सिराहा । आँखामा लागेको चोटको समयमै उपचार नहुँदा मासु पलाएर समस्यामा परेकी सिरहाको मिर्चैया नगरपालिका-३, राघोपुर बकथवलाकी ११ वर्षीय नेहाकुमारी सदाको निःशुल्क उपचार भएको छ । गरिबीका कारण आँखाको उपचारमा समस्या भएको समाचार प्रकासित भएको थियो । सामाजिक संघसंस्था र अभियन्ताहरुले उनको उपचारकालागि काठमाडौं ल्याएका थिए ।

आर्थिक अवस्था कमजोर रहेको मुसहर परिवारकी नेहा आँखामा देखिएको समस्याका कारण विद्यालय जानबाट समेत बञ्चित भएको समाचार पढेपछि विभिन्न व्यक्ति र संस्थाहरुले देशविदेशबाट सहयोग गरेका छन् । काठमाडौंको गौशालास्थित तिलगंगा आँखा अस्पतालले निःशुल्क अपरेसन गरिदिएको छ । दुई साता लामो उपचारपछि नेहा घर फर्किएकी छिन् । अब उनी स्कुल समेत जान सक्छिन् ।

उनलाई स्कुल पठाउन भोर अनुसन्धानमुलक संस्थाले विद्यालय पोशाक, झोला र जुत्तासहित शैक्षिक सामाग्री सहयोग गरेको छ । उनको उपचारकालागि दुई लाख आठ हजार पाँच सय ९७ रुपैयाँ उठेको थियो । संकलित रकममध्ये काठमाडौं आवत् जावत् र औषधी लगायतमा ७७ हजार ६१० रुपैयाँ खर्च भएको छ । नेहाको उपचारमा स्थानीय सुनिल र दिलचन सदाले विशेष भूमिका खेलेका थिए ।

२० हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरी बाँकी रहेको रकम नेहा र उसको भाइको नाममा बैंकमा खाता खोली बचत गरिदिने तयारी रहेको अभियन्ता पचु माझी मुसहरले जानकारी दिए ।

उनको उपचारकालागि सहयोग पुर्‍याउने व्यक्तिहरुलाई स्थानीय जनकल्याण समाजले सोमबार एक कार्यक्रमका बीच सम्मान समेत गरेको छ । सानैमा आँखामा चोट लागेपछि समयमै उपचार नहुँदा उनको दायाँ आँखामा मासु पलाएको थियो । मासु पलाएपछि उनले दृष्टि गुमाएकी थिइन् । आफ्नी आमा बित्दा नेहा दुई वर्षकी मात्रै थिइन् ।
उनका बुवा ४५ वर्षे भोला सदाले गरिबीकै कारण समयमै छोरीको उपचार गर्न पाएकी थिएनन् ।

उनी परिवारको दुई छाक जोहो गर्नका लागि गाउँमै मजदुरी गर्छन् । ‘फुर्सदमा जंगलबाट दाउरा ल्याएर बेचेको पैसाले हातमुख जोड्नै मुस्किल पर्छ,’ उनी भन्छन्, ‘त्यही पनि अहिले लकडाउनका कारण गर्न पाएको छैन ।’

आँखामा मासु पलाएर धेरै नै गाह्रो भएपछि स्थानीयको सहयोगमा भोलाले लाहान अस्पताल लगेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो । गाउँमा भोलाको आफ्नो घर भएको दुई धुर ऐलानी जग्गाबाहेक आफ्नो भन्नु केही छैन । नेहा भोलाकी एक्ली छोरी हुन् ।

तपाईको प्रतिक्रिया