नवलपरासी, मंसिर १६ –नवलपरासीको बर्दघाट सुस्ता पूर्व नवलपुर प्रतिनिधिसभा १ मा कांगे्रस महामन्त्री डा. शशांक कोइराला र वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका भविश्वर पराजुली नतिजा आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा छन् ।
दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दावी गरिरहँदा उनीहरुका केही बलियो र केही कमजोर पक्ष उत्तिकै छन् ।
वि.स. २०२४ सालदेखि नेपाली कांगे्रसको राजनीति सुरु गरेका कोइराला यस क्षेत्रबाट लगातार तेश्रो पटक चुनावी प्रतिस्पर्धामा हुनहुन्छ । यसअघि वि.स. २०६४ र २०७० मा उहाँ यसै क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
उहाँको बलियो पक्ष भनेकै उहाँ वि.पि पुत्र हुनुहुन्छ । वीपी पुत्र भएकै कारण नेपाली कांगे्रसका मतदाताका लागि यस निर्वाचन क्षेत्रमा सबैभन्दा बलियो उम्मेदवार उहा“ मानिनुहन्छ । सामान्य मतदाताका लागि पनि बिपि पुत्रको प्रभाव पर्ने देखिन्छ ।
उहाँ आफै कांग्रेसका प्रभावशाली नेता समेत हुनुहुन्छ । कांग्रेसको महामन्त्रीको रुपमा रहनुभएकाले पनि मतदातालाई प्रभाव पार्न सक्दछ । चुनावीसभामा उहाँले आफूलाई भावी प्रधानमन्त्री भनेर उदघोष गर्नुभएको छ । राष्ट्रिय राजनीतिमा शक्तिमा पुग्न सक्ने व्यक्ति भएकाले पनि कोइरालालाई सहज हुने देखिन्छ ।
उहाँले बेलाबेलामा हिन्दु राष्ट्रको पक्षमा अभिब्यक्ति पनि दिने गर्नुहुन्छ । यस क्षेत्रमा धेरै मतदाता हिन्दु राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको बिश्लेषण गरिएको छ । हिन्दु राष्ट्रको पक्षमा दिइएका अभिव्यक्तिले यस प्रकारका मतदातालाई प्रभाव पार्न सकिने देखिन्छ ।
उहाँको अर्को बलियो पक्ष गुट व्यवस्थापन हुन सक्दछ । सबै पक्षलाई मिलाएर उहाँले आफ्नो क्षेत्रबाट समानुपातिक सूचिमा प्रतिनिधि र प्रदेशतर्फ ६ जना उम्मेदवार पार्न सफल हुनुभएको छ । उद्योगी विनोद चौधरी पनि समानुपातिकको सूचिमा रहनु भएको छ । चौधरीकोे साथले पनि उहाँलाई बलियो बनाउन सक्दछ ।
तर मतदाताको लागि उहाँ पूरानो अनुहारको रुपमा रहनुभएको छ । साथै १० वर्षसम्ममा आफ्नो निर्वाचन क्षेत्रमा गर्नुपर्ने जति विकासको काम नगरको मतदाताको गुनासो छ ।
कोइरालालाई पार्टीका कार्यकर्ता पाल्ने तर विकासको कार्यमा कुनै ध्यान नदिएको भन्ने आरोप कतिपय मतदाताले लगाएका छन् यो पनि जितका लागि बाधक बन्न सक्छ ।
पहिलेका आश्वासन पूरा नगरेको भन्ने आरोप पनि उत्तिकै छ भने कांगे्रसले लगातार चुनावमा जित निकाल्दै आएकोमा सिंगो कांगे्रसले केही गरेन भन्नेको जमात पनि उत्तिकै रहेको छ । उहाँलाई लाग्दै आएको अर्को आरोप हो टुरिष्ट उम्मेदवार । कोइरालाको लागि अर्को प्रमुख चुनौती हो वाम गठबन्धन
शशांक कोइरालाको मुख्य प्रतिस्पर्धीका रुपमा रहनुभएका वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्का पोलिटब्यूरो सदस्य भविश्वर पराजुलीले २०४७ सालमा नेकपा मशालबाट राजनीतिक यात्रा शुरु गर्नुभएको हो । स्याङ्जाको वालिङमा जन्मनुभएका पराजुली पनि नतिजा आफ्नो पक्षमा पार्नको लागि कम्मर कसेर लाग्नु भएको छ ।
उहाँको बलियो आधार भनेको उहाँ स्थानीय नेता हुनुहुन्छ । स्थानीय नेता भएकाले मतदाताले उहाँलाई साथ दिनसक्ने अवस्था रहेको छ । पराजुलीको लागि अर्को बलियो आधार भनेको नयाँ अनुहार हो । कोइरालाले यसअघि नै मतदाताको जस अपजस खेपिसकेकाले पनि पराजुलीप्रति भने मतदातको नयाँ अनुहार भएकाले कुनै गुनासो रहने देखिदैन ।
पराजुली भ्रष्टचार विरुद्धको राष्ट्रिय अभियानका अध्यक्षसमेत हुनुहुन्छ । यसले पनि मतदाताको मत जित्न सक्ने देखिन्छ । सामाजिक रुपमा संस्थामा रहेर जिल्लामा काम गरेकाले र भ्रष्टाचार नियन्त्रणको अभियानमा लागेकाले मतदाताले स्वच्छ छवीका व्यक्तिका रुपमा लिने देखिन्छ ।
वाम गठबन्धनको बलियो साथ पनि पराजुलीका सहज हुने देखिन्छ । तेश्रो शक्तिको रुपमा रहेको माओवादीका उम्मेदवार भए पनि गठबन्धनको एमालेको साथ पनि उत्तिकै रहेको छ । एमाले समर्थक तथा पार्टी पंक्तिका नेता कार्यकर्ताले कांगे्रसको किल्ला भत्काउन भन्दै ठूलै कसरतका साथ लागेको देखिन्छ । यसले पनि पराजुलीलाई अझै बलियो बनाएको छ । यति हुँदा हुँदै पनि पराजुलीको कमजोरी भनेको राष्ट्रिय राजनीतिमा प्रभाव कम हुनु हो ।
माओवादीको जनआधार कमजोर हुनुमा पनि उहाँलाई केही असहज रहेको छ । एमालेको मत धेरै र माओवादीको आफ्नो मत कम हुदाँ थोरै मतले धेरै एमालेको मत तान्नु पर्ने अवस्था छ । पराजुलीलाई पुर्ण रुपमा एमालेको मतमा निर्भर रहनु पर्ने छ । कांगे्रसको बलियो पकड क्षेत्रमा चुनाव लडिरहँदा उहाँमा आत्म विश्वास अझै बढ्न नसकेको स्वम गठबन्धनका कार्यकर्ताले भन्दै आएका छन् ।