मोरङ, मंसिर १६ – मोरङका ६ वटै निर्वाचन क्षेत्रमा मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि र प्रदेशसभा चुनावमा ७ हजार ५ सय ४८ जना कर्मचारी खटिएका छन् ।
मोरङ जिल्लाका ७ सय ५८ मतदान केन्द्रको लागि ७ हजार ५ सय ४८ जना कर्मचारी परिचालित गरिएको हो । प्रतिनिधि र प्रदेशसभा चुनाव अन्तरगत एउटा मतदान केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत र चारजना सहायक कर्मचारी र दुईजना सहयोगी गरी ८ जना खटाईएको छ ।
मतदान गराउन खटिने कर्मचारीलाई मतपत्रसहित ६८ प्रकारका सामग्री निर्वाचन अधिकृतको कार्यालयहरुमा पुगिसकेका छन् । विगतमा क्षेत्रीय निर्वाचन कार्यालयबाट एकैचोटी निर्वाचन सामग्री वितरण गरिएको थियो । त्यसरी एकैचोटी सामग्री वितरण गर्दा अव्यवस्थित भएको भन्दै क्षेत्रीय निर्वाचन कार्यालयकै आलोचना भएपछि यसपटक सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री वितरण हुने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।
मतदानका लागि खटिने कर्मचारीहरू १९ गते मतदान केन्द्रमा पुगिसक्ने र त्यही दिनदेखि सम्बन्धित मतदान केन्द्रमा मतदान गर्ने मतदातालाई परिचयपत्र वितरणको काम सुरु गर्नुपर्ने छ । मोरङ जिल्लामा ६ लाख ४४ हजार सातसय ८२ मतदाता रहेका छन् ।