काठमाडौँ । कोरोना जोखिमका कारण ११ चैतदेखि बन्द रहेको होटेल र लामो दूरीको यातायात १ असोजबाट सञ्चालनमा आउने भएको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजिनक गर्दै हवाई क्षेत्र पनि १ गतेदेखि खुलाउने जनाएको थियो । तर, पर्यटन मन्त्रालयले ५ गतेबाट खुलाउने निर्णय गरेकाले सोहीअनुसार खुलाउन हवाई कम्पनीहरूलाई पत्र पठाएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।

यता सरकारका प्रवक्ताले सिटको आधा क्षमतामा मात्रै यात्रु उडाउनुपर्ने बताए । तर, यसअघि पूरै सिट क्षमतामा उडाउने निर्णय भएकाले बुधबार यो विषयमा व्यवसायीहरूसँग छलफल गरिने महानिर्देशक पोखरेलले बताए ।

एयरलाइन्स कम्पनीहरूले ५ असोजदेखि नै उडान गर्ने गरी टिकट बुकिङ खुलाएका छन् । नेपालीहरूको चाड दसैंसमेत नजिकिएको भन्दै एयरलाइन्स कम्पनीहरूले बुकिङ खुलाएका हुन् । बुद्ध, यती, सीता, तारा, श्री एयरलाइन्स, सिम्रिकलगायत एयरलाइन्स कम्पनीहरूले टिकट बुकिङ खुलाएका छन् ।

व्यवसायीहरूले होटेल र रेस्टुराँ १ असोजदेखि नै खुलाउने निर्णय गरेका छन् । सरकारले १ असोजदेखि खुलाउन अनुमति दिने निर्णयसँगै व्यवसायीहरूले स्वास्थ्य प्रोटोकल लागू गरेर खुलाउन लागेको जनाएका छन् ।

देशभर २० हजारभन्दा बढी रेस्टुराँ रहेका छन् भने १५ हजारभन्दा बढी साना र ठूला होटेलहरू रहेका छन् ।
११ चैतबाट बन्द रहेको लामो दूरीको यातायात खुलाउने सरकारको निर्णयसँग यातायात व्यवसायी र मजदुर खुसी भएका छन् । स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरेर सञ्चालन गरिने यातायात भाडा भने ५० प्रतिशत थप हुनेछ ।

तर, सवारीसाधनको एकापट्टि मात्र यात्रु राख्न पाइनेछ । सबैखालको तयारी भइरहेकाले बिस्तारै सञ्चालन गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

यसैबीच यातायातमन्त्री वसन्त नेम्वाङले बुधबार १० बजे मन्त्रालयमा छलफलका लागि व्यवसायीलाई डाकेका छन् । बिहीबारदेखि यातायात सञ्चालनमा ल्याउने भए पनि प्रोटोकल के–के हुने, कहाँ खाना खुवाउने, कहाँ ओराल्नेजस्ता विषय भने स्पष्ट नभएको व्यवसायीहरूको भनाइ छ ।

 

डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

उनलाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएको सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । राष्ट्रिय सभामा मनोनीत नहुने भएपछि खतिवडाले २९ भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।

तपाईको प्रतिक्रिया