सिरहा । सिरहाको मिर्चैया नगरपालिका-३, राघोपुर बकथवलाकी ११ वर्षीय नेहाकुमारी सदाको गरिबीका कारण आँखाको उपचारमा समस्या भएको छ । सानैमा आँखामा चोट लागेको र त्यसको समयमै उपचार नहुँदा अहिले उनको दायाँ आँखामा मासु पलाएको छ । आँखाले काम गर्दैन ।

आँखामा मासु पलाएकै कारण उनको पढाई र भविष्य अन्धकारमा परेको छ । आफ्नी आमा बित्दा नेहा दुई वर्षकी मात्रै थिइन् । उनका बुवा ४५ वर्षे भोला सदा गरिबीकै कारण समयमै छोरीको उपचार गर्न नपाएको बताउँछन् ।

उनी परिवारको दुई छाक जोहो गर्नका लागि गाउँमै मजदुरी गर्छन् । ‘फुर्सदमा जंगलबाट दाउरा ल्याएर बेचेको पैसाले हातमुख जोड्नै मुस्किल पर्छ,’ उनी भन्छन्, ‘त्यही पनि अहिले लकडाउनका कारण गर्न पाएको छैन ।’

छोरीको आँखामा चोट लागेको र पछि क्रमशः आँखा रातो हुदै रगत आउन थालेको भालाले बताए । ‘अहिले मासु पलाएपछि त देख्नेहरु पनि डराउँछन्, कोही छेऊमा आउन मान्दैनन्, त्यसैले स्कुल पनि जान पाएकी छैन,’ उनले भने ।

नेहाको घर ।

आँखामा मासु पलाएर धेरै नै गाह्रो भएपछि स्थानीयको सहयोगमा भोलाले लाहान अस्पताल लगेका थिए । तर, त्यहाँ उपचार सम्भव नभएपछि अहिले उनलाई काठमाडौं ल्याइएको छ । छोरीको उपचारकालागि आएका भोला गौशाला धर्मशालामा बसेका छन् । ‘अस्पतालले पीसीआर रिपोर्ट लिएर आउनु भनेको छ, आज विहानै पासाङ राई सरले पीसीआर गराइदिनुभयो, रिपोर्ट आएपछि अस्पताल जाने सोचेका छौँ,’ उनले भने ।

छोरीको आँखाको उपचार गर्न काठमाडौं आएका भोलालाई जनकल्याण मुसहर एकता समाजले १० हजार रुपैयाँ दिएको थियो । अरु केही व्यक्तिबाट चार हजार रुपैयाँ उठेको थियो ।

गाडी भाडा र खाँदा बस्दा नै अहिलेसम्म चार हजार रुपैयाँ सकिएको छ । ‘अस्पतालमा कति खर्च लाग्ने हो ? मसँग अब त्यही दश हजार रुपैयाँमात्रै छ, कसरी उपचार गर्ने हो ? थाहा छैन,’ उनले भने ।

लाहानमा डाक्टरले अपरेसन गर्नुपर्छ, काठमाडौं लैजानु भनेपछि यता लिएर आएको उनले बताए । उनले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरे ।

गाउँमा भोलाको आफ्नो घर भएको दुई धुर ऐलानी जग्गाबाहेक आफ्नो भन्नु केही छैन । नेहा भोलाकी एक्ली छोरी हुन् । उनको उपचारकालागि विद्यालय र नगरपालिकाले पनि कुनै सहयोग गरेको छैन ।

तपाईको प्रतिक्रिया