तेह्रथुम । दाउरा बाल्नकालागि रुख काटेर सुकाउनुपर्छ । मेन्छ्यायेम वनमा यस्तो रुख पनि पाइन्छ, जो काँचोमा पनि उसैगरि बल्छ । तर, किपटमा पाएको गुराँस वनलाई भोगचलन थालेका श्रीजुङ्गे किसानले दाउरो बाल्ने मात्रै सोचेनन् । ‘वन रहे, जीवन रहन्छ’ भन्ने बुझेर वनको गोडमेल गरे, हुर्काए ।

राष्ट्रिय फुल लालीगुराँस मेन्छ्यायेमभरि मगमगाउन थाल्यो, गुराँसका अन्य प्रजाति पनि हुर्किए एउटै वनमा । अहिले एकै ठाउँमा २८ प्रजातिका गुराँस पाइने वन अर्थात् ‘गुराँसको राजधानी’का रुपमा परिचित बनेको छ यहाँको तीनजुरे, मिल्के, जलजले क्षेत्र । अनि गुराँसको राजधानी क्षेत्रको एउटा हिस्सा यही मेन्छ्यायेम वनले लिएको छ । श्रीजुङ्गे अगुवाले जोगाउन सुरु गरेको वन तेह्रथुममात्रै हैन, ताप्लेजुङ र संखुवासभाको सीमासम्म समेत फैलिएको छ ।

लिम्बू भाषामा ‘मेन्छ्या’ भनेको तरुनी र ‘येप’ को अर्थ उभिएको भन्ने हुन्छ । त्यहीबाट अपभ्रंस भएर मेन्छ्यायेम भनिएको स्थानीय बताउँछन् ।

लेकाली बस्ती र गोठहरु, पर्यटकीय गुफाबजार र गुफापोखरी ! छिन्मै मौषम बद्लिरहने, यहाँ पुग्नेलाई लाग्छ यो प्रकृतिको एउटा सुन्दर उपहार हो । वसन्तमा गुराँस फुलेर ढकमक्क हुन्छ । हिउँदमा पनि हरियाली मेटिदैन । टाढैबाट हेर्दा पनि मनोरम दृश्य ! झन् झन् हेरिरहुँ लाग्ने । हाल मेन्छ्यायेम गाउँपालिका-३ मा रहेको यो मेन्छ्यायेम वनको रेखदेख मेन्छ्यायेम सामुदायिक बन उपभोक्ता समूहले गरेको छ । वनको यो सौन्दर्य जोगाउन श्रीजुङ्गे किसानको ठूलो मेहिनेत परेको छ ।

 

यस्तो छ मेन्छ्यायेम वनको संघर्षको कथा

कुनै वेला यो पुरै वन सम्दुका सुब्बाहरुको अधीनमा थियो । पछि यहाँका किसान रविलाल गौतम, देवीप्रसाद भट्टराई, भीमप्रसाद भट्टराई र बलराम दाहालहरुले किपटको रुपमा भोकचलन गर्न थाले । रेखदेख नपाएको वनले गोडमेल पाउन थाल्यो । यहाँका किसानले वनमा गोठ राख्ने, गाईवस्तु, भेडा बाख्रा चराउने गर्न थाले । त्यसवेला वनको संरक्षण र उपभोग दुवै राम्ररी भएको थियो ।

०३५ सालमा नापी भयो, तर वनको नापी भएन, भोगचलन गर्ने यहाँका किसानले केही पाएनन् । त्यसपछि वन सरकारीकरण भयो, सँगै सुरु भयो वनको क्षयीकरण पनि । सरकारी वन भएपछि किसानले गोडमेल गरेको वन खुला चरिचरणमा परिणत भयो । आफुखुसी वन पैदावरको उपयोग गर्ने, जथाभावी घाँसदाउरा र फँडानी गर्ने हुन थाल्यो । गुराँस त्यस्तो काठ हो, जो काँचोपनि सुकेको काठजत्तिकै बल्छ ।

यसलाई बाल्न अरु काठजस्तो सुकाउनु पर्दैन । मानिसहरुले त्यही फाइदा उठाएर बाह्रैमास गुराँसको दाउरा बाल्न थाले । वनको अस्तित्व नै खतरामा पर्न लागेको थियो । अनि जसले वन जोगाएका थिए, जसलाई वन मासे पहिरो र भुक्षयको खतरा हुन्छ भन्ने थाहा थियो, उनीहरुको मन पनि पोल्न थालेको थियो, दशकभन्दा बढी समय त्यसैगरि बित्यो ।

सरकारी वन नासिदै गएपछि सरकारले वन संरक्षण र व्यवस्थापनकालागि ०४९ सालमा वन ऐन लागू गर्‍यो । ०५१ सालमा वन नियमावली समेत जारी भयो । सरकारी वनलाई सामुदायिक वनको रुपमा रुपान्तरण गरी वन संरक्षण र व्यवस्थापन गर्ने नीतिगत बाटो खुल्यो ।

सरकारले सरकारी वन पायक पर्ने ठाउँका उपभोक्तालाई हस्तान्तरण गर्ने नीति लियो । वन मासिएको देखेर छट्पटाएका स्थानीय सुब्बाहरुले सामुदायिक वन बनाएर संरक्षण, संवद्र्धन र उपभोग गर्ने निणर्य लिए ।

यहाँको गुराँस वनको संरक्षण र व्यवस्थापन गर्न सके वन र जीवनमात्रै जोगिदैन, उद्योग र पर्यापर्यटनबाट रोजगारी सिर्जना गरी स्थानीयको जीविकोपार्जन पनि सहज बन्ने देखिन्छ ।

गाउँका अगुवाले मोराहाङ रेञ्जपोष्टसँग सम्पर्क गरेर सामुदायिक वन उपभोक्ता समुह गठनका लागि सहयोग गरिदिन अनुरोध गरे । ०५३ सालमा उपभोक्ता समूह गठन भयो । अहिलेसम्म त्यही वन उपभोक्ता समूहले वनको रेखदेख, संरक्षण र व्यवस्थापन गर्दै आएको छ । वनको अस्तित्वमात्रै जोगाएको छैन, भुक्षय, पहिरो र सम्भावित् विपद्बाट जोगाएको छ । यहाँको मानव जीवन बचाएको छ ।

सामुदायिक वन उपभोक्ता समूहले वन व्यवस्थापन थालेपछि उपभोक्ताको आवश्यकतामात्रै पुर्ति गरेको छैन, वनको उचित संरक्षण र व्यवस्थापन समेत गरिरहेको छ । गरिब उपभोक्ताको रोजगारी र आयको माध्यम बनेको छ, अनि महिलाको सीप र विकासको सहयोगी । वन बाँचेपछि पानीका मुहानहरु पनि बाँचेका छन् । अहिले जिल्लाकै सबैभन्दा धेरै पानीका मुहान भएको क्षेत्रमा पर्दछ मेन्छ्यायेम गाउँपालिका । वन्यजन्तु र चराचुरुङ्गीहरुको संरक्षण पनि भएको छ ।

फाइल फोटो ।

वन जोगिएकै कारण भूक्षय जस्ता विपद्का समस्या गाउँलेले भोग्नु परेको छैन । वातावरणीय सन्तुलन कायम छ । यहाँको गुराँस वनको संरक्षण र व्यवस्थापन गर्न सके वन र जीवनमात्रै जोगिदैन, उद्योग र पर्यापर्यटनबाट रोजगारी सिर्जना गरी स्थानीयको जीविकोपार्जन पनि सहज बन्ने देखिन्छ । अहिले यही वनमा ‘गुराँस उद्यान’ समेत निर्माण भइरहेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघका प्रदेश एक अध्यक्ष तुलसी संग्रौला भन्छन्, ‘उद्यान बनेपछि यो प्रदेशकै नमनुा बन बन्छ, पर्यटकीय दृष्टिले समेत देशीविदेशी पर्यटकको आकर्षक गन्तव्य बन्न सक्छ ।’

 

कसरी राखियो नाम ‘मेन्छ्यायेम’ ?

