कैलाली, १७ मंसिर  । सात नम्बर प्रदेशको कैलाली निर्वाचन क्षेत्र –५ मा चुनावी सरगर्मी निकै बढेको छ । नेपाली कांग्रेसको प्रभाव क्षेत्रको रुपमा हेरिने कैलाली जिल्लामा एमाले र माओवादी केन्द्रको गठबन्धन पछि भने चुनावी प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री पत्नी डाक्टर आरजु राणा देउवाको निर्वाचन क्षेत्र भएकाले पनि कैलाली –५ लाई चासोका साथ हेरिएको छ । यो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट एमालेका नारदमुनी राना उम्मेदवार हुनुहुन्छ । चुनावमा मुख्यगरी आरजु र रानाको बिचमा प्रतिष्पर्धा हुने नागरिकले अनुमान गरेका छन् ।

तर पछिल्लो समय विवेकशिल साझा पार्टीको तर्फबाट उम्मेदवार बनेका कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारीलार्इृ यो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धिको रुपमा हेरिएको छ । त्यसैले पनि कैलाली –५ मा त्रिपक्षिय चुनावी भिडन्त हुनसक्ने आकँलन गरिएको छ ।

०७० सालको दोस्रो संविधानसभा चुनावमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जितेको यो क्षेत्रमा प्रधानमन्त्री देउवाकै पत्नी डाक्टर आरजु राणा देउवा प्रत्यक्षतर्फ प्रतिस्पर्धामा उत्रिएपछि यो क्षेत्र चर्चामा आएको हो ।

कांग्रेसको पकड राम्रो मानिएको क्षेत्र नम्बर ५ रोज्नुभएकी डाक्टर राणाले यस क्षेत्रको विकास र समृद्धी आफ्नो मुख्य एजेण्डा भएको बताउँदै आउनुभएको छ । उहाँले क्षेत्र नम्बर –५ का सबै सडक कालोपत्रे गर्ने, विभिन्न उद्योग खोल्ने, कृर्षी क्याम्पस खोल्ने लगायतका नाराहरु चुनावी प्रचारमा घन्काई रहनुभएको छ ।

तर प्रधानमन्त्री पत्नी राणाका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा भने आफ्नै पार्टी भित्रको किचलो देखीएको छ । ०७० को संविधानसभा चुनावमा प्रधानमन्त्री देउवाले डडेल्धुरासँगै यो निर्वाचन क्षेत्रमा पनि जित हात पारेपछि यो क्षेत्रलाई छोड्नुभएको थियो । त्यसपछि भएको उप–निर्वाचनमा कांग्रेसकै पुष्करनाथ ओझा विजयी हुनुभएको थियो ।

तर निर्वाचन आउन ५ दिन बाँकी र मौन अवधीका लागी २ दिन मात्रै बाँकी रहेका बेला अहिले सम्म निवर्तमान सासंद पुष्करनाथ ओझा राणाको प्रचारमा देखीनुभएको छैन् । कैलाली –५ बाट टिकट नपाएर रुष्ट भएका ओझा लामो समय भारतमा बस्नुभयो भने नेपाल आउने वित्तिकै कैलालीकै निर्वाचन क्षेत्र नम्वर –२ मा प्रचारको लागी जानुभएको छ । तर आफ्नो क्षेत्रका मतदाता माझ अहिले सम्म पुग्नुभएको छैन् ।

आफ्नै पार्टीका निवर्तमान सासंदले नै राणालाई असहयोग गरेपछि राणाको अग्नी परिक्षाको रुपमा यो चुनावलाई हेरिएको छ । राणालाई विपक्षी उम्मेदवारले टुरिष्ट उम्मेदवारको आरोप लगाईरहेका बेला चुनावीसभा र घरदैलोमा राणाले आफू टुरिष्ट उम्मेदवार नभएको भन्दै स्पष्ट पार्नुभएको छ । सात नम्बर प्रदेशको एकमात्र उप–महानगरपालिका रहेको यो क्षेत्र राजनीतिक रूपमा महत्व राख्ने क्षेत्र हो ।

१९ वटा वडा रहेको धनगढी उपमहानगरपालिकामा स्थानीय तह चुनावमा प्रमुख, उपप्रमुख सहित १२ वटा वडा कांग्रेस, ५ वटा माओवादी र २ वटा वडामा एमाले विजयी भएको थियो । स्थानीय तह चुनावको आधारमा यो क्षेत्रमा कांग्रेसले भोट पाउँछ की पाउँदैन भन्ने पनि प्रन खडा भएको छ भने स्थानीय तहको चुनावपछि धनगढी उप–महानगरपालिका क्षेत्रमा मात्रै झण्डै १० हजार नयाँ मतदाता थपिएका छन् ।

यता वाम गठबन्धनका साझा उम्मेदवार नारदमुनि रानाले ‘थारु’ समुदायको मत तान्ने अपेक्षा सहित जित्ने दावी गरिरहनुभएको छ । राना थारूको बाक्लो बसोबास रहेको यस क्षेत्रमा त्यो समुदायका ३० हजार मतदाता रहेका छन् ।

धनगढी नगरपालिका हुँदा ०५४ सालको स्थानीय तह चुनावमा उपमेयरमा विजयी हुनुभएका राना यस क्षेत्रका विभिन्न सामाजिक संस्थामा पनि कार्यरत रहनुभएको छ । ०६४ सालमा समानुपातिक सासंद बन्नुभएका रानाले आफेनो राजनीतिमा लामो समयसम्म लगानी र योगदान रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरीरहनुभएको छ ।

