काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का सदस्य राष्ट्रहरुमा सोमबार मध्याह्नसम्म ९२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोनाका भाइरसबाट सार्कका ८ राष्ट्रमा ५५ लाख ९१ हजार ४९४ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ४८ लाखभन्दा बढी भारतका अर्थात सार्क मुलुकका कुल संक्रमितमध्ये ८६ प्रतिशतभन्दा बढी भारतका नागरिक संक्रमित भएका छन् ।

विश्वमै दोस्रो बढी प्रभावित भारत

विश्वमा नै कोरोनाले दोस्रो धेरै प्रभावित भएको मुलुक भारत दक्षिण एसिया र दक्षिण एसियाली मुलुकहरूमा सबैभन्दा बढी प्रभावित भएको छ ।

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ७९ हजार ७५४ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा त्यहाँ थप १ हजार १४० जनाको मृत्यु भएको छ । एकैदिन ९३ हजार २१५ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४८ लाख ४६ हजार ४२७ पुगेको छ ।

उपचार गराइरहेका ९ लाख ८६ हजार ५६६ जनामध्ये ८ हजार ९४४ जनाको अवस्था गम्भीर छ । सोमबार यो समाचार तयार पार्दासम्म निको हुनेको संख्या ३७ लाख ८० हजार १०७ छ ।

बंगलादेश

संक्रमित संख्याका आधारमा भारतपछि सार्क राष्ट्रमा सबैभन्दा बढी प्रभावित मुलुकमा बंगलादेश छ ।

बंगलादेशमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या ४ हजार ७३३ पुगेको छ । त्यहाँ थप १ हजार ४७६ जनामा संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३७ हजार ५२० पुगेको छ ।

बंगलादेशमा संक्रमित मध्ये २ हजार ४० हजार ६४३ जना उपचारपछि निको भइसकेको छन् । उपचाररत ९१ हजार १४४ जनामध्ये २ हजार ४५ जनाको अवस्था गम्भीर छ ।

पाकिस्तान

संक्रमणका आधारमा सार्क राष्ट्रमा तेस्रो नम्बरमा रहेको पाकिस्तानमा हालसम्म ६ हजार ३८३ जनाको मृत्यु भएको छ । ३ लाख २ हजार २० जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये २ लाख ८९ हजार ८०६ जना निको भएर घर फर्किएका छन् । उपचाररत ५ हजार ८३१ जनामध्ये ५५१ जनाको अवस्था गम्भीर छ ।

नेपाल

कोरोना भाइरसको संक्रमणका आधारमा एसियाली मुलुकमा २०औँ नम्बरमा रहेको नेपाल दक्षिण एसियाली देशहरूको सूचिमा चौथो धेरै संक्रमित भएका मुलुकहरूमा परेको छ ।

आइतबार अपराह्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकानुसार नेपालमा संक्रमित संख्या ५४ हजार १५९ पुगेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ३४५ छ । आइतबार अपराह्नसम्म निको भएर घर फर्कनेको संख्या ३८ हजार ६९७ छ ।

अफगानिस्तान

सार्क राष्ट्रमा कोरोना संक्रमितका आधारमा ५औँ प्रभावित मुलुक हो अफगानिस्तान ।

सोमबार मध्याह्नसम्मको तथ्यांकअनुसार  अफगानिस्तामा १ हजार ४२० जनाको कोरोनाले मृत्यु भएको छ ।

३८ हजार ७१६ जना संक्रमित भएका छन् । त्यसमध्ये ३१ हजार ६३८ जनाको संक्रमणमुक्त भएका छन् । उपचाररत ५ हजार ६५८ जनामध्ये ९३ जनाको अवस्था गम्भीर रहेको छ ।

माल्दिभ्स

माल्दिभ्स कोरोना संक्रमणको चपेटामा रहेका दक्षिण एसियाली मुलुकहरुको छठौँ बढी प्रभावित मुलुकमा परेको छ ।

माल्दिभ्समा कोरोना भाइरसको संक्रमणले ३२ जनाको मृत्यु भएको छ । सोमबार मध्याह्नसम्म ९ हजार १७३ जना संक्रमित भएका छन् । त्यसमध्ये ७ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।

उपचाररत १ हजार ८१५ मध्ये १२ जनाको अवस्था गम्भीर छ ।

श्रीलंका

दक्षिण एसियाली मुलुकमा कम चपेटा परेका मुलुकहरूमा दोस्रोमा रहेको श्रीलंकामा सोमबारसम्म कोरोना भाइरसको संक्रमणले १२ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म ३ हजार २३४ जना संक्रमित भएकामा २ हजार ९९६ जना निको भएका छन् । बाँकी २२६ जनाको उपचार भइरहेको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण देखिएको भुटानमा अहिलेसम्म २४५ जना संक्रिमत भएका छन् ।

संक्रमितमध्ये १६१ जना उपचारपछि घर फर्किएका छन् भने ८४ जनाको उपचार भइरहेको छ । भुटानमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले कसैको पनि मृत्यु नभएको तथ्यांक अध्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सले जनाएको छ ।

तपाईको प्रतिक्रिया