इलाम, मंसिर १५ – जिल्ला प्रशासन कार्यालय इलामले हतियार बुझाउन आग्रह गरेको २५ दिन बित्दा पनि अहिलेसम्म कसैले हतियार बुझाएका छैनन् । प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावको सुरक्षालाई मध्यनजर गर्दै हातहतियार खरखजना ऐन, २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिसँग रहेका इजाजत प्राप्त हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय इलामले आग्रह गरेको थियो ।

सरकारले आह्वान गरेको बेलामा हतियार नबुझाए के कारवाही हुने भन्ने प्रष्ट व्यवस्था नहुँदा हतियार बुझाउनेको संख्या कम हुने गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन कर्माचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘इलाममा मात्र होइन अन्य धेरै जिल्लामा पनि हतियार नबुझाएको पाइएको छ ।’

जिल्ला प्रशासन कार्यालय इलामको तथ्याङ्क अनुसार जिल्लामा तीन सय ११ थान बन्दुक नागरिकसँग भएको पाइएको छ । त्यसमा एकसय नौ थान बन्दुक आधुनिक किसिमका छन् भने दुईसय दुईवटा भरुवा बन्दुक रहेका छन् ।

एकसय नौ थान आधुनिक हतियार मध्ये २० जना बन्दुक राख्नेले मात्रै नवीकरण गरेका छन् । यस्तै दुईसय दुई थान भरुवा बन्दुकमा छ जनाले मात्रै नवीकरण गरेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोख्रेलले जानकारी दिनुभयो । ६ महिना अघि सम्पन्न स्थानीय तहको चुनावमा १० जनाले मात्रै प्रशासनलाई बन्दुक बुझाएका थिए ।

तपाईको प्रतिक्रिया