धनगढी उपहानगरपालिकालाई एउटा व्यवस्थित र सुन्दर शहरका रुपमा परिणत गर्ने, कृषि क्षेत्रलाई आधुनिकीकरण गर्दै लैजाने, जलस्रोत विकासलाई प्राथमिकतामा राखेर ऊर्जा उत्पादन गर्ने प्रतिवद्धता सहित मतदाता माझ जानुभएका रानालाई ‘रानाथारु’ समुदायबाटै कत्तिको सहयोग हुन्छ त्यस्ले पनि चुनावी नतिजा फरक पार्ने देखीएको छ ।

‘रानाथारु’ समुदायको मत रानाले प्रभावित गर्न सके नतिजा उहाँको पोल्टामा जान सक्ने स्थानीयको अनुमान रहेको छ ।

विभिन्न मुक्त कमैया शिविरमा रहेका थारुराना, सकुम्बासी लगायतका समुदायमा आर्थिक प्रभावले पनि काम गर्ने भएकाले रानाथारुको मत पाउन भने रानालाई सहज देखिन्न । स्थानीय तहको चुनावमा धनगढीको मेयरमा एकजना मात्रै राना उम्मेदवार माओवादी केन्द्रका रामसमझ रानाले १० हजार बढि भोट पाएर तेश्रो हुनुभएको थियो ।

तर रामसमझ अहिले वाम गठबन्धनलाई छोडेर नेपाली कांग्रेसमा प्रवेश गरिसक्नुभएको छ । रामसमझले नेपाली कांग्रेसतर्फ कति मत तान्न सक्छन् त्यस्को पनि लेखाजोखा भइरहेको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्वर –५ को मैदानका तेश्रा खेलाडीको रुपमा लिइएका विवेकशील साझाबाट प्रत्यक्षतर्फ उम्मेदवार कैलाली उद्योग वाणीज्य संघका पूर्व अध्यक्ष दिनेशराज भण्डारी । यस क्षेत्रमा चर्चीत स्थानीय व्यवसायी तथा पर्यटनका क्षेत्रमा थुप्रै काम गरेकाले उहाँको छवि राम्रो रहेको छ ।

स्थानीय तहको चुनावमा धनगढी उप–महानगरपालीकाको मेयरमा स्वतन्त्र उम्मेदवार व्यवसायी गोपाल हमालले अहिले प्रदेश नम्वर ७ को विवेकशील साझा पार्टीको नेतृत्व गर्नुभएको छ । स्थानीय तहको चुनावमा ठूला दल एमाले र माओवादीलाई पछाडी पार्दै साढे १२ हजार मतका साथ दोश्रो हुनुभएका हमालको राम्रो छवीले पनि भण्डारीको पक्षमा पनि राम्रो जनमत देखीएको छ । पुराना दलप्रति मतदाताको निराशालाई समात्दै विवेकशीलले आफ्नो प्रचार अभियानलाई तिव्र पारेको छ ।

कैलाली निर्वाचन क्षेत्र –५ मा डोटीबाट बसाई सरेकाको पनि ठूलो मतदाता भएकाले डोटीबाटै बसाई सर्नुभएका भण्डारीलाई फाईदा हुने देखीएको छ । चुनावको बिचमा अहिले यो क्षेत्रमा थ्रीडिको नारा पनि लागेको छ । थ्रीडि भन्नाले डोटीबाट बसाई सरेकाले डोटीकै प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका उम्मेदवार दिनेशराज भण्डारी र प्रदेशमा कांग्रेसका डिल्लीराज पन्तलाई जिताउने भनेर नारा पनि लागेको छ ।

विवेकशीलबाट उम्मेदवार बनेका भण्डारी अन्य दलले झुट्टा आश्वासन धेरै दिइसकेकाले अब मतदाताले नयाँ दललाई भोट दिने विश्वास व्यक्त गर्नुहुन्छ । साथै उद्योग वाणीज्य संघमा भएका बेला धनगढी विमानस्थल, धनगढी–दिपायल फास्ट ट्रयाक लगायतका ठूला योजनाको लागि आफूले गरेको संघर्षको पनि जनताले मुल्याङकन गर्ने भण्डारीको दावी छ ।

०४८ सालमा भएको प्रतिनिधिसभा चुनावमा कांग्रेसका नेता टेकबहादुर चोखालले यो क्षेत्र जित्नुभएको थियो भने ०५२ सालमा एमालेका नेता महेश्वर पाठकले चुनाव जित्नुभयो, । त्यसपछि ०६४ सालमा भएको संविधानसभाको पहिलो चुनावमामा साबिकको कैलाली ६ अर्थात अहिलेको कैलाली ५ का मतदाताले फरक परिणाम दिए ।

तत्कालीन नेकपा माओवादीका उम्मेदवार लिला भण्डारीले चुनाव जित्नुभयो । ०७० सालको दोस्रो संविधानसभा चुनावमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा झण्डै दोब्बर मत अन्तरले विजयी हुनुभयो । पछिल्ला केही चुनावलाई आधार मान्ने हो भने यो क्षेत्र कांग्रेसको पकडको क्षेत्र मान्न सकिन्छ तर इतिहास पल्टाउँदा यो क्षेत्रलाई कसैका लागि पनि बलियो मान्न सकिने अवस्था छैन । तरपनि आरज्, नारदमुनी र भण्डारी को भन्दा को कम ? भन्दै चुनाव प्रचारमा छन् ।

तपाईको प्रतिक्रिया