नेपालको राज्य पुनसंरचनापछि पहिलोपटक जनगणना हुँदैछ । संघीय नेपालमा २०७८ सालको जेठ/असारमा हुने जनगणनाले आगामी दशकमा देश विकासको खाका तयार गर्ने प्रमुख आधार तयार गर्नेछ ।

यस बर्षको जनगणनाले व्यक्तिगत रुपमा करिब हरेक व्यक्तिका करिब ५२ वटा सूचना संकलन गर्नेछ भने सामुदायिक तर्फ करिब १ सयवटा नयाँ सूचनाहरु ल्याउनेछ । यी सूचनाहरुको विश्लेषणबाट सरकारले आगामी दशकमा देश विकासका पूर्वाधार, शिक्षा, स्वास्थ्य, पेशा, व्यवसाय, वित्ताीय पहुँचजस्ता विविध कुराको नयाँ योजना बनाउन कोशेढुंगा सावित हुनेछ ।

कुनै पनि तथ्यांक वा सूचना ल्याउनका लागि सर्वप्रथम आफूलाई चाहिएको सूचना आउने गरी प्रश्न गरिन्छ कि गरिँदैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । अरुबेलाको संवादजस्तै जनगणनामा पनि गणक र उत्तरदाताको राम्रो सञ्चार स्थापित भएमात्र सही तथ्यांक वा सूचना आउन सक्छ । जब गणक र उत्तरदाताबीच सञ्चार स्थापित हुन सक्दैन, तब जनगणनामा गलत तथ्यांक आउने क्रम त्यही विन्दुबाट सुरु हुन्छ । अझ जनगणनाकै भाषामा भन्ने हो भने तथ्यांकसम्बन्धी गल्ती ‘ओभर काउन्टिङ र अन्डर काउन्टिङ’ को क्रम त्यही थलोबाट सुरु हुन्छ ।

जहाँ गणकले सोधेको प्रश्न उत्तरदाताले बुझ्दैन, अनि उत्तरदाताले दिएको जवाफ गणकले बुझ्दैन । उनीहरुबीच सञ्चार स्थापित हुन सक्दैन । यस्तोबेला गणकले गलत बुझे पनि, बुझ्दै नबुझे पनि मनलाग्दी उत्तर लेखिदिने सम्भावना हुन्छ । यही विन्दुबाट जनगणनामा गलत तथ्यांक (इरर डाटा) को प्रवेश हुन्छ, जसले कालान्तरमा तथ्यांकलाई मिथ्यांकमा बदलिदिन्छ ।

जनगणनामा कस्ता प्रश्न ?

राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको जनगणना २०७८ का प्रश्नावली २६ साउनको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको छ । प्रश्नावलीलाई सरकारले अनुमोदन गर्नु भनेको विभागलाई अब जनतामा गएर प्रश्नको उत्तर जस्ताको त्यस्तै ल्याउने बाटो खुला हुनु हो ।

सरकारले पास गरेका प्रश्नावलीमा गणक र उत्तरदाताबीच राम्रोसँग संवाद नहुँदा इरर आउने सम्भावना धेरै हुन्छ । मन्त्रिपरिषदमा प्रश्नावली निर्णायार्थ लैजानुअघि मन्त्रीहरुले यसको गहन अध्ययन गरेका थिए । त्यसै क्रममा एकजना मन्त्रीले यस पंक्तिकारलाई फोन गरेर एउटा प्रश्नका बारेमा सोधे ‘तपाईंले १२ महिनामा कतिजना बच्चा जन्माउनुभयो भनेर जनगणनामा प्रश्न राखेको रहेछ, यो कस्तो प्रश्न हो ? मान्छेले १२ महिनामा कतिपटक बच्चा जन्माउँछ र ?’

