भक्तपुर । कोभिड-१९ को संक्रमण फैलिदै जान थालेपछि भक्तपुर नगरपालिकाले ७५ शैयाको आइसोलेसन निर्माण गरेको छ । नगरपालिकाले ब्रम्हायणीस्थित बहुउदेश्यीय भवनमा आइसोलेसन केन्द्र निर्माण गरेको हो । आइसोलेसन आइतबारबाट सञ्चालनमा आउने भएको छ ।

संक्रमितहरुलाई खरिपाटीस्थित विद्युत तालिम केन्द्र र भक्तपुर अस्पताल पठाउँदै आएकोमा संक्रमण समुदायस्तरमा फैलिएसँगै जनतालाई सहज सेवा उपलब्ध गराउन नगरपालिकाले छुटै आइसोलेसनको आवश्यकता महशुश गरी तयारी थालेको हो । नगरपालिकाका जनप्रतिनिधि र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको टोलीले शुक्रबार आइसोलेसन वेडहरुको तयारीका विषयमा अनुगमन गरेको छ ।

नगरपालिकाले घरमा एकान्तबास सम्भव नभएका कोरोना संक्रमितहरुलाई लक्षित गरी आइसोलेसन केन्द्रको निर्माण गरेको हो । नगरपालिकाले नेपाल सरकारको मापदण्डअनुरुप नै केन्द्र निर्माण गरेको छ । आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेकाहरुजस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती बस्ने बन्दोबस्त गरिएको छ भने भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बस्ने कक्ष रहेको छ ।

आइसोलेसन केन्द्रमा नगरपालिका स्वयम्ले आवश्यक जनशक्ति परिचालन तथा व्यवस्थापन पनि गरेको छ । आइसोलेसनमा बस्ने संक्रमितहरुको लागि आवश्यक लुगाफाटा बाहेक सबै सुविधा नगरपालिकाले व्यवस्था गरेको छ । प्रत्येक संक्रमितहरुको लागि अलगअलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाइफाइ, मोबाइल चार्जको लागि छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नको लागि किताब, पत्रपत्रिकासहितको र्‍याक व्यवस्था गरिएको छ ।

आइसोलेसन केन्द्रमा हरेक दिन तीन जना नर्सले नियमित ड्युटीको व्यवस्था गर्नुका साथै प्रत्येक दिन बिहान एक र बेलुकी एक गरी दुई जना डाक्टरहरुले ड्युटी गर्नेछ । केन्द्रमा प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० जनाकर्मचारीहरु व्यवस्था गरिएको छ । संक्रमितहरुलाई सूचना प्रवाहको लागि माइकिङ र अलगअलग फोनको व्यवस्था आइसोलेसन केन्द्रमा छ । साथै संक्रमितहरुको लागि छुटै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपी सेटको बन्दोबस्त रहेको छ भने दैनिक चार छाक खाना खाजा खुवाइने व्यवस्था पनि गरिएको छ ।

अहिले घरमा आइसोलेसनमा बसेकोमा परिवारै संक्रमित देखिएकोे हुँदा होम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुटै आइसोेलेसनको व्यवस्था गरेको मेयर प्रजापतिले जानकारी दिए । संक्रमितहरुको निम्ति आवश्यक भएमा अक्सिजनकोे व्यवस्था पनि गरिएको छ । तर रोगका लक्षण नदेखिएका अथवा सामान्य लक्षण देखिएकाहरुलाई आइसोलेसन केन्द्रमा राखिने व्यवस्था गरेको छ ।

आइसोलेनमा बस्दा-बस्दै बिरामीलाई अप्ठेरो महसुस भएको खण्डमा डाक्टरको सल्लाहमा नपाको डेडिकेटेड एम्बुलेन्समार्फत भक्तपुर अस्पतालमा उपचारको निम्ति पठाउने बन्दोबस्त गरिएको छ । त्यसको निम्ति आइसोलेसन केन्द्रमा अलग्ग एम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

नगरपालिकाले त्यहाँ कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरुको निम्ति सुरक्षाको व्यवस्था गरेको छ । आइसोलेसन केन्द्रमा सात दिनको ड्युटी सकिने बित्तिकै उनीहरुलाई एक हप्ताको लागि अलग क्वारेनटाइनमा राखेर कोरोना परीक्षणपश्चात ड्युटीमा खटाउने व्यवस्था गरिएको छ । नगरबासी संक्रमितलाई लक्षित गरी निर्माण गरिएको उक्त आइसोलेसन स्थापनामा त्यहाँका स्थानीयहरुको साथ र सहयोग रहेको छ ।

टोलीले भक्तपुर नपाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्र, निर्माणाधीन ख्वप अस्पताल र श्वासप्रश्वास पुनःस्थापना केन्द्रको पनि स्थलगत निरीक्षण गरेको थियो । अनुगमन टोलीमा मेयर सुनिल प्रजापति, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, भक्तपुर अस्पतालका डा. सुमित्रा गौतम, राष्ट्रिय अनुसन्धानका एसपी सुरेन्द्र कोइराला लगायत सहभागी थिए ।

तपाईको प्रतिक्रिया