एउटा यस्तो समय थियो, जतिवेला गाउँमा लेखपढ गरेका मान्छे कमै हुन्थे । तैपनि सञ्चारको माध्यम चिठ्ठीपत्र मात्रै थियो । खबर आदान प्रदानकालागि कि चिठ्ठी लेख्नुपथ्र्यो, कि मान्छे स्वयम् पुग्नपथ्र्यो । हाटबजार र मेला, पर्वहरु पनि सीमितमात्रै थिए, दुई गाउँका साथीभाईको भेट उस्तै परे वर्षदिनमा मात्रै हुने । मानिसहरु आफ्ना मनका भावना पोख्न तड्पिन्थे । मन मिल्ने मायालु जोडीको खोजीमा लामो यात्रा गर्थे ।

त्यही बेला यहाँको ठूलो घाँसे चउर र माथिको अग्लो डाँडो मानिसहरुको गन्तव्य बनेको थियो । वरिपरिका गाउँका तरुनी तन्नेरीहरु गाईबस्तु चराउने निउँमा यहाँ जम्मा हुन्थे । मन र माया साँटासाट गर्थे । त्यहीबेला यो ठाउँको नाम मेन्छ्यायेम राखियो । डाँडालाई मान्छेहरुले ‘मेन्छ्यायेम डाँडा’ भने । अनि ठूलो चउर समेत भएकाले यो वनलाई ‘मेन्छ्यायेम धाप’ भन्न थाले ।

अहिलेपनि यहाँका आसपासका बासिन्दाको मनोकामना पूरा हुने ठाउँ हो मेन्छ्यायेम । त्यसबेला वन समूहको नाम मेन्छ्यायेम राखियो । अहिले यही डाँडो र वनको नामबाटै सिंगो गाउँपालिका परिचित छ । तत्कालिन श्रीजुङ, मोराहाङ र पौठाक गाउँ मिलाएर ‘मेन्छ्यायेम गाउँपालिका’ बनेको छ । मेन्छ्यायेमलाई लिएर अहिले अनेक मिथकहरु बनेका छन् । प्रयोगमा ल्याइएको छ ।

अर्को किंवदन्ती पनि छ कि सुके भन्ने ठाउँमा भरियाहरुले ढाकर बिसाएर डाँडातिर हेर्दा ‘मेन्छ्या’ अर्थात् ‘तरुणी’ उभिएको देख्थे । र डाँडो र वनको नाउँ नै मेन्छ्यायेम हुन गयो । यहाँका बहुसंख्यक बसोबासी लिम्बुहरुको भाषामा ‘मेन्छ्या’ भनेको तरुनी र ‘येप’ को अर्थ उभिएको भन्ने हुन्छ । त्यहीबाट अपभ्रंस भएर मेन्छ्यायेम भनिएको स्थानीय बताउँछन् ।

सदरमुकाम म्याङलुङ्ग देखि करिब सात कोष उत्तरमा रहेको यो वन ०५३ सालमै समुदायलाई हस्तान्तरण भयो । यसको क्षेत्रफल ३६२.८३ हेक्टर छ । ९४ घरधुरी उपभोक्ता छन् । वन क्षेत्र समुद्री सतहदेखि करिब २००० मिटरदेखि २९०० मिटरसम्मको उचाइमा पर्दछ । यहाँ लिम्बुहरुको बाहुल्यता भएपनि तामाङ, शेर्पा, ब्राह्मण, क्षेत्री र दलित समेतको बहुजातीय समुदाय छ ।

 

समावेशी वन : सात प्रजातिका गुराँसदेखि रेडपाण्डासम्म एकै ठाउँमा,  के-के छन् वनभित्र ?

मेन्छ्यायेम सामुदायिक वन क्षेत्रभित्र गुराँसमात्रै छैनन् । पात्ले, खोल्मे, खराने, चाँप, लौठसल्ला, उत्तिस, वराँठ, सिसि, असारे आदि वनस्पति पनि छन् । यस्तै, झिगानु, अंगेरी, फलाँट, बाँस आदि प्रजातिका रुखविरुवाहरु पनि छन् । वन क्षेत्रभित्र परापुर्वकाल देखिनै रैथाने जात पात्ले कटुस, लालीगुराँस, खोल्मे, खराने, निगालो, पर्‍याङ बाँस आदि रहेको पाइन्छ । हाल यस वन क्षेत्रमा उत्तिस, अंगेरी, लहरे काँडा वृद्धि हुदै गएको पाइन्छ ।

