तेह्रथुम, १५ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरेले नयाँ संविधानको कार्यान्वयन तथा आर्थिक विकास र समृद्धिका लागि नेपाली कांग्रेसको विकल्प नभएको बताउदै आसन्न निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको छ । नेता घिमिरेले तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिकाको बसन्तपुरमा बिहिबार आयोजित आमसभा सो कुरा बताउनुभएको हो ।

उहाँले दोश्रो संविधान सभा र नेपाली कांग्रेसको नेतृत्वबाट मुलुकले शान्ति र संविधान पाएको भन्दै अब त्यसको कार्यान्वयनका लागि कांग्रेसको विकल्प नभएको बताउनुभयो । उहाँले लोकतन्त्रको धज्जी उडाउँदै मुलुकमा अधिनायकबाद लागु गर्न चाहने कथित कम्युनिष्टहरुको जालझेलभित्र नअल्मलिन मतदाताहरुलाई आग्रह समेत गर्नुभएको छ ।
नेता घिमिरेले नेपालमा लोकतन्त्र स्थापनाका लागि नेपाली कांग्रेसले गरेको संघर्षको उल्लेख गर्दै जनताका अधिकारको रक्षा कम्युनिष्टबाट हुननसक्ने बताउनुभयो ।

‘कांग्रेस सधै जनताको पक्षमा छ, हिजो ००७ सालको क्रान्तिदेखि अहिलेसम्म कांग्रेसको नेतृत्व विना मुलुकले शान्ति पाएको छैन, यो सबैलाई छर्लङ्ग छ,’ उहाँले भन्नुभयो । नेता घिमिरेले बाम गठबन्धनको कम्युनिष्टहरुको सत्तामोहको प्रतिफल मात्र भएको आरोप लगाउनुभयो । उहाँले तेह्रथुमबाट कांग्रेस उम्मेदवार सीता गुरुङ नयाँ संविधानको निर्माता पनि रहेको भन्दै उहाँको सहभागिताले मात्र संविधान कार्यान्वयन हुनसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभाकी उम्मेदवार भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले विकास र समृद्धिका लागि एक पटक नेपाली कांग्रेसलाई मतदान गरी पाँच वर्ष परीक्षा गर्न आग्रह गर्नुभयो । राज्यमन्त्री गुरुङले बामपन्थीहरुले ०४६ सालदेखि तेह्रथुम जिल्लामा निरन्तर शासन गरेको, तर विकास गर्न नसकेको आरोप बताउनुभयो ।
सभामा प्रदेश सभा (क) क्षेत्रका उम्मेदवार जिल्ला सभापति गोविन्द ढुंगानाले जिल्लाको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पुर्वाधार लगायत चौतर्फी क्षेत्रको योजनासहित आफु मतदातामाझ आएको बताउनुभयो । कार्यक्रममा नेता तुलसी सुब्बा, गणेश विमली लगायतले स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारको रक्षाका लागि पनि कांग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

सभालाई नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री तारामान गुरुङ, पूर्व राज्यमन्त्री दिपक खड्का, कांग्रेस नेता तथा पूर्वसांसद तुलसी सुब्बा, कांग्रेस नेता तथा पूर्वसांसद गणेश विमली, तेह्रथुमका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि एवम् तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाई, नेता महेन्द्र पौडेल लगायतले संबोधन गर्नुभएको थियो ।
कार्यक्रम नेपाली कांग्रेस लालीगुराँस नगरसमितिका सभापति अर्जुन माबोहाङको अध्यक्षता सम्पन्न भएको थियो ।

यता प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फे सहितको टोलीले विहीबार छातेढुंगा र थोक्लुङमा चुनावी अभियान सम्पन्न गरेको छ । कार्यक्रममा उम्मेदवार सम्बाहाम्फे, नेपाल महिला संघ ताप्लेजुङकी अध्यक्ष मिना गुरुङ, महिला संघ आठराई गाउँपालिका सभापति सनिशा भेटुवाल लगायत कांग्रेस नेताहरु सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया