काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मंगलबार विदाइ हुँदा कुलमान घिसिङले आफ्नो ४ वर्षे कार्यकालमा भएका राम्राे कामका सबै जश अरुलाई पनि बाँडिदिन पटक-पटक आग्रह गरे । अधिक प्रचारबाट जोगिन मिडिया छल्नु परेको गुनासो उनले पोखे ।

४ वर्षको कार्यकालमा केही गल्ती भएनन् भन्ने कुरा उनी स्वयं पनि स्वीकार्दैनन् । उनीमाथि थुप्रै आरोप पनि लागे । तुलोमा जुनको तौल बढी भयो, त्यसैले जित्ने हो, उनका लागि राम्रो कामको तौल बढी भयो ।

मंगलबार विदाइका क्रममा उनले ४५ मिनेट लामो मन्तव्य दिए । उनले दोहोर्‍याएर भने, ‘एकल प्रयासबाट प्राधिकरण अहिलेको स्थानमा आएको हैन । सबैको साथ मिलेको हो ।’

यद्यपि उनले छुटाएनन्, आफूले राखेका कतिपय अडानले प्रगति सम्भव भयाे, थुप्रै चुनौतीको सामना गर्नुपर्‍याे ।’

मुलुकमा दैनिक १४ घण्टा लामो लोडसेडिङकाे तालिका लागू गरिएका बेला प्राधिकरण छिरेका कुलमानले बाहिरिने क्रममा विद्युत खपत बढाउन आग्रह गरे । अहिले पर्याप्त विद्युत छ ।

घाटामा गएको संस्थालाई नाफामा पुर्‍याएको, ग्राहकको महसुल पहिलो पटक घटाएको, कर्मचारीको सुविधा बढाएकोजस्ता थुप्रै काममा जश पाइरहँदा कुलमानले भने विज्ञप्ति जारी गरेरै अहिलेको उपलब्धि सरकारका, ऊर्जा तथा जलस्रोत मन्त्रालय, प्राधिकरणका कर्मचारीका कारण सम्भव भएकाे भनिरहेका थिए । आफ्नो कामको अधिक प्रचार भएपछि उनले १ महिनाअघि यस्तो विज्ञप्ति जारी गर्दै जश सरकार र ऊर्जा मन्त्रालयलाई दिन आग्रह गरेका थिए ।

उनलाई लागेको हुन सक्छ, आफ्नो लोकप्रियता राजनीति गर्नेहरूले रुचाएनन् । त्यसैले उनले जश बाँडिदिन पटक-पटक आग्रह गरे ।

उनलाई नियुक्तिको प्रस्ताव लगेका तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र अहिलेका ऊर्जामन्त्री वर्षमान पुनले पनि कतिपय सार्वजनिक कार्यक्रममा प्राधिकरण कुलमान एक्लैले नबनाएको र प्रगतिमा आफ्नो पनि हात रहेको दाबी गर्ने गरेका छन् ।

कार्यसम्पादनमा उनी सधैँ उत्कृष्ट बने । कार्यकारी निर्देशक भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कुलमानबीच प्राधिकरण सुधारका विभिन्न सूचकांकसहित गरिएको कार्यसम्पादनमा आर्थिक वर्ष २०७३/७४ मा ८८.१९, आर्थिक वर्ष ०७४/७५ मा ८७.९८, आर्थिक वर्ष ०७५/७६ मा ८६.८२ र आर्थिक वर्ष २०७६/७७ मा ८७.५५ प्रतिशत उपलब्धि हासिल गरेका थिए ।

आफ्नो कार्यकालको समीक्षा गर्दै कुलमानले भने, ‘मैले जिम्मेवारी सम्हाल्दा मुलुक अन्धकार थियाे । प्राधिकरणको वित्तीय अवस्था अत्यन्तै नाजुक थियो । वर्षमा सबैभन्दा बढी विद्युत माग हुने तिहारदेखि नै लोडसेडिङ अन्त्य गर्ने प्रयास गरेका थियौँ, हामी सफल भयाैँ ।’

कहाँ कहाँ भयो सुधार ?

वित्तीय तथा प्रशासनिक सुधार

वित्तीय तथा प्रशासनिक सुधारतर्फ उनले उल्लेख्य प्रगति हासिल गरे । उनले व्यापारीबाट अनावश्‍यक शुल्क लिएको आरोप खेप्नुपर्‍यो । पटक-पटक अदालतमा उपस्थित हुनुपर्‍यो । प्राधिकरणसँग सम्बन्धित कतिपय मुद्दा अहिले पनि विचाराधीन छन् ।

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण उनी नियुक्त भएपछि नाफामा आयो ।  आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ४७ करोड, आर्थिक वर्ष ०७४/७५ मा २ अर्ब ८५ करोड, आर्थिक वर्ष ०७५/७६ मा ७ अर्ब २० करोड र आर्थिक वर्ष ०७६/७७ मा  ११ अर्ब ६ करोड  रुपैयाँ खुद नाफा आर्जन गर्ने सरकारी संस्थानको रूपमा प्राधिकरण गनियो ।

