– चन्द्र इङनाम
नेपालको पूर्वाञ्चलमा अबस्थित चर्चित स्थानहरूमध्ये आठराई सक्रान्ति बजार पनि एक हो । तर यसले चर्चाअनुसारको विकास चाहिँ पाएको देखिदैन ।

आठराईले धेरै जनालाई शिक्षाको आँखा दिएको छ । विशेष यसले राजनीतिक व्यक्तित्वहरू जन्माएको छ । अहिले पनि देशकै माथिल्लो ओहदामा आसीन छन् ।

प्रशासन, निजामती र निजी क्षेत्रको उच्चपदमा पनि आठराईलीहरूको उत्तिकै भीड छ । तर तीमध्ये कसैको पनि यो सुन्दर नगरीलाई सुधार गर्नेतर्फ ध्यान खिचिएको पाइदैन । लगभग एक दशकअघिको कुरो हो – थोरै दिनको वार्षिक विदा लिएर गाउँ पुगेको थिएँ ।

मेरो सामाजिक ज्ञान बल्ल पल्लवित हुदै थियोे । सीमित श्रोत र साधनको कारण ठूलो योजना बनाउन सम्भव थिएन । यसैले मैले पुर्नुसक्ने खाँचोका खोपिल्टोहरू खोज्दै हिड्ने क्रममा सक्रान्ति बजार पुगेँ । संयोगबस, डम्बर ईङनाम भतिजसँग मेरो भेट भयो ।

ईवा गा.वि.सको अध्यक्ष पदमा दुई कार्यकाल पूरा गरिसकेका डम्बर ईङनाम राजनीतिक रसमा घोलिएर परिवर्तन भैसकेका होलान् जस्तो लाग्यो । सामान्य भेटको औपचारिकता जनाउँदै बाटो लाग्न खोजेँ । तर धेरै सालअघि हाम्रा अतितका पानाहरू पल्टाइदिएर एक असल बन्धुमित्रको परिचय दिनुभयो ।

पुराना यादहरूले मथिङ्गल छोइदिदा भावनामा डुबेर लुथ्रुक्कै भयौं । विगतले दुवैलाई कसिराख्यो केहीबेर । त्यो साँझ बजारस्थित उहाँको जेठो छोराको घरमा रोकिन बाध्य भएँ । सक्रान्ति डाँडाको ठण्डा बताससँग पराजित हामीले ओड्ने सिरकको कारण रातैभरी गलफती मार्ने हामीलाई अवसर मिल्यो ।

हामीबीच धेरै कुराहरू भए । हाम्रा छलफल ईवा, ह्वाकु गाउँ, त्यहाँको समाज र सक्रान्ति बजारको विषयमा केन्द्रित थियो । खै, मैले केके बोलेँ कुन्नि, तर उहाँले गम्भीरताका साथ भावुक हुदै भन्नुभयो – “रानीपाटी भत्काइनुपछि कुनै सैद्धान्तिक कटाक्ष उभिएको होइन ।

यो एउटा अप्रिय घटना थियो । हाम्रो बालमस्तिष्कमा बुबाआमाको मुहार जस्तै खिचिएको सुन्दर रानीपाटीको तस्बिर अहिले देख्नु नपाउँदा प्रत्येक दिन मेरा आँखामा आँसुले भरिन्छन् । यसले एउटा पीडादायी परिणाम हामीभित्र छाडिदिएको छ । यो कहिले नपुरिने घाउसँगै बाँकी जीवन घिसार्दै जानुछ ।

सक्रान्ति बजारलाई आधुनिक शहरमा रुपान्तर गर्नका लागि पिउने पानी, ढलको व्यवस्था र बजारको विस्तार गर्ने आदिजस्ता अनेकौं कामहरू छन् । तर तल्लो, माथिल्लो, वल्लो र पल्लो टोलवासीहरू आफ्नाआफ्नै विचारमा अडिग रहने प्रवृत्ति र सबैपक्ष समझदारीमा आउनु नसक्दा विकासका कुराहरू ज्यूँ का त्यू परेका छन् ।

आठराईले आशीर्वादको हात शिरमा राखिदिएर भाग्यको मानो भर्नेहरू थुप्रैजना नेपालको ठूला शहरदेखि विश्वभर छरिएर बसेका छन् । तर सक्रान्ति बजारको लागि मुठ्ठी दिन तयार छैनन् उनीहरू । हामी स्थानीयहरूको मिलेमतोमा पनि धेरै विकास गर्न सकिन्छ ।

तर यसलाई फुटाउने तत्वहरू जताततै छन् । विकासबाट लाभान्वित हुनसक्ने हामी सधैं सुतिरहन्छौ, यसलाई रोक्ने तत्वहरू सधैं उठिरहन्छन् । अब सोच्नुस् त काका, बजारमा विकास कसरी आउँछ ?”

यस्तायस्तै धेरै कुराहरू भए हामीबीच । डम्बर भतिजको माथिका भनाइले सक्रान्ति बजार लगायत ह्वाकु, ईवा गाउँ, र यहाँका समाजप्रति मभित्र अन्योलको पर्दा हटाइदियो । बाधक तत्वहरू प्रष्ट भयो । मनको भारी त हल्का भएन, तर यसलाई कस्न सिकेँ ।

६ पुस्ता अगाडि पृथ्वीमानका सन्तान हामी । हाम्रा पुर्खाहरू बस्ने घरजग्गा माथि अहिलेको केलिङ् विद्यालय उभिएको छ । यसैले पुर्खाहरूको स्मृतिमा छात्रवृत्ति स्थापना गर्ने सल्लाह दिनुभएको थियो ।

उहाँको त्यो गगनगामी सुझावलाई शिरोपर गर्दै श्री केलिङ आधारभूत विद्यालयमा छात्रवृत्ति स्थापना गरिएको छ । ईङनाम थरका लिम्बूहरूको बहुलता भएको ह्वाकु र ईवा गाउँमा छात्रवृत्ति स्थापना गर्न प्रस्ताव ल्याउने पहिलो बन्धु स्व.डम्बर ईङनाम थिए ।

खुर्पाथोक, ठुटेबर, नागी गुम्बा, रन्दल, बरबोटे र पोखरीमा मेरो आफ्नै सुझबुझले स्थापना गरेको भएपनि ईङनाम बन्धु र स्थानीयवासीहरूको साथ सहयोग भइरहेको छ । यसप्रति म कृतज्ञ छु ।

अरु स्थानीयवासी बन्धुहरू सक्रिय छैनन् भन्ने मेरो भनाइ होइन । तर स्थानीय ठाउँ र समुदायको लागि स्व. डम्बर ईङनाम बढी नै गम्भीर देखिनुहुन्थ्यो । राजनीतिमा प्रत्यक्ष प्रवेश गर्नुअघि उहाँ ञफोटोग्राफीझ गर्नुहुन्थ्यो । अम्मरपुरको रामनवमी, सुभाङ् चतुरे, फिदिमको युवा मेला छुट्याउनु हुन्नथ्यो । ताप्लेजुङ र तेह्रथुमतिर लाग्ने हाट बजारतिर चाहिँ उहाँको उपस्थिति अलिक कम देखिन्थ्यो ।

मिष्ठभाषी भएको कारण उहाँ सबैका प्रिय हुनुहुन्थ्यो । रिस डाहको अवशेषसम्म उहाँमा पाइदैन थियोे । साना ठूला, धनी गरिब, साक्षर निरक्षर, युवा वृद्ध सबैलाई समान सम्मानपूणर् व्यवहार गर्ने उहाँको ञयुनिकझ गुण थियोे । जातपात, धर्म, लिङ्ग भेद रत्तिभर नभएका फराकिला स्व. डम्बर ईङनामको ठाउँ कसैले लिन सक्दैन ।

स्व.डम्बर ईङनाम आठराईवासीका लागि चम्किलो प्रकाश झै थिए, आफू दुखमा झुन्डिएर अरूलाई उज्यालो दिने । शायद लेखन्तमा उहाँको भूमिका यहीँसम्म मात्र थियोे । असोज ८ गते आफूलाई निभाएर हामीलाई अँध्यारोमा छाडिराख्नु भएको छ । पत्यार नै लाग्दैन यस्तो एकजना सामाजिक र राजनैतिक साहसी व्यक्तित्व रहेनन् भनेर ।

उहाँको मृत्युको खबरले सामाजिक संजाल भरिए । फेसबुक भरी उहाँलाई श्रद्धाञ्जली दिनेहरूको ओइरो लाग्यो । म भावविह्वल भएँ । उहाँ जस्ता समाजका लागि धरोहर, र जगतका लागि असल मान्छे निधन भएको खबरले हानेर हल्लिएको मथिङ्गल अझै सङ्लिएको छैन ।

