउने नभई पार्टी निर्माणमा जोड दिई मतभेदहरुको सही व्यवस्थापनमा ध्यान दिनेजस्ता कुराहरुमा पनि थयोचित ध्यान दिन जरुरी छ ।

अन्त्यमा कोभिड १९ का कारण महाधिवेशनको कार्यतालिकामा केही परिवर्तन हुनसक्ने देखिन्छ । तर पनि लगत्तै हुने स्थानीय तह र आम निर्वाचनलाई ध्यानमा राखेर महाधिवेशनका समयमै काम सम्पन्न गर्न केन्द्रीय नेतृत्वले पहलकदमी लिनुपर्छ । त्यसका साथै नेपाली कांग्रेसको पहिलो पुस्ताका नेताहरुले अभिभावकत्व ग्रहण गरी देशैभरी सहमतिमै नेतृत्व चयन गर्न सके आम कार्यकर्ता र जनतामा नयाँ उत्साह सञ्चार हुनेछ । यि सबै कुरालाई ध्यानमा राखी फेरि पनि नेपालको स्वभिमानलाई विश्वसामु उचो बनाउन, राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको प्रतिवद्धतालाई नयाँ ढंगले निर्वाह गर्न र जनआकांक्षा, आवश्यकता एवं आशाहरु बदलिएको परिवेशमा  कांग्रेसको आवश्यकता र सान्दर्भिकतालाई जिवन्त बनाउन महाधिवेशनमार्फत ठोस दिशानिर्देशसहितको पुनर्जागरणका लागि सबै तयार हुन जरुरी छ ।
(लेखक तरुण दलका निवर्तमान केन्द्रीय सदस्य हुन्)

तपाईको प्रतिक्रिया