बाबुराम गौतम

नेपाली समाज आधुनिक ज्ञान, सीप, प्रविधि र वैज्ञानिक चमत्कारहरुको अलवा पनि रुपान्तरित हुन सकेको छैन।शिक्षामा अग्रगामी छलाङ्ग मारी विकास गरेता पनि संस्कार युक्त शिक्षामा नेपाली समाज पछि परेको देखिन्छ। समाजमा घरेलु हिंसा, वालहिंसा, छुवाछुत, दलित हिंसा, बलात्कार, एसिड आक्रमण जस्ता सामाजिक घटनाहरुले पराकाष्टानै नाघेको देखिन्छ। पछिल्लो दशकलाई फर्केर हेर्दा समाजमा बलात्कारका घटनाहरु एकदमै बढेका छन्। बालिका, युवती, एकल महिला, वृद्धा सबै बलात्कारको शिकार भएको घटना प्रत्यक दिन पत्रपत्रिकाको हेडलाइनमा देख्न पाइन्छ।

नेपालमा आजको ताजा तथ्याङ्क अनुसार दैनिक रुपमा ६ जना बलात्कार पीडितको केस प्रहरीमा दर्ता भएका देखिन्छ। अझ यसै क्षेत्रमा कलम चलाउने विज्ञका अनुसार मात्र १० प्रतिशत बलात्कारका घटना प्रहरीमा दर्ता हुन्छन्। बाँकी सबै डर, त्रास, धम्कि र प्रभावका कारण निमिट्यान्न पारिन्छन्।

पछिल्ला दिनमा बलात्कारका घटना साच्चिकै किन बढी रहेका छन् त ? अझ अहिलेको ताजा तथ्याङ्क हेर्ने हो भने यो वर्ष मात्रै २१४४ ( आ.व. २०१९।२०२०) बलात्कारका घटना नेपाल प्रहरीमा दर्ता भएको देखिन्छ। विश्वका अति उच्च बलात्कारको दर भएका देशहरु अमेरीका, (प्रति ६ जनामा १ जना) , साउथ अफ्रिका , स्विडेन ( प्रति ४ जनामा १ जना) , भारत, वेलायत, जर्मनि, फ्रान्स, क्यानडा, श्रीलंका र एथियोपिया (प्रत्येक ६०%महिलाहरु कुनै न कुनै समयमा वलात्कृत हुन्छन भनिएको छ) जस्तै हाम्रो देश पनि अगाडि वढि राखेको छ। हाम्रो दुर्दशा पनि यो दशकमा त्यो भन्दा धेरै टाढा छैन।

यी त केहि प्रतिनिधि घटनाहरु मात्र हुन् जसले हाम्रो समाज कता जादै छ भन्ने कुरा प्रष्ट देखाउदछन्।

– २०६८ साल चैत्र महिनामा बैतडीकी १४ वर्षीया पूजा वोहरा एस. एल. सी. दिन सदरमुकाम बसेको बेला पुस्तक पसलमा समान खरिद गर्न गएको समयमा पानीमा केहि अखाद्य वस्तु मिसाई बलात्कार गरिएको घटना ताजा छ नेपाली मनस्पटलमा। अभियुक्तलाई २०६९ मा अदालत लगेपछि ठूलो आर्थिक चलखेल गरी छुटकारा दिइएको भन्ने आरोप पनि आएको थियो। उनले तत्कालीन कानुन मन्त्रिलाई लेखेको ह्ृदयविदारक पत्र सबैको सामु ताजा नै छ।

-२०७४ माघ २२ गते रुपन्देही कोटिहामाईमा १२ वर्षीया बालिकामाथि जवरजस्ती करणी, सुदिप कुमार धोवि पक्राउ।

– २०७५ साउनमा कंचनपुर महेन्द्रनगरमा १३ वर्षीया वालिका निर्मला पन्त बलात्कार पछि हत्या। उक्त केस अझै राज्य निकायबाट छानविनको दायरमा आउन सकेन। मानसिक विक्षिप्तता एवं पारिवारिक विचलन अहिले पनि हेर्न लायक छैन। उक्त घटनामा राजनीति गर्नेहरु अहिलेसम्म कहाँ कहाँ पुगिसके, केस जहाँ को त्यहि छ।

-२०७६ असार २० गते काभ्रेको तेमालमा १३ वर्षीया वालिका एलिसा तामाङ्गको बलात्कार पछि हत्या।

-धनुषा जनकपुरधामकी कंचनकुमारी पूर्वीयाको बलात्कार अनि हत्या।

-दुईहप्ता पहिला मात्र चन्द्रागिरी तिनथानामा काठमाडांै लगिदिन्छु भनि सर्लाहीकी १७ वर्षीया किशोरीमाथि मालवाहक ट्रकमानै सामूहिक बलात्कार।

-गत बुधबार मास्टा गाउपालिका २ वझाङ्ग कि कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिका संझना बिक. को गाईगोठमा जादा नजिकैको मंन्दिरमा लगि बलात्कार अनि त्रिशुल रोपि हत्या।

– २०७७ असोज १७ गते शनिबार रत्नपार्कबाट भक्तपुर जाने बसमा १७ वर्षीया किशोरीको बसभित्रै सामूहिक बलात्कार।

-२०७७ असोज २० गते तीन तीन ओटा पत्रिकाको कभर हेडमा सामूहिक बलात्कारको घटना प्रकाशित, बाबुवाट छोरी बलात्कृत, शिक्षकबाट ५ वर्षीया बालिका बलात्कृत।

यी त केहि प्रतिनिधि घटना मात्र हुन्। तपाई हाम्रो जानकारीमा नआएका र नल्याइएका कति यस्ता घटनाहरु अहिले दिनप्रतिदिन घटिराखेका छन् किन त ? गृहमन्त्रि रामवहादुर थापा अस्तिमात्र नेपालको बलात्कारको अवस्था त्यति चिन्ताजनक छैन भन्नुभएको घटना हामी सवैलाई ताजै छ। पूजा वोहराको त्यो वलिन्धारा आँसु निर्मला पन्त हुँदै सम्झना विकसम्म आइपुग्दा पनि अपराधीहरु उन्मुक्ति पाइराख्नु गणतान्त्रिक राज्यको उपहास भने पक्कै हो। बलात्कार हिजो पनि हुन्थ्यो, आज पनि हुन्छन भन्ने आशक्तिको भावहरु सुन्नमा पनि पाईन्छ। मिडियाले गर्दा मात्रै यसको प्रभाव बढेजस्तो देखिएको हो भन्ने कुतर्क गर्ने जमात पनि ठूलै छ। तर सन् २०१८ भन्दा सन् २०२० मा आईपुग्दा २५ र्औ स्थान माथि आइसकेको छ नेपाल। अब छिटैनै १० औं स्थानमा नाम लेखाउन लालायित जस्तो देखिन्छ। निर्मुल त हुन सक्दैन परिकल्पना नगरौं तर किन न्युनिकरण हुन सकेनन् बलात्कारका घटना।

बलात्कार घटनाले प्रशय पाईराख्नुमा कतै हाम्रो उदण्ड समाजको पितृसत्तात्मक सोच त होइन ? यो समाजले छोरा र छोरीप्रति हेर्ने दृष्टिकोण फरक छ। छोरी वर्गलाई हेरिने हेयभावले कतै बलात्कारलाई मलजल गरेको त छैन ? हामी जतिसुकै शैक्षिक अवस्थामा सुदृढिकरण, शैक्षिक अवस्था सुधार भनेतापनि हामीले दिन चुकेको संस्कारयुक्त शिक्षाले त बलात्कारलाई बढावा दिइराखेको छैन ? बलात्कृतको फोटो खिचि बलात्कारीलाई पक्षपोषण गर्न उदृत समाज, आफ्नो परिवारको कमि कमजोरीमाथि बहादुरी सम्झने अभिभावकको घृडित सोचको कारण हाम्रा चेलीहरु बाबु, मामा, काका, गुरु, आफन्त, दाइ, भाइ, घर, छिमेक, समाज कहिबाट पनि सुरक्षित छैनन्। आखिर के चाहन्छ त नेपाली समाज ? के कस्तो शिक्षा र संस्कार दिन्छ त नेपाली समाज ?