हाल वनभित्र २० प्रतिशत बोटविरुवा गुराँसका छन् । वनभित्र छ लाख नौ हजार २६ वटा रुख विरुवाहरु रहेको समुहले जनाएको छ । जसमध्ये चार लाख १२ हजार चार सय १२ वटा विरुवा, एक लाख ४५ हजार पाँच सय ६७ लाथ्रा, ३२ हजार दुई सय ८१ वटा पोल र १८ हजार छ सय ६६ वटा रुख छन् । वनभित्र गुराँसकामात्रै सबैभन्दा धेरै एक लाख २६ हजार नौ सय ७१ रुख विरुवा छन् । यस्तै, चाँप एक हजार पाँच सय ८०, पात्ले कटुस २६ हजार एक सय ५२, बराठ चार हजार एक सय ५३ र अन्य चार लाख ५० हजार एक सय ७० बोट विरुवा रहेका छन् ।

फाइल फोटो ।

यो वनमा बाघ, चितुवा, घोरल, मृग, बाँदर, ढेडु, दुम्सी, मलसाप्रो, थार, कालिज, पिउरा, मुनाल, स्याल, फ्याउरा आदि प्रशस्त मात्रामा थिए भने हाल निकै वर्षदेखि चितुवा, घोरल, मलसाप्रो, मुनाल, स्याल आदि वन्य जन्तुहरु लोप हुदै गएको अवस्था छ ।

कहिलेकाँही लोपोन्मुख जंगली जनावर रेडपण्डा समेत देखिने स्थानीय बताउँछन् । यस्तै, जडिवुटीहरु सतुवा, चिराइतो, लोक्ता, विख्मा, लौठसल्ला, गुराँस, वुढो ओखती, पाखनवेद आदि पाइन्छन् । तर, जडीबुटीको संरक्षण र व्यवस्थापन हुन सकेको छैन । बन क्षेत्रमा अहिलेपनि ठूल्ठूला नागी चउर र प्राकृतिक पोखरी तथा सिमसार क्षेत्रहरु रहेका छन् ।

लोपोन्मुख चराचुरुङ्गी र जीवजन्तुको बासस्थानको रुपमा यो वनमा अहिलेपनि लेकाली गोठ, भेडीगोठ र चौरीगोठ देख्न पाइन्छ । हिउँदमा बाक्लो तुषारो र हिउँ पर्ने यो वनका अधिकांश प्राकृतिक पोखरीहरु बाह्रैमास जीवित रहन्छन् ।

जसरी वनभित्र विविधता छ, वनका उपभोक्ता र उपभोक्ता समूह पनि समावेशी रहेको छ । उपभोक्तामध्येबाट ११ सदस्यीय कार्यसमिति बनेको छ । समितिमा पाँच महिला र छ जना पुरुष छन् । एक जना बाह्रमण क्षेत्री र १० जना आदिवासी जनजाति समुदायका छन् ।

यसबाहेक पाँच सदस्यीय सल्लाहकार समिति, तीन सदस्यीय लेखा समिति, पाँच सदस्यीय अनुगमन समिति र पाँच सदस्यीय न्यायिक समिति समेत गठन भएका छन् । ९४ घरधुरीमा पाँच सय २० सदस्य छन् । जसमध्ये २४८ महिला र २७२ पुरुष छन ।

वन विनाश बढी भएकाले समूहको ठूलो आम्दानी छैन । दाउरा र सुकेका, ढलेका काठ विक्री गरेर प्राप्त रोयल्टी, प्रवेश शुल्क र सदस्यता नवीकरण शुल्क तथा जडीबुटी विक्रीबाट आउने रकममात्रै समूहका आम्दानीका श्रोत हुन् । समूहले वन क्षेत्रका लोक्ता र चिराइलो विक्री गर्छ ।

फाइल फोटो ।

मेन्छ्यायेम धाममा बन्दैछ ‘गुराँस उद्यान’

गुराँस मासिने क्रम बढेपछि समूहले खाली रहेको ठाउँमा उपभोक्ता र गाउँपालिकाको सहयोगमा गुराँस रोपण गरेको छ । मेन्छ्यायेम धापमा गुराँस उद्यान निर्माण भइरहेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको ८० लाख रुपैयाँ लागतमा यहाँको करिब १२ सय रोपनी जग्गामा ‘गुराँस वाटिका’ निर्माण भइरहेको समूहका अध्यक्ष ले जानकारी दिए ।