मन्त्रीलाई यस प्रश्नले सृजना गरेको द्विविधाका बारेमा मैले प्रष्ट पार्ने कोशिश गरें । ‘सबै महिलाले एकपटकमा एउटा मात्र बच्चा जन्माउँदैनन् । केहीले जुम्ल्याहा, तिम्ल्याहा र चारजनासम्म बच्चा जन्माउने गरेका छ्न् । एकपटकमा एउटा भन्दा बढी बच्चा जन्माउनेबाट पनि यही प्रश्नले उत्तर खोजेको हुनाले त्यस्तो प्रश्न राखिएको हो ।’

मेरो कुरा सुनेपछि मन्त्रीले चित्त बुझाए । यस किसिमको दोधारो ग्रामीण क्षेत्रका उत्तरदातालाई झन् धेरै पर्दछ, जसले गर्दा गणकले यस्ता प्रश्न पहिला आफूले स्पष्ट बुझ्ने र उत्तरदातालाई सोध्ने गर्नुपर्छ । उत्तरदाताले प्रश्न नबुझ्न सक्छन् ।

जसरी परीक्षामा विद्यार्थीले प्रश्न नबुझी उत्तर लेख्दा गलत लेख्छ, त्यस्तैगरी जनगणनामा सोधिएको प्रश्न उत्तरदाताले बुझ्न सकेन वा उनीहरुलाई बुझाउन सकिएन भने तथ्यांकमा हुने त्रुटीको प्रवल सम्भावना रहन्छ ।

यस प्रकारका सर्वेक्षणहरुमा उत्तरदाताले प्रश्न नबुझ्दा कस्तो उत्तर आउँछ भन्ने कुराको एउटा दृष्टान्तको मलाई सम्झना छ ।

२०६१ सालमा स्नातकोत्तर तहमा जनसंख्या अध्ययन गरिरहेको समयमा महिला स्वास्थ्यसम्बन्धी एउटा सर्वेक्षणमा म मकवानपुरको चेपाङ बस्तीमा पुगेको थिएँ । मेरो हातमा भएको प्रश्नावलीमा एउटा प्रश्न थियो ‘तपाईं गर्भवती हुनुहुन्छ ?’

यो प्रश्न मैले एकजना चेपाङ महिलालाई सोधें । उनले ‘छैन’ भनिन् । मैले यसो उनीतिर हेरें । स्पष्टै देखिन्थ्यो, उनी गर्भवती छिन् । मेरा गाइडले मलाई सिकाएका थिए ‘उत्तरदाताले जे भन्छ, त्यही लेख्नू । अवलोकन गरेर, अनुमान गरेर उतरदाताले भनेको भन्दा भिन्नखालको उत्तर लेख्न पाइँदैन ।’

यो प्रकरणमा मैले गाइडलाई फलो नगर्ने विचार गरें । र, अवलोकन गरेकै भरमा उत्तरमा ‘गर्भवती छु’ पनि लेखिनँ ।

पल्लो घरमा रहेकी अर्की महिलालाई बोलाएँ र तपाईं गर्भवती हुनुहुन्छ ? भन्ने प्रश्न सोधेको, उनले छैन भनिन् । उहाँले प्रश्न बुझ्नु भएनछ जस्तो लाग्यो, एक पटक सोधिदिनुहोस् न भनेपछि ती महिलाले उनकै भाषामा सोधिन् । त्यसपछि लाजले मुख छोप्दै मेरी उत्तरदाता महिलाले ‘म गर्भवती छु, आठ महिना भयो’ भनिन् ।

यस प्रकारले भाषाका कारण पनि गणक र उत्तरदाताबीच सञ्चार स्थापित हुन नसकेर इरर डाटा आउने सम्भावना हुन्छ ।

उमेरको प्रश्नमा रोचक उत्तर

व्यक्तिगत खण्डअन्तर्गत प्रश्न नं ५ मा ‘तपाईंको जन्म कहिले भएको ?’ भनेर सोधिएको छ । यो प्रश्नको सही उत्तर पाउन निकै कठिन हुन्छ । कतिपय बुढापाकाहरुले आफ्नो जन्म मिति सम्झिन सक्दैनन् । उनीहरुले त्यसबेला भएका ठूला प्राकृतिक प्रकोप, राजनीतिक घटनाका आधारमा आफ्नो जन्मसाल सम्झिने गर्दछन् । जस्तो तपाईंको जन्म कहिले भएको हो भन्ने प्रश्नमा उनीहरुले ‘९० सालको भूइँचालो जाँदा तीन बर्षको थिएँ, १०० सालको हिँउ पर्दा पाँच महिनाको थिएँ, ००७ सालको क्रान्ति फागुनमा भयो, म असारमा जन्में, ०१५ सालको चुनावमा ५ बर्षको थिएँ, ०२६ सालको बाढी आउँदा मलाई काखमा बोकेर यो गाउँमा ल्याएको रे’ यस्ता उत्तरका आधारमा गणकले त्यस्ता घटनाहरु कहिले भएका हुन्, त्यसको यकिन मिति पत्ता लगाई उत्तरदाताको उमेर लेख्नुपर्छ ।

गणकले गणना क्षेत्रमा जानुअघि यस्ता राष्ट्रिय राजनीतिक घटना वा महामारीको मिति सम्झेर वा टिपेर लैजाँदा राम्रो हुन्छ ।

कहिलेकाँही ठूला राजनीतिक नेतासँग केही पाकाहरुको जन्मसाल मिलेको हुन्छ । त्यस्ता उत्तरदाताले उमेर वा जन्मसाल सोध्दा फलानासँगै जन्मिएको भन्दिन्छन् । जस्तै– २०६८ सालको जनगणनामा मेरो हजुरबुबालाई गणकले सोधे ‘तपाईं कहिले जन्मिनु भएको हो ?’ हजुरबुबाले पूर्वप्रधानमन्त्रीलाई इंगित गर्दै गणकलाई यस्तो उत्तर दिनुभएको थियो ‘सूर्यबहादुर थापा र म एकै सालका हौं । कुन साल हो भन्ने मलाई एकिन छैन ।’

यस्तो बेला गणकले त्यस्ता व्यक्तिको जन्मसाल पत्ता लगाएर उत्तरदाताको उमेर लेख्नुपर्छ । एकिन मिति नआएको अवस्थामा भरसक उत्तरदाताको नागरिकता मागेर त्यसका आधारमा जन्ममिति र उमेर लेख्नु झनै राम्रो हुन्छ ।

तपाई कति बर्षको हुनुभयो ? भन्ने प्रश्नको उत्तर पनि उत्तरदाताले रोचक ढंगले दिन्छन् ।

अलि बुढापाकाहरुलाई कति बर्ष पुग्नुभयो भन्ने प्रश्नको उत्तर ‘चार कोरी’ भन्न सक्छन् । गणक स्थानीय र बोलीचालीको भाषामा अभ्यस्त छन् भने उत्तरदाताको उमेर बुझ्छन्, नत्र अलमलमा पर्छन् । एक कोरीको अर्थ २० बर्ष हो भन्ने बुझेका गणकले उत्तरदाताको उमेर ८० बर्ष भयो भन्ने बुझ्छन् ।

अर्कोतिर ६० बर्ष भन्दा माथि उमेर भएका केही उत्तरदाताले ज्येष्ठ नागरिक भत्ता यसै रेकर्डबाट पो पाइने हो कि भनेर उमेर बढाएर भन्दिन्छन् । ६०–६५ बर्षका उत्तरदाताले कति बर्ष पुग्नुभयो भन्ने प्रश्नको उत्तर ७० बर्ष भन्न सक्छन् । यस्तो बेला अघिल्लो प्रश्नमा सोधिएको तपाईं कुन सालमा जन्मिनुभएको भन्ने प्रश्नसँग दाँज्नुपर्छ ।

