चितवन । चितवनमा पिसिआर परीक्षणको नतिजा मोवाइलबाट एसएमएस गरेर पठाउन थालिएको करिब दुई हप्ता भयो।

परीक्षण पश्चात तुरुन्तै नतिजा उपलब्ध गराउनेगरी यो सेवा सुरू गरिएको हो। तर एसएमएसबाट नतिजा थाहा पाएपछि संक्रमितहरू लुक्न थालेको भेटिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनमा प्रमुख दिपक तिवारीकाअनुसार एसएमएसमार्फत पोजेटिभ रिपोर्ट प्राप्त गरेपछि मोवाइल ‘स्विचड अफ’ गर्नेको संख्या बढ्न थालेको छ।

‘सम्बन्धित व्यक्तिलाई नतिजा पठाएपछि हामीले पोजेटिभ रिपोर्ट आएकाहरूलाई टेलिफोनमार्फत सम्पर्क गर्ने गरेका छौं’, तिवारीले सेतोपाटीसँग भने, ‘तर पछिल्ला दिनमा कोरोना पुष्टि भएको एसएमएस पाएपछि मोवाइल नै बन्द गरेर सम्पर्क बाहिर बस्नेको संख्या बढ्दै गएको छ।’

संक्रमितहरूका कारण समाजमा कोरोना फैलन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालयलेसमेत पोजेटिभ रिपोर्ट आएकाहरूलाई टेलिफोन गरेर उनीहरूको घरसम्म पुगि निगरानी गर्ने गर्दै आएको छ।

‘सम्पर्क गर्न खोज्दा कसैले फोन नउठाउने, कसैले मोवाइल अफ गर्ने गरेको भेटियो’, प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले भने, ‘सम्पर्कमा आउन नचाहेर मोवाइलको सिम कार्ड नै बदलेको पनि फोला पर्‍यो।’ उनले सबै संक्रमितलाई सम्पर्कमा ल्याउने प्रयास गरेपनि नसकिएको बताए।

पहिले स्वाब दिएकाहरुमा कोरोना पुष्टि भएपछि स्वास्थ्यकर्मीहरू घरमै पुगेर जानकारी गराउँदै कन्ट्याक्ट ट्रेसिङमा जुटिहाल्थे।

संक्रमितलाई अस्पताल वा सुरक्षित आइसोलेसनमा राखेर निगरानी गरिँदै आएको थियो।

‘तर अहिले एसएमएसमार्फत आफू संक्रमित भएको जानकारी पाएपछि खुल्न नचाहेर सम्पर्कमा नआउनेक्रम बढ्न थालेको छ’, तिवारीले भने, ‘यसले समाजमा संक्रमण फैलनेक्रम बढ्ने देखिन्छ।’

संक्रमितहरूलाई समाजले बहिस्कार, तिरस्कार गर्ने गरेको खबरका कारण त्रसित भएर खुल्न नचाहेको हुनसक्ने उनले बताए।

सरकारले समेत लक्षण नभएकाहरूको पिसिआर परीक्षण नगर्ने नीति लिएको छ।

यसकारण अब कसैलाई कोरोना संक्रमण देखिहालेमा कन्ट्याक ट्रेसिङ गर्ने कि नगर्ने भन्ने अन्योलमा स्वास्थ्य कार्यालय तथा स्थानीय तहहरू छन्।

‘कन्ट्याक्ट ट्रेसिङ बन्द गर्दा संक्रमितहरू बढ्ने संभावना बढी हुन्छ’, तिवारीले भने, ‘तर सरकारले लक्षण नदेखिएकाको परीक्षण नगर्नु भनेर परिपत्र गरेका कारण स्वाब संकलन गर्न मिलेन। कसरी अघि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ।’

तिवारीकाअनुसार चितवनमा कोरोना संक्रमण पुष्टि भएकाहरू परीक्षणका लागि अस्पताल पुगेका धेरै छन्।

शंकास्पद ठानेर क्वारेन्टिनमा राखिएका भन्दा आफै अस्पताल पुगेर स्वाब दिएकाहरू धेरैमा कोरोना पोजेटिभ देखिएको उनले बताए।

स्वास्थ्य जाँचका लागि, कृषि तथा उद्योगहरूको कामका लागि विभिन्न जिल्ला तथा भारतबाट आएकाहरूबाट कोरोना संक्रमण फैलिएको स्वास्थ्य कार्यालय बताउँछ।

‘यो क्रम निकै बढ्ने देखिन्छ’, प्रमुख तिवारी भन्छन्, ‘निषेधाज्ञा खुलेपछि मानवीय चहलपहल बढ्ने भएकाले अब नियन्त्रण गर्न झन् गाह्रो छ ।’

उनले पहिले समाजमा फैलन नदिनकालागि धेरै प्रयास गर्दा पनि नसकिएका कारण अब मृत्युबाट जोगाउने प्रयासमा लाग्नु आवश्यक रहेको बताए।

यसका लागि लक्षण नदेखिएकालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्ने र देखिएकाहरूलाई तुरुन्तै अस्पताल ल्याएर उपचार थाल्नेगरी तयारी भइरहेको उनले बताए।

चितवनमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय नाघेको छ। उनीहरूमध्ये ४०९ जनालाई निको भइसकेको छ।

अहिलेसम्मका यहाँका १७ जना संक्रमितहरूको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया