भोजपुर, १५ मंसिर – भोजपुरमा स्थानीय तहका जनप्रतिनिधिबीच दलीय स्वार्थको कारण नगरपरिषद तथा गाउँपरिषद नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । समयमा नै नीति तथा कार्यक्रम पारित गरेर योजनाहरु कार्यान्वयन गर्नुपर्नेमा अहिलेसम्म पनि परिषद नहुँदा स्थानीय तहको कामकाज प्रभावित भएको हो ।

२ नगरपालिका र  सात गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको भोजपुरमा पाँच ओटा गाउँपालिका र नगरपालिकाले मात्र नगर तथा गाउँपरिषद सम्पन्न गरेका छन् भने एक नगरपालिका सहित तीनओटा गाउँपालिकाको परिषद अझै हुन सकेको छैन ।

अन्य पार्टीबाट विजयी भएका उपप्रमुख लगायत सदस्यहरुले निर्णय प्रक्रियामा असहयोग गरेको कारण पटक–पटक वैठक बस्दा पनि ऐन तथा नियमावली पारित गर्न नसक्दा हालसम्म परिषद हुन नसकेको पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले बताउनुभयो ।  अन्य स्थानीय तहका प्रमुखहरु अल्पमतमा परेकोले निर्णयहरु पारित नहुँदा परिषद्मा ढिला भएको जनाइएको छ ।

जनप्रतिनिधिबिच रहेको एक आपसको किचलोलाई हटाएर परिषद गराउने तयारी भईरहेको जिल्ला समन्वय समितिले जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण खड्काले भन्नुभयो, ‘चुनावको कारण यसअघि त परिषद् गर्न मिलेन, तर अब भने हामी उनीहरुबिच रहेको असमझदारीलाई मिलाएर परिषद् गराउने पहलमा छौं ।’

तपाईको प्रतिक्रिया