काठमाडौं । मन्त्रिमण्डल पुनगर्ठन, संवैधानिक तथा राजनीतिक नियुक्ति र पार्टी एकताका काम टुंगाउने विषयमा आज (शनिबार) पनि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई अध्यक्षबीच तीन घण्टा छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्की टुङ्गिएको छ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा ठोस सहमति निकाल्न नसकी सकिएको हो । छलफलमा ठोस प्रगति नभएपछि १२ बजे बालुवाटार पुगेका प्रचण्ड ३ बजे बालुवाटारबाट बाहिरिएका थिए ।

आजको छलफल पार्टीको सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने विषयमा केन्द्रित भए पनि अध्यक्षद्वयबीच कुनै सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच कुरा नमिलेको स्रोतको भनाइ छ । गत भदौ २६ मा बसेको स्थायी कमिटीको बैठकपछि नियमित छलफलमा छन् । स्थायी कमिटी बैठक सकिएयता ओली–प्रचण्डबीचको यो १५ औं भेटवार्ता हो ।

लगातारजसो छलफल भए पनि ओली र प्रचण्ड मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक तथा राजनीतिक र नियुक्ति पार्टी एकीकरणका बाँकी काम सक्ने विषयमा सहमति जुटाउन असफल भएका छन् ।

तपाईको प्रतिक्रिया