काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएयताको पहिलो महिनामा नेपालले विदेशबाट सामान आयात गर्दा सबैभन्दा ठूलो रकम मोबाइल फोनमा खर्च गरेको छ।

अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो महिना (साउन)मा नेपालमा ४ अर्ब २६ करोड रुपैयाँको मोबाइल फोन भित्रिएका छन्। अघिल्लो आर्थिक वर्षको साउन महिनामा नेपालमा २ अर्ब ४१ करोड रुपैयाँको मोबाइल भित्रिएका थिए।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको साउनमा मोबाइल फोनको आयातमा ७६.६ प्रतिशतले वृद्धि भएको छ। कोरोना भाइरस महामारीका कारण विद्यालय र कलेजको पढाई अनलाईन सुरु भएपछि पछिल्ला महिना नेपालमा मोबाइल र ल्यापटपको माग बढेको छ।

माग बढी हुँदा बजारमा मोबाइल र ल्यापटपको अभाव समेत देखिएको छ। नेपालमा मोबाइलको माग ह्वात्तै बढेको पुष्टी अर्थ मन्त्रालयको यो तथ्याङकले पनि देखाउँछ।

यस आर्थिक वर्षको साउन महिनामा नेपालले कूल ८५ अर्ब ८१ रुपैयाँको बिभिन्न वस्तुहरु आयता गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना (साउन)मा नेपालमा कूल १ खर्ब ६ अर्ब ७२ करोड रुपैयाँका बिभिन्न वस्तु भित्रिएका थिए।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षको साउनमा विदेशबाट हुने आयातमा १९.६० प्रतिशतले कमी आएको छ। अर्थ मन्त्रायको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनमा भएको कूल आयात मध्ये ६५.७ प्रतिशत भारत, १३ प्रतिशत चीन, १ प्रतिशत अमेरिका र २०.२ प्रतिशत अन्य देशहरुबाट भएको छ।

अघिल्लो आर्थिक वर्षको साउनमा भएको कूल आयातमा ६३.५ प्रतिशत भारत, १७.४ प्रतिशत चीन, १.८ प्रतिशत अमेरिका र १७.३ प्रतिशत अन्य देशबाट भएको थियो।

चालु आर्थिक वर्षको साउनमा नेपालले आयात गरेका वस्तुहरुमा सबैभन्दा ठूलो खर्च मोबाइल फोनमा र त्यसपछि भटमासको कच्चा तेलमा गरेको छ। साउनमा नेपालमा २ अर्ब ५६ करोड रुपैयाँको भटमासको कच्चा तेल भित्रिएको छ।

अर्थको तथ्याङ्क अनुसार साउन महिनामा नेपालमा २ अर्ब ४५ करोड रुपैयाँको डिजेल, २ अर्ब ३६ करोड रुपैयाँको चामल, २ अर्ब ३० करोड रुपैयाँको एमबिलेट.एस., १ अर्ब ९७ करोड रुपैयाँको एलपी ग्यास, १ अर्ब ९२ रुपैयाँको इचसिट.आर., १ अर्ब ९२ करोड रुपैयाँको तयारी कपडा, १ अर्ब ७७ करोड रुपैयाँको पेट्रोल र ६४ अर्ब २६ करोड रुपैयाँको अन्य वस्तु भित्रिएको छ।

तपाईको प्रतिक्रिया