काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले नवप्रवर्तन प्रवद्र्धनकालागि नयाँ वेभपोर्टल ‘राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल’ सञ्चालनमा ल्याएको छ ।

कोभिड-१९ को प्रतिकार गर्न आवश्यक प्रविधिको विकासकालगि नवप्रवर्तकहरुको पहिचान, तथ्यांक संकलन र प्रदर्शनकालागि नाष्टले नयाँ वेभपोर्टल सञ्चालन गरेको हो ।
आइतबार पुर्व विज्ञान तथा प्रविधिमन्त्री इन्जिनियर गणेश शाह र नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले   https://innovationnepal.nast.gov.np/ अनलाइन पोर्टलको समुद्घाटन गरे ।

राष्ट्रिय विज्ञान, प्रविधि, तथा नवप्रवर्तन नीति-२०७६ को भावना बमोजिम मन्त्रालयले नेपालका नवप्रवर्तनहरुको पहिचान गर्ने, तिनीहरुको अवस्था आंकलन र सहयोगकालागि पोर्टल निर्माण गरिएको नाष्टले जनाएको छ ।

‘संमृद्धिकालागि नवप्रवर्तन केन्द्र’ को उदेश्य र कार्यक्रमअनुरुप मन्त्रालयले बनाएको ‘प्रविधि विकास तथा नवप्रवर्तन’ नामक विधागत समितिको नेतृत्व तथा रोबोटिक्स एसोसिएसन नेपालको सहयोगमा राष्ट्रिय नवप्रवर्तन विद्युतीय सञ्जाल निर्माण गरेको प्रवक्ता डा.सुरेश ढुंगेलले जानकारी दिए ।

सो वेभपोर्टललाई नवप्रवर्तकहरुले आफ्ना कामको प्रदर्शन गर्ने, आवश्यक सहयोगको याचना गर्ने साथै मुलुक भित्र र वाहिरका समेत अन्य नवप्रवर्तकहरुसँग सम्बन्ध स्थापित गर्ने विद्युतीय मञ्चको रुपमा विकास गरिने उनी बताउँछन् ।

सञ्जालमा नेपालमा नवप्रवर्तनहरुको प्रकृति, तिनको अवस्था, विस्तारकालागि आवश्यक सहयोग, नवप्रवर्तकहरुका सम्पर्क सुत्रहरु विस्तृतमा राखिएका छन् । यसले देशभित्र नवप्रवर्तनको नक्कल गर्ने कार्यको न्यूनीकरण साथै उपलब्ध श्रोतको अधिकतम उपयोग गर्न समेत सहयोग पुग्ने प्रवक्ता ढुंगेलले बताउँछन् ।

सञ्जालको ब्यबस्थित रुपले सञ्चालन गर्न नाष्टले प्रविधि संकायका प्रमूख डा. रविन्द्र प्रसाद ढकालको संयोजकत्वमा एक सात सदस्यीय समिति गठन गरेको छ ।

तपाईको प्रतिक्रिया