३९अर्बको सञ्चित नाफा

कुलमानको कार्याकालमा प्राधिकरणले करिब ३९ अर्ब रुपैयाँ सञ्चित नाफा कमायो । प्राधिकरणको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ सम्म ३४ अर्ब ६१ करोड सञ्चित घाटा पुगेकोमा अर्को वर्षबाट घट्ने क्रम सुरु भयो । ०७३/७४ मा २८ अर्ब १७ करोड, आर्थिक वर्ष ०७४/७५ मा २५ अर्ब ५९ करोड, आर्थिक वर्ष ०७५/७६ मा १२ अर्ब २३ करोडमा झरेकोमा आर्थिक वर्ष ०७६/७७ मा सञ्चित घाटालाई शून्यमा झारी प्राधिकरण ४ अर्ब ८७ करोड रुपैयाँ नाफामा गयो ।

आर्थिक वर्ष २०७२/७३  सम्म कुल ३५ अर्ब आम्दानी रहेकोमा त्यसपछि आम्दानी निरन्तर बढ्न थाल्यो ०७३/७४ मा ५१ अर्ब ७० करोड, आर्थिक वर्ष ०७४/७५ मा ६२ अर्ब ७ करोड, आर्थिक वर्ष ०७५/७६ मा ७६ अर्ब २१ करोड र आर्थिक वर्ष २०७६/७७ मा ७७ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

बढ्यो निर्यात  र घट्यो आयात

आर्थिक वर्ष २०७२/७३ सम्म निजी क्षेत्रमा २७ आयोजनासँग ४ सय ७४ मेगावटको विद्युतको पीपीए भएकोमा कुलमान बाहिरिँदै गर्दा १ सय ८७ आयाेजनासँग ३ हजार ६ सय ६२ मेगावटको पीपीए भएको छ । विगतमा ३५ प्रतिशत विद्युत भारतबाट आयात हुने गरेकोमा विद्युतको खपत ८० प्रतिशतले वृद्धि हुँदा समेत २२ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७२/७३ मा वार्षिक ३१ लाखको विद्युत निर्यात भएकोमा आर्थिक वर्ष २०७६/७७ मा १० करोड ७० लाख युनिट विद्युत निर्यात भएको छ ।

कति भयो उत्पादन ?

लक्ष्यअनुसारको उत्पादन गर्न नसकिए पनि कुलनमानको आगमनपछि विद्युत उत्पादन वृद्धि भएको छ । अलपत्र अवस्थामा रहेको ३० मेगावाटको चमेलिया र वैशाख २०७२ काे विनाशकारी भूकम्पपछि निर्माण सुरु हुन नसकेको ६० मेगावाटको माथिल्लो त्रिशूली- ३ ए जलविद्युत आयोजना सम्पन्न भएको छ ।

१४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । ७० मेगावाटको मध्यमर्स्याङ्दीकाे बाँधस्थल मर्मत, सुन्दरी जलविद्युत केन्द्रको क्षमता बृद्धि एवं विद्युत गृहहरूको नियमित मर्मतसम्भारको व्यवस्था गरिएको कुलमानले बताए ।

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी विस्तृत इन्जिनियरिङ अध्ययन अन्तिम चरणमा पुगेको, नेपाल सरकारले कार्यान्वयनमा ल्याएको ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत निर्माण गर्न अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेड स्थापना गरिएको कुलमानले आफ्नो कार्य प्रगतिमा उल्लेख गरेका छन् ।

६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ । ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’, १८.२ मेगावाटको माथिल्लो मोदी, २ सय १० मेगावाटको चैनपुर सेती, १ सय ५० मेगावाटको बेगनास रुपापम्प स्टोरेज, १ सय ८० मेगावाटको आँधीखोला जलाशययुक्त, उत्तरगंगा जलाशययुक्त जलविद्युत आयोजनाहरूकाे अध्ययन भइरहेकाे कुलमानले बताए ।

२५ मेगावाटको सोलार आयोजनाको विवाद समाधान गरी १.२५ मेगावाट विद्युत् प्रणालीमा जोडिएको छ ।

सहायक कम्पनीको सुधार

घिसिङको कार्यकालमा विद्युत प्राधिकरणका सहायक कम्पनीहरूको कामलाई तीव्रता दिइएको छ । भूकम्पपछि बन्द अवस्थामा रहेको प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनीअन्तर्गतका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्य भोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको निर्माण अन्तिम चरणमा पुगेकाे छ ।

भूकम्पपछि बन्द अवस्थामा रहेको स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण चालू आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । माथिल्लो तामाकोसीको क्यासकेट आयोजनाको रूपमा निर्माण हुने ९९.६ मेगावाटको तामाकोसी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रक्रिया अगागि बढाइएको प्राधिकरणले जनाएको छ ।

१ सय ४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत आयोजनाको विद्युत गृह, बाँध (प्याकेज- २) र दर्माली-भरतपुर २ सय २० केभी प्रसारण लाइन (प्याकेज-३) को निर्माण सुरु भएको, बाँध निर्माण (प्याकेज-३) को निर्माणका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको दाबी कुलमानको छ ।