युवा अवस्थादेखि ज्येष्ठ उमेरका उत्तरदातासम्मले उमेर सोध्दा अन्त्यमा सजिलोका लागि शून्य वा पाँच आउने उमेर भन्दिन सक्छन् । २१ बर्ष पुगेको उत्तरदाताले २० बर्ष, २३ बर्ष उमेर पुगेकाले २५ बर्ष, ५६ बर्ष पुगेकाले ६० बर्ष भन्न सक्छन् । यसैगरी महिलाले उमेर घटाएर भन्ने सम्भावना अलि बढी हुन्छ । जस्तै ३५ बर्ष पुगेकीले ३२ बर्ष, २८ बर्ष उमेर भएकीले २५ बर्ष आदि ।

यस्तोबेला गणकले चनाखो भएर जन्ममितिका आधारमा उत्तरदाता कति बर्ष भए, त्यसअनुसार लेख्नुपर्छ । यसअघिका जनगणनामा गणकले यस कुरामा विचार नपु¥याउँदा अन्त्यमा शून्य र पाँच आउने उमेर समुहको जनसंख्या छेउछाउका अन्य उमेरको भन्दा अस्वाभाविक रुपमा बढी देखिन्छ । गणकले उत्तरदाताको उमेर लेख्दा पूरा भएको बर्ष लेख्नुपर्छ । जस्तै– ३५ बर्ष ७ महिनाको उत्तरदाताको उमेर ३५ बर्ष लेख्नु पर्दछ । एकबर्ष भन्दा मुनिको शिशुको उमेर ०० लेख्नुपर्छ ।

प्रयोजन नबुझाउदा झन् समस्या

कहिलेकाँही द्वन्द्व वा अरु कुनै राजनीतिक कारणले पनि उत्तरदाताले सही उमेर बताउन चाहँदैनन् । २०५८ सालको जनगणनामा सहभागी केन्द्रीय तथ्यांक विभागका एक उपसचिवका अनुसार त्यतिबेला माओवादी सशस्त्र युद्ध उत्कर्षमा थियो । आफ्नो सही उमेर बताउँदा लडाकूमा भर्ना हुनु पर्ला भन्ने त्रासले धेरै युवाहरुले आफूलाई बालकको कोटरीमा राखेका थिए । त्यसबेला २० बर्षसम्मका केही युवाहरुले आफ्नो उमेर १४/१५ बर्ष लेखाएका थिए ।

जनगणनाको १ सय १० बर्षे इतिहासमा पहिलोपटक सामुदायिक प्रश्नावली भरिँदैछ । प्रत्येक वडा कार्यालयबाट यो प्रश्नको उत्तर खोजिनेछ

‘जनगन्तीका सय बर्ष’ भन्ने पुस्तकमा विभागका पूर्वमहानिर्देशक तुङ्ग शिरोमणि बास्तोलाले उमेरका विषयमा दुईवटा रोचक प्रसंग राखेका छन् । जहाँ जनगणनादेखि मानिसहरु भागेका छन् । उनीहरु गणक घरमा आउँदैछन् भन्ने थाहा पाएपछि घरमा दैलो लाएर खेतबारीतिरै बसेका उदाहरणहरु छन् । त्यसको कारण जनगणनामा लिएको तथ्यांकका आधारमा आफूलाई भर्तीमा लैजाने हुन् कि भन्ने नै हो ।

यसको उदाहरणको रुपमा तेस्रो जनगणनाको समय अर्थात वि.सं.१९८७ मा नेपाल र तिब्बतका बीचमा युद्धको सम्भावना बढेको थियो । युद्धमा काम दिन सक्ने व्यक्तिको गणना होला भन्ने सम्झेर धेरै मानिसहरु गणकसँग छलिए । गणनामा सहभागी भएनन् ।

यसैगरी १९९८ को जनगणनाको समयमा दोसो विश्वयुद्ध चर्केको समय थियो । त्यसबेला युवाहरु युद्ध लड्न जानुपर्ला भनेर गणकसँग छलिएका थिए ।

जनगणना प्रश्नावलीको व्यक्तिगत खण्डको ८ मा सोधिएको छ ‘तपाईंको पूर्खाको भाषा के हो ?’ लगत्तै ९ नं सोधिएको छ ‘तपाईंको मातृभाषा के हो ?’ यी दुई प्रश्नबाट अपेक्षा गरिएको उत्तर फरक भए पनि उत्तरदाताले एउटै उत्तर दिन सक्छन् । जस्तै– एउटा लिम्बू परिवारको उत्तरदातालाई तपाईंको पूर्खाको भाषा के हो भन्दा उसले लिम्बू भन्छ भने मातृभाषा पनि लिम्बू नै भन्छ । यस्तो बेला गणकले प्रश्नलाई स्पष्टरुपमा बुझाइदिनु पर्दछ ।

जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापक डा.योगेन्द्र गुरुङ यी प्रश्नले सही उत्तर आउने सम्भावना कम रहेको बताउँछन् । ‘८ नं प्रश्नले पूर्खाको भाषा के हो भनेर उत्तरदाताले बताउनेछन् । ९ नं प्रश्नमा मातृभाषा के हो भन्दा पनि तपाईंको घरमा बोलिने भाषा कुन हो भन्दा सही उत्तर आउने थियो’ गुरुङ भन्छन् ।

कैलालीको थारु गाउँमा बसेको लिम्बूको पूर्खाको भाषा लिम्बू हुन्छ । तर, मातृभाषा लिम्बू नहुन सक्छ । तर, जातीय संस्थाहरुले जात अनुसारको मातृभाषा लेखाउने अभियानका कारण यकिनरुपमा मातृभाषीहरु पत्ता लाग्न मुस्किल छ ।

बसाइँ सराइसम्बन्धी विवरणमा जन्मस्थानसम्बन्धी विवरणको प्रश्नमा गणकले धेरै मेहनत गर्नुपर्ने देखिन्छ । यो कोलमको महल १९ र २१ मा तपाईको जन्म कहाँ भएको र यहाँ बसोबास गर्नुअघि कहाँ बस्नुहुन्थ्यो भन्ने प्रश्न छ । यी प्रश्नको वैकल्पिक उत्तरमा आफ्नो पूर्वथातथलोको नगरपालिका वा गाउँपालिका उल्लेख गर्नुपर्ने हुन्छ । लामो समयदेखि जन्मथलोबाट बसाईं सरेर नयाँ ठाउँमा आएका उत्तरदाताले राज्यपुनःसंरचना अनुसार बदलिएका पालिकाहरुको नाम र वडा नम्बर यकिन भन्न मुस्किल हुन्छ । उनीहरुले साविक गाविस र नगरपालिकाको नाम मात्र भन्छन् । यस्तोबेला गणकले त्यो गाविस वा नपा अहिलेको संरचनामा कहाँपर्छ भन्ने जानकारी राख्नुपर्ने हुन्छ ।

प्रश्न नं १४ मा मृत्युसम्बन्धी प्रश्न छ । मृत्युको विषयमा मानिसहरु संवेदनशील हुन्छन् । यहाँ ‘गत १२ महिनामा तपाईंको परिवारमा कसैको मृत्यु भएको थियो ?’ भन्ने प्रश्न सोधिएको छ । त्यतिमात्र होइन, मृतकको उमेर, कारण, १५–४९ बर्षका महिलाको मृत्यु भएको भए गर्भ र सुत्केरीसम्बन्धी कारणले हो कि भनेर सोधिएको छ । मृत्युलाई दुःखका रुपमा लिने र यसलाई भरसक बिर्सन चाहने हाम्रो परम्परा भएकाले उत्तरदाताले परिवारमा भएको यो दुखान्त घटनाको विवरण नदिन सक्छन् । अथवा परिवारमा कसैको असामयिक प्रकारको मृत्यु भएको रहेछ भने यो प्रश्न सोधेपछि परिवारका सदस्य भाव विह्वल हुन सक्छन् । यस्तोबेला गणकले परिस्थितिलाई सहज अवस्थामा ल्याएर सही तथ्यांक ल्याउनु पर्दछ ।

