तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाले राहतको चामलमा अनियमितता गरेको भन्दै गलत प्रचार गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यसअघि सामाजिक सञ्जालमा नगरपालिकाले भ्रष्टाचार गरेको भन्दै नेकपा लालीगुराँस नगर कमिटीको नामबाट (अछापे) विज्ञप्तिमार्फत गलत आरोप लगाइएको नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नगर कार्यपालिकाको कार्यालयमा आई सत्य, तथ्य बुझेर मात्र प्रचार गरिदिनु हुन हार्दिक अनुरोध छ ।’

नगरपालिकाका प्रवक्ता देवेन्द्र खड्काले नगरपालिकाले ०७७/७८ को नगरसभामा आ.व. ०७६/७७ मा भए गरेका आम्दानी खर्च प्रस्तुत भई नगरसभाले अनुमोदन गरी सकेको जनाएका छन् । उनले नगरसभाले अनुमोदन गरेका आम्दानी खर्चको विस्तृत विवरण नगरपालिकामा आएर बुझ्न समेत आग्रह गरेका छन् ।

गएको ११ चैतदेखि असार मशान्तसम्ममा नगरपालिकाले विपद व्यवस्थापन कोषमा विभिन्न श्रोतबाट जम्मा ४६ लाख ९४ हजार दुई सय ९६ रुपैयाँ आम्दानी भएको र उक्त कोषबाट कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न विभिन्न शीर्षकमा ५९ लाख ४५ हजार चार सय ३८ रुपैयाँ खर्च भएकामा असारसम्ममा तिर्न बाँकी १२ लाख ५१ हजार एक सय ४२ रुपैयाँ रहेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, असार मशान्त अगाडि विपद व्यवस्थापन कोभिड १९ रोकथाम तथा नियन्त्रण, बाढी पहिरो पीडिक व्यवस्थापनको लागि जम्मा ४३ हजार तीन सय ७५ केजी (१७३५ बोरा) चामल वितरण गरि विपद व्यवस्थापन जोखिममा आउन सक्ने सम्भावित खाद्य संकटलाई मध्यनगर गरी छ हजार छ सय ५० केजी चामल नगरपालिकाको गोदाममा भण्डारण गरिएको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

प्रतिकुल मौषमका कारण भण्डारणमा रहेको चामल बिग्रन लागेकाले प्रति केजी २० रुपैयाँका दरले नगरपालिका भित्रका सामान्य मजदुरहरुलाई पशुपन्छी तथा जनावरलाई चारो र खोले खुवाउन विक्री वितरण गर्ने नगरसभाबाट निणर्य भए बमोजिम उक्त चामल वितरण गरिएको छ ।

प्रवक्ता खड्काले सामाजिक सञ्जाल फेसबुकमा आएको विज्ञप्तिमा एक्जाभेटर, व्याक हो लोडर, नगर बस र ट्रयाक्टर सञ्चालनको कार्यविधि अनुसार लक बुकको आधारमा सञ्चालन रहेको बताए ।

मेसिनरी सामाग्रीहरुको आम्दानी र खर्च तथा कार्य विवरण हेर्न लक सिट समेत हेर्नुपर्ने भएकाले विस्तृत विवरण बुझेरमात्रै प्रचार प्रसार गर्न नगरपालिकाले आग्रह गरेको छ ।

विज्ञप्ति हेर्नुहोस् :

तपाईको प्रतिक्रिया