बर्दिया, मंसिर १६ – बर्दियामा मुख्य राजनीतिक दलको चुनावी प्रचारप्रसार तीव्र रुपमा अगाडि बढेको छ । यसअघिका चुनावमा ग्रामिण क्षेत्रका मुक्तकमैया र सुकुम्बासी बस्तीमा भोट माग्न जाने नेता यसपाली भने भोट माग्न र भोट कसरी हाल्ने सिकाउन कोहि नआएको यस क्षेत्रका मतदाताको गुनासो रहेको छ ।

बर्दियाको ठाकुरबाबा नगरपालिका –५, तकिया ढैरेनी गाउँको मुक्तकमैया सुकुम्बासी बस्तीमा थारु समुदाय विकास मञ्चले गठन गरेको ढैरेनी कृषक समूह भेला भएर बचत गरिरहेका थिए । दोश्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनाव आउन अब पाँच दिन मात्रै बाँकी छ ।

मतदाताले भोटका लागि तीन वटा मतपत्रमा चार ठाउँमा स्वस्तिक छाप लगाउनु पर्छ । तर यसपालीको चुनावमा तीन वटा मतपत्रमा चार भोट कसरी हाल्ने भन्नेमा बर्दियाका मुक्तकमैंया र सुकुम्बासी बस्तीका मतदाता अझै अन्योलमा परेका छन् ।

यो बस्तीमा भोट माग्न न त कुनै दलका उम्मेदवार पुगेका छन्, न त मतदाता शिक्षा दिन नै कोही गएका छन् । रोजगारीका लागि भारत जानु भएका पर्ना थारु चुनावकै लागि भनेर घर आउनुभयो, गाउँमा भोट माग्न आउने दलका नेतासँग धेरै कुरा भन्ने उहाँको योजना पछि छ । तर अहिलेसम्म कुनै पनि दलका नेता तथा कार्यकर्ता आफ्नो गाउँमा भोट माग्न नआएको उहाँले बताउनुभयो ।

‘यसपालीको चुनावमा कुनै पनि दलका नेता तथा कार्यक्रता गाउँमा भोट माग्नै त आएका छैनन् भने गाउँको विकास के गर्लान र ?’ बर्दिया ठाकुरबाबा नगरपालिका –५, तकियाको ढैरेनी मुक्तकमैया बस्तिकी रामकृष्णी थारुले प्रश्न गर्दै भन्नुभयो । ‘आफ्नो गाउँमा मात्रै हैन मुक्तकमैया बस्तीमा विकास ल्याउने खालका नेतालाई भोट दिने भनेको खै अहिलेसम्म भोट कसरी हाल्ने पनि थाहा छैन ।’

‘अहिलेसम्म भोट माग्नै त आएका छैनन् भने जितेर गए भने के विकास गर्थे, नेताले जितेर पनि केही गर्लान जस्तो लाग्दैन, बाढी पस्ने र जंगली हात्तीले सताउने यो ठाउँको विकास गर्ने नेताको खाँचो छ’ ठाकुरबाबा नगरपालिकाकै गंगा थारुले भन्नुभयो ।

यो बस्तीका सबै मतदाता राजनीतिक दलप्रति आक्रोशित देखिन्छन् । यसै क्रममा मुक्क्तकमैया बस्तीकी देवीसरा बोहोराले भन्नुभयो, ‘पहिलेका चुनावमा धेरै आश्वासन दिए, भोट मागे अनि जितेर पनि गए, तर गाउँको विकास कसैले गरेनन्, यसपालीको चुनावमा त नेताको मुख पनि देख्न पाएका छैनौं, भोट माग्न पनि कोही आएनन, भोट कसरी हाल्ने भन्न पनि कोही आएनन ।’

‘यसअघिका चुनाव जितेर गएका नेताले केही काम गरेनन’ सुशीला थारुले भन्नुभयो ‘जितेर गएपछि कुनै नेता फर्केर आउँदैनन्, यसपालीको चुनावमा कसैलाई पनि भोट हाल्दिन ।’

चुनावको समयमा भोटको लागि जे पनि गर्छु भन्ने जितेर गएपछि गाउँमा पाइला नटेक्ने नेताहरुप्रति यहाँका मतदाताको गुनासो छ ।

चुनावको समयमा भोट माग्न आउँदा आफ्ना सबै गुनासा नेतालाई सुनाउने योजना बनाएका यो गाउँका मतदाता चुनाव आउनै लाग्दा पनि भोट माग्न र भोट कसरी हाल्ने भनेर सिकाउन कोहि नआउँदा न्यौलमा परेका छन् ।

तपाईको प्रतिक्रिया