३७ मेगावाटको माथिल्लो त्रिशूली ३ बीजल विद्युत आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माण सुरु गरिएको, आयोजनालाई जनताको जलविद्युत कार्यक्रमको पहिलो आयोजनाको रूपमा कुलनमानकै कार्यकालमा अघि बढाइएको हो ।

१ हजार ३ सय ६४ किलोमिटिर प्रशारण लाइन विस्तार

कुलमानकाे कार्यकालमा तीव्रताका साथ प्रशारण लाइन विस्तार गरिएको छ । २०७३ सम्म ६६ केभी र सोभन्दा माथिका प्रशारण लाइनको लम्बाई २ हजार ९ सय ११ सर्किट किलोमिटर रहेकोमा १ हजार ३ सय ६४ किलोमिटर लम्बाइ बढेको छ । जसअनुसार अहिले ४ हजार २ सय ७५ सर्किट किमी पुगेको हो। चार वर्षअघि ग्रीड सवस्टेसनहरूको क्षमता करिब २ हजार २ सय २३ एमभीए रहेकोमा अहिले ८७ प्रतिशतले बढेर ४ हजार १ सय ६० एमभीए पुगेको छ ।

अन्तरदेशीय प्रसारण लाइन विस्तार

यो बीचमा अन्तरदेशी प्रशासण लाइनको विस्तार पनि बढाइएको छ । ढल्केबर २ सय २० केभी सवस्टेसन निर्माण गरी नेपाल-भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफ्फपुर-ढल्केवारलाई २ सय २० केभीमा चालू गरिएको छ ।

कटैया-कुशाहा १ सय ३२ केभी दोश्रो सर्किट र रक्सौल परवानिपुर १ सय ३२ के.भी. प्रसारण लाइनहरूको निर्माण सम्पन्न भएको छ । चार वर्षअघिसम्म नेपाल-भारतबीच कटैया-कुशाहा, गण्डक-रामनगर, लालपुर-टनकपुर र ढल्केवर-मुजफ्फपुर प्रसारण लाइनबाट करिब ३ सय ५० मेगावाट विद्युत प्रवाह हुन सक्ने अवस्था रहेकोमा क्षमता बृद्धि गरिएसँगै अहिले १ हजार ५ सय पुगेको छ । नेपाल र चीनबीच पनि रातोमाटे-रसुवागडी-केरुङ ४ सय केभी प्रसारण लाइन निर्माणका लागि प्राधिकरण र स्टेट ग्रीड चाइनाबीच समझदारी भएको छ ।

पहिलो पटक उपभोक्ताको महसुल घटाइयो

प्राधिकरणले हरेक वर्ष विद्युत महसुल बृद्धिको प्रस्ताव गरी घाटा कम गर्न खोज्थ्यो ।  महसुल बृद्धि पश्चात पनि घाटा भने बढ्थ्याे । कुलमानको कार्यकालमै पहिलो पटक उपभोक्ताको महसुल घटाइएको हो ।  १० युनिटसम्म खपत गर्ने घरायसी उपभोक्तालाई इनर्जी शुल्क छुट दिएर न्यूनतम शुल्क ३० रुपैयाँ मात्र तिर्नु पर्ने व्यवस्था गरिएको छ ।

समग्रमा घरायसी उपभोक्ताको महसुल करिब ८-९ प्रतिशतले घटेको, औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्तालाई लगाउँदै आएको डेडिकेटेड र ट्रंक लाइनकाे महँगो महसुल हटाइएको पनि कुलमानकै कार्यकालमा हो ।

चार वर्षअघि ग्राहक संख्या २९ लाख ६९ हजार ५ सय ७५ र राष्ट्रिय प्रसारण प्रणालीमार्फत करिब ६३.१९ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेकोमा अहिले ग्राहक संख्या करिब ४२ लाख र विद्युतको पहुँच ८६.४७ प्रतिशत पुगेको तथ्यांकले देखाउँछ । चार वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष विद्युत् खपत १ सय ३० युनिट मात्रै रहेकोमा अहिले बढेर २ सय ६० युनिट पुगेको छ ।

ग्राहकले विद्युत महसुल बुझाउन कार्यालयमै जानुपर्ने अवस्थालाई अन्त्य गर्न अनलाइनबाट तिर्न मिल्ने अवस्था सुरु गरिएको छ ।

र, चुहावट नियन्त्रण

कुलमानको कार्यकालमा विद्युत चुहावट नियन्त्रण पनि महत्त्वपूर्ण उपलब्धि हो । चार वर्षअघि कुल चुहावट २५.७८ प्रतिशत रहेकोमा अहिले १५ प्रतिशतमा झरेको छ । चुहावट नियन्त्रणबाट मात्रै प्राधिकरणले करिब ८ अर्ब रुपैयाँ नाफा गरेको कुलमानले बताए ।

तपाईको प्रतिक्रिया