ताप्लेजुङ । पर्यटनमन्त्री योगेश भट्टराईसँगै ओलाङ्चुगोलामा स्थापना भएको बीओपी उद्घाटनमा गएका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय सात दिनलाई सिल गरिएको छ ।

प्रशासन सात दिनलाई बन्द गरिने तथा प्रजिअका सम्पर्कमा आएका सबैको पिसिआर परीक्षणसमेत गरिने प्रशासनका नायव सुब्बा रमेशप्रसाद सिग्देलले जानकारी दिए ।

ओलाङ्चुङगोलामा स्थापना हुने बिओपी उद्घाटनका क्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराईसँगै एउटै हेलिकोप्टरमा सवार चापागाईंलाई पनि संक्रमण पुष्टि भएको हो । मन्त्री भट्टराईलाई पाँच दिनअघि नै संक्रमणको पुष्टि भइसकेको छ ।

बिओपी उद्घाटनको कार्यक्रम सकेर फर्किएको भोलिपल्ट देखिएको हल्का ज्वरोका आधारमा प्रजिअ चापागाईंको स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर पठाइएको थियो ।

स्वाब संकलनपछि प्रजिअ चापागाईं प्रशासन कार्यालयकै आवास कक्षको क्वारेन्टिनमा बसेका थिए । उनले आफ्नो स्वाब परीक्षणको रिपोर्ट पजिटिभ आएकाले थप सतर्कताका साथ आइसोलेसनमा रहने बताए ।

तपाईको प्रतिक्रिया