पाँचथरको लब्रेकुटीलाई लुम्बिनी जसरी नै विकास गर्न सकिने

पाँचथर । पहाडको चिसो टाकुरा, उत्तरमा सगरमाथा, कञ्चनजंगा र कुम्भकर्ण सहितका हिम श्रृड.खला देखिने । वरिपरि हरियोपरियो । अहा, कति सुन्दर होला है यस्तो ठाउँ ? कति आनन्द हुन्छ होला है यस्तो गाउँ ?

हो, यस्तो ठाउँ छ पाँचथरमा, लब्रेकुटी । यो सुन्दर ठाउँसँग धर्म र इतिहास पनि गासिएको छ । राष्टिय विभुति महागुरु फाल्गुनन्दले यही ठाउँमा तपस्या गरी सत्यधर्म मुचुल्का घोषणा गरेका थिए ।

सुन्दरतासँग आध्यात्म र इतिहास पनि जोडिएको ठाउँ हो लब्रेकुटी । र, यो निकै ठूलो पर्यटकीय गन्तव्य बन्न सक्छ ।

सदरमुकाम फिदिम नगरपालिका ५ मा अवस्थित लब्रेकुटी क्षेत्र धार्मिक र पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदैछ ।

लब्रेकुटीमा पाँचथर र इलामका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन् । विशेषतः युवायुवती, किशोर किशोरीका लागि आकर्षणको केन्द्र बनेको छ ।

मेची राजमार्गको इलाम फिदिम सडक खण्डको कान्छी दोकान बजारबाट दुई किलोमिटर भित्र पर्छ लब्रेकुटी । अर्थात्, यहाँसम्म पुग्न गाह्रो छैन, सजिलै पुग्न सकिन्छ ।

किराँत धर्मगुरु तथा महान समाज सुधारक फाल्गुनन्द लिङदेनले तपस्या गरी सत्यधर्म मुचुल्का घोषणा गरेका हुनाले किराँत धर्मावलम्बीहरुका लागि पवित्र स्थल हो लब्रेकुटी ।

उच्च पहाडी क्षेत्रमा पर्ने लब्रेकुटीमा किराँत धर्मवालम्बीहरु आस्थाका कारण आउने गरेका छन् । किराँत मात्र नभएर अन्य मानिस पनि महागुरु फाल्गुनन्दप्रतिको श्रद्धाले यहाँ आउँछन् ।

लब्रेकुटीमा पाँचथर र इलामका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन् । विशेषतः युवायुवती, किशोर किशोरीका लागि आकर्षणको केन्द्र बनेको छ ।

लब्रेकुटी क्षेत्रबाट कुम्भकर्ण, कञ्चनजंघा, सगरमाथा लगायतका हिमसृङ्लाहरुको दृश्यावलोकन गर्न सकिन्छ । नेपालका विभिन्न स्थानसँगै भारतमा छरिएर रहेका किराँत धर्मवालम्बीहरु धार्मिक आस्थाका कारण पनि यो स्थानमा आउने गरेका छन् ।

किराँत धर्मका महागुरु फाल्गुनन्दले यहाँ तपस्या गरेका थिए । उनले किराँती समूदाय पछाडी पर्नुका कारण औंल्याउदै, किराँत समुदाय अगडी बढ्न गर्नुपर्ने सन्देश समेटेर ७ बुँदे “सत्यधर्म मुचुल्का” यहिँबाट घोषणा गरेका थिए ।

लब्रेकुटीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लिम्बू भाषा र संस्कृतीको क्षेत्रमा काम गरिरहेका विभिन्न संस्था समेत लागि परेका छन् । फिदिम नगरपालिकाले समेत गुरुयोजना तयार गरेर पर्यटकीय गन्तब्य बनाउन आवश्यक काम गरिरहेको छ ।

नगरपालिकाका कार्यकारी प्रमूख ओनाहाङ नेम्वाङका अनुसार लब्रेकुटि नगरपालिका क्षेत्र भित्र पर्ने पर्यटकिय स्थलहरु मध्ये पनि अब्बल रहेकाले र अब गुरुयोजना तयार पारेर यिनीहरुलाई प्रवद्र्धनको तयारी भैरहेको छ ।

गत कात्तिक २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा लब्रेकुटी आएका थिए । फाल्गुनन्दको १ सय ३३ औं जन्मजयन्तीको अवसरमा आएका देउवाले लब्रेकुटीलाई लुम्बिनी बिकास ट्रष्ट जस्तै लब्रेकुटी विकास ट्रष्टको रुपमा अगाडी बढाउने घोषणा गरेका छन् । त्यसपछि यहाँका जनता उत्साहित बनेका छन् ।

फिदिम नजिकै रहेको लब्रेकुटीलाई धार्मिक तथा पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न सके जिल्लाकै अर्थतन्त्रमा टेवा पुग्ने व्यवसायीहरु बताउँछन् । किराँत धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष सुरेन्द्रप्रकाश जवेगू यो क्षेत्रमा सांस्कृतिक पर्यटनको पनि राम्रो सम्भावना रहेको टिप्पणी गर्छन ।

पर्याप्त क्षेत्रफलमा फैलिएको लब्रेकुटीको प्रवद्र्धन हुने हो भने पाँचथर जिल्लाले पर्यटनबाटै पर्याप्त आम्दानी लिन सक्ने सरोकारवालाहरु बताउँछन् ।

नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको सुन्दर लब्रेकुटी एकपटक जाने हो त ?

-हाम्रो कथाबाट ।

तपाईको प्रतिक्रिया