यद्यपि जन्मेपछि मृत्यु निश्चित छ । कुनै न कुनै बहानामा यो पाहुनाघर छाडेर सबैले जानुछ । बन्धुमित्रलाई अलविदा गर्नुअघि फेसबुक साथीहरू समक्ष मेरो एउटा विचार बाड्न चाहेँ( जन्मदेखि मरणसम्मको अवधि जीवन हो र यहाँभित्रका कर्म जिन्दगी ।

नियतिको अधीनमा उदाएर अस्ताउने मानव जीवनमा अनेकौं उत्ताप चढावहरू आउँछन् । यसमध्ये कति शब्दमा व्याख्या हुन्छन् त कति हुदैनन् । व्याख्या गर्ने शब्द नपाएपछि कति मौनताभित्र बोझ बनेर यसले मान्छेलाई बारबार जिस्क्याइ रहन्छ ।

यसलाई कसैले आफूभित्र अन्तरर्जगतको लडाइँ मान्छ त कसैले खेल ! प्रत्येक मानिसभित्र यस्तो अन्तर्दाह बग्नेगर्छ । मानौं आफूभित्रको अन्तर्वैरी हो यो ! हाम्रो खुसी र हाँसो यसको देहावसान हो भने नैराश्य यसको जीत ।

हामी मान्छे यात्री हौँ । हामी घुम्ने संसार ठूलो छ । खुसी पनि यहीँ छ र गम पनि यहीँ । खुसी खोज्नु छाड्नु हुदैन । मानव जीवन सृष्टिको एक अनुपम उपहार हो । यसलाई खुसीको रङ्ग भरेर शार्थक बनाउने प्रयास गर्नुपर्छ ।
तिम्रो दुखको साथी म । तिम्रो साथ छ र पो म छु । सुखमा जे गर, तर तिम्रो दुखमा नजिकको साथी म । तिमी दुखमा पर्दा मलाई कहिले नभुल है । तिमी छौ र पो म पनि छु ।
एकजना बन्धु र असल मित्र गुमाएर वियोगमा छटपटाएक मान्छे म । सम्हाल्न सकिरहेको छैन यो मन । फेरि पनि आठराई गाउँ पालिकाका स्थानीयवासी समक्ष एउटा कुरा राख्नु चाहेँ –
प्रत्येक मान्छेका कमजोरीहरू हुन्छन् । कसैमा मनोनिग्रहको डोरी दह्रो हुन्छ, कसैको कच्चा । हाम्रो नेपाली समाजमा कसैको थोरै नराम्रो कुरा देख्यो वा सुन्यो कि उसले गरेका सारा राम्रा कुराको बोटबाटै उखेलेर फाल्ने, अनि बिनाछत मुनि पीडाको बर्सादमा भिजेर जीवन कटाउने सामाजिक परम्परा छ । जुन गलत छ । मान्छे कोही पनि पूणर् हुँइदैन । धेरै राम्रो काम गर्नेको सानो गल्तिलाई राम्रो कुराले ढाकिदिएर जीवन अगाडि बढाउनु बुद्धिमानी हुन्छ ।

श्रद्धाञ्जली शब्द नै कस्तोकस्तो लाग्छ । उहाँको भौतिक शरीर नरहेपनि जीवित रहँदाका झझल्कोसँगै अरु थुप्रैथुप्रै यादहरू स्मृतिका पानामा सधैंका लागि कैद छन् । पार्थिव शरीरलाई विदा गरेकोछु तर याद र कर्मका दस्तावेजलाई होइन ।

पोहोर सालको भेटमा मैले उहाँलाई मेरो वेदना सुनाएर मनको भारी विसाउनु खोज्दा सम्झाउदै भन्नुहुन्थ्यो – चन्द काका, तपाई त पानीमाथि आगो बाल्नुसक्ने मान्छे, माङको भरोसा राख्नुस् । राम्रो काम गर्दैहुनुहुन्छ, राम्रो कर्म गर्नेहरूको लागि श्रोत र साधनहरू आफै जुट्दै जान्छन् ।

यस्तै ईश्वरीय शब्दहरूले भुल्नु दिदैन उहाँ जस्ता शक्तहरूलाई । सहवयस्क उमेरमा स्व.डम्बर ईङनामको क्यामराले खिचिएका उहाँ सँगैका दुर्लभ तस्बिर राख्दै अल विदा गरेँ । बैकुण्ठ बाँस होस ।

शोकाकुल परिवारप्रति हार्दिक समवेदना ।

– ह्वाकु, तेह्रथुम ।
हाल : युके ।

तपाईको प्रतिक्रिया