– मित्र परियार

असोज महिना छिप्पिँदै गयो
झरी बादल, हिलो मैलो साम्य भयो।
सबै भन्छन्– आहा, दसैं आयो!
मेरो जीवनमा चैं असार सुरू भयो!

गाउँका ठिटाहरूको मुखै रसाउने गरी
तरुनीहरूको बढ्दो छाती र कम्मर नाप्छु।
सबको लम्बाइ र चौडाइ हिसाब राख्छु।
थाकेको ज्यानले थोत्रो मेसिनमा
दिनरात सबको दसैं सिउँछु।

टीकाको भोलि पर्सि तिर
सबैलाई चिरिच्याट्ट पारेर
पसिनाको फल लिन घर-घर डुल्छु।
आइस् दमै भाग माग्न?
हड्डी फाल्देलान् कि– कुकुर भित्र ढुक्छ
म चैं बाहिरै पिँढीमा ढुक्छु।

एक मुठी रक्सी दिन्छन्
एक टुक्रा सेल दिन्छन्
दुई तीन चोक्टा मासु दिन्छन्।
खान्छु, पानी मागेर भाँडा पखाल्छु।
आँगनको छेउमा घोप्ट्याउँछु।

लुगा सिएको ज्याला
दुई तीन माना चामल दिन्छन्
दुई चार सुकुटी हाल्दिन्छन्।
बोका वा राँगाको पुच्छर दिन्छन्।
सारा अपमान पोको पार्छु
र रक्सी मातेको भान पार्दै
उफ्रिँदै, दुनियाँलाई सराप्दै घर फर्कन्छु।

अष्टमीमा कोटमा पूजा लाग्छ
म दमाह हान्छु
फोक्सो फुलाउँदै नर्सिंगा फुक्छु।
देउतालाई बाहिरैबाट नमस्कार चढाउँछु।
बलि दिएको पुच्छर च्याप्छु
पातमा भुइँमा राखेको
रातो अपमानको टीको लाउँछु!

मेहेनत र सीपको बदला
दसैंले मलाई मगन्ते बनायो।
प्रत्येक बोका र राँगा सँगै
मेरो इज्जत र स्वाभिमान बलि चढायो।
लाग्न थालेको छ अचेल-
यो मेरो दसैं कसरी भयो?

तपाईको प्रतिक्रिया