‘पैदल होस् वा गाडी, वसन्तपुरबाट उकालो लागेपछि रातो फुलको कार्पेट माथि हिंडेको अनुभूति हुन्छ । माथि उक्लिएपछि मेन्छ्यायेमको चुचुरोबाट आँखा डुलाउँदा टाढा-टाढाका हिमालहरु आफुलाई नै हेर्न उभिए जस्तो लाग्छ ।’

– भीम माबुहाङ

प्रकृतिले फुर्सदमा जन्म दिएकी पृथ्वीका स-साना स्वर्गीक टुक्रा हुन् गुफा पोखरी र मेन्छ्यायेम डाँडा । प्रकृतिको वरदान र ऐतिहासिक मिथहरुको गठजोडको सम्मिश्रणमा सजिएको यो सुन्दर ठाउँले जो कोही घुम्न जाने पर्यटकहरुलाई लल्याकलुलुक बनाएर नै छाड्दछ ।

पहाडकी रानी वसन्तपुर बजारबाट छुर्पी टोक्दै उत्तर उकालो लागेपछि शुरु हुन्छ गुफा पोखरीको यात्रा । तीन हजार मिटरको उचाईमा रहेको विशाल तीनजुरे पहाडको छातीमा घ्रसिन्दै लम्कन्छ गाडी अझ उत्तर दिशातिर । देखिन थाल्छन् लस्कर लागेर हाँसेका हजारौँ रत्न जडिएका सेता हिमश्रंखलाहरु ।

मनमा लाग्छ यी हिमालहरु हाम्रै आगमनको स्वागतमा हाँसेका हुन् । यतिखेर शरीरको अन्तर कुन्तरबाट ख़ुशीका लहरहरु एक्कासी उम्लिएर आउन थाल्छन् ।

सामुद्रिक सतह देखि औषत् २५ सय देखि तीन हजार मिटर जतिको उचाईमा निर्माण गरिएको पहाडै पहाड मोटर बाटोमा यात्रालाई अगाडि धकेलेपछि बीच बीचमा स-साना टुक्रे बजार पाँचपोखरी, फेदि, चौकी मंगलबारे हुँदै झण्डै दुई घण्टाको गाडी यात्रा पश्चात् पुगिन्छ गुफापोखरी र मेन्छ्यायेम डाँडा ।

यो ठाउँ लालीगुराँसको राजधानी क्षेत्र भएकोले गर्दा वसन्त ऋतुमा हो भने पुरै क्षेत्र फुलको संसार निर्माण हुने गर्दछ । पैदल होस् वा गाडी, वसन्तपुरबाट उकालो लागेपछि रातो फुलको कार्पेट माथि हिंडेको अनुभूति हुन्छ । शरद ऋतुमा भने यो ठाउँमा हिंउको सेतो संसार सृजना हुन्छ । त्यो अवस्थामा गाडीहरु पास हुन नसक्ने भएकोले विस्तारै हिंउँसंग सिलिचिप्ली खेल्दै पदयात्रा गर्दा अमृतमय आन्नद चाख्न पाईन्छ ।

गन्तव्य स्थान पुग्नासाथ गुफापोखरीसँग दर्शन भेट हुन्छ । अलक पर उत्तरतिर आंँखा डुलाउँंदा मकालु हिमाल बादलसँग लुकामारि खेल्दै जिस्किरहेको देखिन्छ ।
अझ साँझपख सुर्यको प्रकाश पोखरीको पानी माथि ठोक्की हिमालको छाँया प्रतिविम्वत भएर सृजित मनमोहक दृश्यलाई नजिकबाट अवलोकन गर्दा परम सुख र परम आनन्दका लहरहरु शिरीर भरि दौडिन्छन् । कता-कता स्वर्ग धर्तीमा ओर्लेको प्रतीत हुन्छ ।

लाग्छ, त्यो पानीको नभएर आनन्दको पोखरी हो ! जहाँ डुवी रहन पाए हुन्थ्यो । वरपरका विशाल हरियो घाँसे मैदान अनि घण्टी बजाउंदै संगीतको चालमा चरिरहेका याक र चौरीहरुको दुर्लभ दृष्यहरु आँखा अगाडी नाच्दा अमृतमय क्षणहरु सृजना हुन पुग्छन् ।

गुफा बजारबाट आधा घण्टा उकालो लागेपछि पुगिन्छ ऐतिहांसिक डांडा ‘मेन्छ्यायेम’ । हरेक डाँडापाखाहरुको बेग्लै रंङ्ग र बेग्लै स्वाद चाख्न पाईए झैँ यो मेन्छ्यायेम डाँडा पनि आफैँमा एक इतिहास बोकेको विशाल अनि शान्त र शितल डाँडा हो । निर्जीव भएपनि यसको आफ्नै अस्तित्व छ । आफनै सौन्दर्यता छ । जिवन्त छ यो डाँडा ।