प्रजननसम्बन्धी प्रश्नको महल २६ मा हालसम्म कतिवटा जीवित बच्चा जन्माउनुभयो भन्ने प्रश्नमा महिलाहरुले बिहे गरेर गएका छोरीहरुलाई बिर्सन सक्छन् । त्यसैले गणकले प्रश्नावलीमा लेखिएको भन्दा अतिरिक्त घरमा भएका बिहे गरेर गएका र जन्मेको केही बर्षपछि मृत्यु भएको भए तिनको संख्या पनि भन्नुहोस् है भन्नुपर्छ ।

यस्तै १३ नं. महलको तपाईंको वैवाहिक स्थिति ? भन्ने प्रश्नमा सम्बन्धबिच्छेद भएकाहरुले ‘अविबाहित’ भन्ने उत्तर दिन सक्छन् । यस्तोमा गणक चनाखो भए मात्र सही उत्तर आउन सक्छ ।

जनगणनाको नयाँ अभ्यास : सामुदायिक प्रश्नावली

जनगणनाको १ सय १० बर्षे इतिहासमा पहिलोपटक सामुदायिक प्रश्नावली भरिँदैछ । प्रत्येक वडा कार्यालयबाट यो प्रश्नको उत्तर खोजिनेछ । यो प्रश्नावलीले वडाबासीले पाएका भौतिक सुविधा, वडाको सामाजिक बनोट, कृषि, गैह्रकृषि उत्पादन, राजश्वका क्षेत्रहरु आदिको उत्तर खोज्नेछ ।

वडामा रहेका बालविकास केन्द्र, विद्यालय, इन्टनेट सुविधा, अस्पताल, वृद्धाश्रम, सार्वजनिक शौचालय, पशु बधशाला आदिसम्मको तथ्यांक संकलन हुँदैछ । यस्तै विपत् जोखिमको अवस्था, जंगली जनावरबाट भएको क्षतिको विवरण आदि पनि यसै प्रश्नावलीबाट संकलन गरिँदैछ ।

बैंकखातादेखि ऋणसम्म

जनगणनामा हरेक घरमा कम्तिमा दुईपटक गणना कर्मचारीहरु पुग्छन् । पहिलोपटक सुपरभाइजर पुग्छन् । उनले घर तथा घरपरिवार सूचीकरण फारम भर्छन् । यस फारमको महल ४ मा कृषि तथा पशुपन्छीसम्बन्धी विवरण सोधिन्छ । यसमा चारवटा प्रश्नहरु छन् । यी प्रश्नमा मुख्यतः परिवारको कृषियोग्य जमिन कति ? सबै जमिन आफैंले कमाइ गरेको छ कि ? आफ्नोसहित अरुको जमिन पनि कमाएको छ कि ? आफू बसेको बाहेक अर्को पालिकामा पनि आफ्नो जमिन छ कि भनेर सोधिएको छ ।

यसैगरी, सरकारी अनुदानले बनाएका घरको संख्या, बैंकमा खाता भए नभएको र बैंकिङ ऋण लिए नलिएको सूचना पनि संकलन गरिँदैछ । यसबाट नेपालीहरुको यथार्थ बैंकिङ पहुँच कति छ भन्ने कुरा स्पष्ट हुन खोजिएको छ ।

यी प्रश्नमा उत्तरदाताहरुले विभिन्न कारणले सही उत्तर नदिन सक्छन् । भएभरको सबै जमिन देखाउँदा सरकारले हदबन्दी लगाएर लैजाने हो कि वा थप कर तिर्नु पर्ने हो कि भन्ने त्रास उत्तरदातामा रहन्छ । अर्कोतिर, अर्काको जमिन कमाइ गर्नेले आफ्नै हो भनेर लेखाउँदा भविश्यमा यो जमिनको केही हिस्सा आफूले पाइएला कि भन्ने आशा हुन्छ ।

त्यसकारण यस विषयमा गणकले उत्तरदातालाई जनगणनाको प्रयोजन राम्ररी बुझाए मात्र सही तथ्यांक आउँछ ।

तपाईको प्रतिक्रिया