बलात्कार भयो, घटना त सकियो, घटनामै मात्र कहाँ सिमित रहन्छ र यसको प्रभाव ? पितृसक्तात्मक समाजमा यो यातना बाचुन्जेल लिएर पटक पटक मरेर बाँच्नु पर्दछ हाम्रो समाजमा उनीहरुले। हत्या नभएर बाचेका नारीलाई पनि हेर्ने छुटै ऐना छ नेपाली समाजमा। जहाँ बलात्कारिको नाम निशाना केहि देखिदैन मात्र बलात्कृतको। उनीहरुको पुनस्थापनाको न त समाज, न त दोषि पक्ष, न त राज्य कसैले पनि त्यो दायित्व वहन गर्न नखोज्नु अर्को अभिषाप हो। अझ बलात्कारपछि जन्मने अज्ञात सन्तान र त्यो नारीले जीन्दगीभर सहनुपर्ने पिडा त कहाली लाग्दो छ।

नेपालको नयाँ संविधान वि.सं. २०७२ को घोषणा पछि मुलुकी ऐन २०७४ घोषणा भयो। २०७५ भदौ १ पछि कार्यान्वयन भएको ऐनमा परिच्छेद १८ को उपदफा २२४ देखि २२८ सम्म बलात्कार र बलात्कारका कसुरको सजाय सम्वन्धमा लेखिएको छ। दफा २२४ मा यौन करणी, यौन दुब्र्यवहार के हो र त्यसतालाई कसुर के रहने भन्ने व्याख्या गरिएको छ। दफा २२५ मा बालयौन दुरुपयोग, २२६ मा पशुकरणी बारेमा मुलुकी ऐनमा व्याख्या गरिएको मेरो देशको कानुन बलात्कार एवं बालयौन दुराचार जस्ता जघन्य अपराधको वारेमा मौन वसेको भने होइन। दफा २२७ मा कसुर र दण्ड सजायको व्यवस्था पनि गरेको छ। तर राज्यले दण्ड र सजायको व्यवस्था र व्याख्या गर्दागर्दै पनि किन न्युनिकरण हुन सकेन त बलात्कार घटना ?

रक्षा नेपाल, माइती नेपाल, मानव अधिकार तथा शान्ति समाज जस्ता विविध संघ संगठनले आवाज नउठाएका पनि त होइनन्। अधिकारकर्मीहरु बलात्कारीलाई लिंङ्गछेदन तथा आजिवन जेल सजायका दण्ड हुनुपर्दछ भनेर माग नगरेका पनि होइनन्। वौद्धिक व्यक्तित्वहरु प्राध्यापक डा. संजिव उप्रेती बलात्कार विरुद्धको अभियानमा खरो उत्रेर लाग्नुभएको छ। कृष्ण पहाडीले बलात्कार मानवता विरोधी अपराध भनेर मानवअधिकार तथा शान्ति समाज मार्फत कार्यक्रमहरु ल्याउनुभएको छ। विभिद दैनिक रुपमा छोरी बचाउ, बेटि बचाउ अभियानहरु संचालन भएका छन्।

अधिवक्ता स्वागत नेपाल अवला र बलात्कृत छोरी चेलीको पक्षवाट निशुल्क वकालत गर्दै आउनुभएको छ। दैनिक रुपमा माइतिघर मण्डलामा वलात्कार विरोधी नाराका व्यानरहरु सडकै ढाक्नेगरी देखिन्छन्। आखिर किन घट्न सकेनन् त बलात्कार श्रृखलाहरु यत्रो अभियानहरु चल्दा खेरी, कानुनले दण्डित गर्दै गर्दा पनि ? झन किन मौलाइरहेछन् त बलात्कार घटनाहरु ? कतै हाम्रो कमजोर कानुनी दायराले त होइन ? वा समाजले देखाएको उदण्डता पन वा पैसा र शक्तिको वलमा उन्मक्त समाजको उपज हो ? न उच्च ओहदा , न कुनै दायरा, कहिलेसम्म मानव नरपशु भइरहन्छ ? तर किन ? कतै यो हाम्रो पितृसक्तात्मक समाज वा संस्कारहिन शिक्षा प्रणाली त यसको कारण होइन ? अब व्यक्ति होइन पद्धति र संस्कार परिवर्तन गर्न समय आएको छ।

तपाईको प्रतिक्रिया