मेन्छ्यायेम’ लिम्वु भाषा हो । र यसको अर्थ हुन्छ ‘तरुनी महिला’ । जनश्रुति अनुसार परापुर्वकालमा यो डाँडामा लिम्वुहरुको विशाल ‘पप्लुम’ अर्थात् छेलो प्रतिस्पर्धा हुने गथ्र्यो । जसले छेलोमा जित्छ त्यो विजेताले पुरस्कार स्वरुप ‘जवान महिला’ लिएर जाने चलन थियो ।

छेलो प्रतिष्पर्धा क्रममा एक युवाले विजय हाँसिल गरे पश्चात् तरुनी महिला लान खोज्दा ती महिला भागेर त्यहि डाँडा छेउको गुफा तिर पसेर हराईछिन् । जुन गुफा अझैँ पनि अवस्थित छ । यो गुफा अनि वस्ती छेऊ रहेको पोखरीलाई जोडेर यो ठाउँको नामांकरण ‘गुफापोखरी’ हुन गएको रहेछ ।

सामुन्द्रिक सतहबाट लगभग ३०३५ मिटरको हाराहारीमा रहेको यो डाँडा पुर्व नेपालको प्रशस्त पर्यटन सम्भावना बोकेको डाँडा हो । यो ठाउँ तिन जिल्लाहरु तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्गको संगम स्थल हो ।

यहाँ बाट मकालु, कुम्भकणर् र कञ्चनजंघा हिमालका रेन्जहरु देख्न सकिन्छन् । भू-गर्भविद्हरुको भनाई अनुसार, इण्डियन र युरेसियन टेक्टोनिक प्लेटहरूबीचको ठाकठुकबाट जन्मिएका हुन् हाम्रा हिमालहरु ।

अनि तिनै हिमालको काँधबाट उदाएको कलिलो सुर्यदेवलाई यो डांँडाबाट एकविहानै दर्शन गर्न पाउंदाको इश्वरीय आनन्द वणर्न गरि नसक्नु हुन्छ । साँच्चै दिल तृप्त हुन्छ । हिमालको सुन्दरता भित्रपुरै विलिन हुन पुगिन्छ । केहि वेर जीवन रोकिए झैँ लाग्छ ।

फोनको चिप्स तन्किने गरि भएभरर्को दृष्यहरु क़ैद गर्दा मन बुझाउन गार्हो हुन्छ । यहांबाट देखिने सुर्यदयको दृष्य ईलामको श्रीअन्तु, दार्जिलिङ्गको टाईगर हिल र पोखराको सरनकोट बाट देखिने सनराईजहरुलाई ठाडै चुनौती दिन्छ ।

यो पहाडको टाकुराबाट आंखा डुलाउँदा टाढा टाढाका हिमालहरु आफुलाई नै हेर्न उभिए जस्तो लाग्छ । मेन्छ्यायेम धापमा धपक्क फुलेका गुराँसका फुलहरु मेरै लागि फुलेका हुन् जस्तो महसुस हुन्छ । चिसो हावा पनि मेरै शितलताको लागि बहे जस्तो । चरा चुरुंङ्गीहरुले मेरै निम्ति गाए जस्तो लाग्छ ।

अनि निलो आकाशमा बादलहरुले पनि मेरै मनका आकृतिहरु बनाए जस्तो । जंगलका पातहरुले हल्लिएर हाए.. हाए गरेर बोलाए जस्तो भान हुन्छ । प्रकृतिसंँग स़ाक्षत्कार गर्नुको असली मज्जा वयान गरि नस्कनु हुन्छ ।

यो डाँडाको चुचुरोमा छोएर फर्किदा पेट निकै गर्जेको हुन्छ । निकै थकाईको महसुस हुन्छ । यसलाई शान्त पार्न स्थानीय मौलिक उत्पादन याकको सुकुटी, चौरी गाईको दुत अनि विशुद्ध कोदोको तोङ्बा र चिसो मौषम र यहाँको जडिवुटि खाएर पाखातिर हुर्केका स-साना लोकल कुखुराको मासु खाँदा ज्यानमा फेरि पुरै ऊर्जा आर्जन हुन्छ ।

शरीरका नशाहरु फुलिएर आउंछन् । सर्दि जान्छ । पाहुनाहरुलाई विदा गर्ने वेला आत्मियताका साथ दुई चार वटा छुर्पी दिने त्यहाँका होटलहरुको चलन रहेछ ।

त्यही पोसिलो छुर्पी चपाउँदै त्यो ठाउँमा हाम्रा पाइतालाका डोबहरु छोडेर हात हल्लाउँदै फर्कनु पर्दा मुटु निकै गह्रौँ हुन्छ, यो माटोको सुवास छर्न । यी डाँडा र हिमालहरु लाई अझ अग्लो बनाउन । यहाँका गुराँसहरुको सुगन्धलाई अझ टाढा-टाढा पुर्‍याउन तीन तहकै सरकारहरुको ध्यान पुग्नु जरुरी छ ।

– वसन्तपुर, तेह्रथुम
हाल : सिंगापुर ।

तपाईको प्रतिक्रिया