सो उद्यानभित्र तीनजुरे मिल्के जलजले क्षेत्रमा पाइने सबै २८ वटै प्रजातिका गुराँस रोप्ने योजना रहेको छ । ‘अब सबै प्रकारका गुराँस देख्न पुरै तीनजुरे मिल्के जलजले क्षेत्र घुम्नु पर्दैन, यहाँको गुराँस उद्यानमा आए पुग्छ,’ समूहका अध्यक्ष रत्नबहादुर लिम्बु भन्छन्, ‘‘हामीले गुराँस रोप्नेमात्रै हैन, तिनको प्रजाति, वैज्ञानिक नाम र जनजिब्रोको नामसहितको ट्याग समेत राख्दैछौँ, जसले गर्दा आगन्तुक र पर्यटकहरुलाई चिन्नकालागि पनि सहज हुन्छ ।’

समूहले वनमा चिराइतो, लौठसल्ला, सतुवा, वनलसुन, पाखनवेद, ठूलो ओखती, हड्चुर, बिख्मा, रुख उनिऊ, तितेपाती, कुरिलो, मिल्के लहरा, पदमचाल, मजिटो लगायत जडीबुटीसमेत संरक्षण गरेको छ । वनको संरक्षण तथा ब्यवस्थापनकालागि गुराँसका दाउरा कट्न प्रतिवन्ध लगाइएको छ । उपभोक्ता समूहले पुनरुत्पादनलाई संरक्षण गर्न चरिचरन समेत बन्द गरेको छ । खाली ठाउँहरुमा विरुवा रोप्ने काम गरेको छ । समूहले कहिलेकाँही देखा पर्ने रेडपाण्डा संरक्षणकालागि बन क्षेत्रमा निगालो समेत हुर्काइरहेको छ ।

फाइल फोटो ।

अझै उस्तै छन् समस्या, के गर्दैछन् उपभोक्ता ?

वन क्षेत्रमा चोरी शिकारी र खुल्ला चरिचरणको समस्या अहिले पनि कायम छ । मानिसहरुले फँडानी गर्ने र दाउराकालागि गुराँस बाल्न छाडेका छैनन् । दाउरा विकल्पकालागि विभिन्न प्रस्ताव अघि सारिएपनि त्यस्तो प्रयास सफल भएको छैन । अन्य सेवासुविधा र अवसरको सिर्जना गर्न नसक्दा उपभोक्ताहरु बसाई सरेर जान बाध्य छन् । वन पैदावरमा संघ, प्रदेश र स्थानीय तहले तहैपिच्छे लगाएको कर पनि चुनौती बनेको छ । वन क्षेत्रमा नयाँ र मिचाहा वनस्पतिको फैलावट बढिरहेको छ ।

वन नजिकै रहेका उपभोक्ताले लगाएको अन्नबाली वनमा पाइने मृग, बाँदर, ढेडु, दुम्सी, कालिज आदिले नष्ट गरिदिने गरेकाले पनि उपभोक्तामा वन संरक्षणप्रति निराशा छाउन लागेको छ ।

उपभोक्ता समूहले वन क्षेत्रका खाली ठाउँमा गुराँस, चाँप र लौठसल्ला वृक्षरोपण गर्ने योजना बनाएको छ । इन्धन कम खपत गराउनकालागि उपभोक्तालाई सुधारिएको चुलो, सोलार डायर र विद्युतीय चुलो दिने कार्यक्रम समेत रहेको उपभोक्ता समूहका अध्यक्ष लिम्बुले बताए । यस्तै, गुराँसको दाउराको वैकल्पिक व्यवस्थाकालागि समेत निरन्तर छलफल भइरहेको उनी बताउँछन् ।

चोरी सिकारी न्युनिकरण गर्न वन कार्यालय, गाउँपालिका र प्रहरीको सहयोगमा दोषीको खोजी र कारवाही गर्ने समूहको योजना छ । खुला चरिचरणले वन नष्ट गरेकाले वन क्षेत्र प्रवेश गर्ने क्षेत्रमा तारजालीको बार लगाउने समूहको योजना छ । वनको सून्दरतालाई प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको समूहका अध्यक्ष लिम्बु बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया